विद्युत विकास विभागबाट २०.६ मेगावाटको रोल्वालिङ जलविद्युत आयोजना निर्माण गर्ने अनुमति अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नै पाएको थियो ।
अहिले २०.६ मेगावाट क्षमताको रोल्वालिङ आयोजना निर्माणका लागि ‘टेन्डरिङ’ को काम भइरहेको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘रोल्वालिङ आयोजना निर्माणका लागि टेन्टरिङको काम भइरहेको छ ।
टेन्डरको काम सकिएलगतै आयोजना निर्माणमा जान्छौं,’ उनले भने, ‘रोल्वालिङ निर्माण सम्पन्न भएसँगै तामाकोशीको आम्दानी बढ्ने छ ।’ रोल्वालिङ आयोजना निर्माणको काम पूर्ण रुपमा सकाउन ४ वर्ष लाग्ने भएपनि डाइभर्सनको काम भने साढे तीन वर्षमानै सकिने जानकारी पनि श्रेष्ठले दिए ।
रोल्वालिङ आयोजनाबाट पहिले २२ मेगावाट बिजुली उत्पादन हुने भनिए पनि अहिले २०.६ मेगावाट मात्र बिजुली उत्पादन हुने भएकाे छ । साथै रोल्वालिङको पानी तामाकोशीको बाँधस्थलभन्दा माथि पानी खसाइने भएकाले तामाकोशीबाट बिजुली उत्पादन पनि बढ्ने छ । यी दुबैले गर्दा तामाकाेशी आयोजनाकाे मुनाफा बढ्ने देखिएकाे हाे ।
रोल्वालिङ खोला छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो । यो खोलाको पानी अहिले माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा तल खस्छ । यो आयोजना बनेपछि भने रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसालिने छ र २०.६ मेगावाट विजुली पनि उत्पादन गरिनेछ । यसबाट तामाकोशीमा हिउँदमा पनि पानीको मात्रा बढेर माथिल्लो तामाकोशी आयोजनाको बिजुलीको उत्पादन पनि बढी हुने छ ।
रोल्वालिङ आयोजनाबाट २०.६ मेगावाट बिजुली उत्पादन हुने र रोल्वालिङको पानी तामाकोशीमा खसाइने भएपछि बिजुली उत्पादन पनि बढ्ने भएपछि माथिल्लो तामाकोशीमा लगानी गर्ने लगानीकर्ताले बढी प्रतिफल पाउने छन् ।
अहिले तामाकोशी आयोजनाले वार्षिक रुपमा बिजुली बिक्री गरेर करिव ९ अर्ब कमाउने गरेको छ । तर,रोल्वालिङबाट बिजुली उत्पादन हुन थाल्ने र तामाकोशीमा पनि पानी थपिने भएपछि तामाकोशीको आम्दानी बढ्ने छ ।
तामाकोशीमा ऋण लगानी गरेकाले नै रोल्वालिङमा पनि लगानी गर्ने
रोल्वालिङ खोलाको पानी अपर तामाकोशीमा मिसाउँदा तामाकोशी जलविद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन सहयोग पुग्ने भएको छ । माथिल्लो तामाकोशी आयोजनालाई ४५६ मेगावाटमा डिजाइन गर्दा नै रोल्वालिङको पानी तामाकोशीमा ‘डाइभर्ट’ गरी पूर्ण क्षमतामा उत्पादन गर्ने भनिएको थियो ।
गत भदौबाट तामाकोशी आयोजनाका ६ वटै टर्वाइनबाट बिजुली उत्पादन थालेको छ । यता रोल्वालिङ आयोजना निर्माणका लागि टेन्डरको काम भइरहेको छ ।
डाइभर्सन आयोजनाअन्तर्गत रोल्वालिङ खोलाको १३.४ क्युमेक्स पानी अपर तामाकोशी जलविद्युत् आयोजनाको जलाशयमा खसालिनेछ । यसका लागि रोल्वालिङ खोलामा सानो आकारको डाइभर्सन बाँध, इन्टेक र करिब ७ किलोमिटर लामो डाइभर्सन सुरुङ निर्माण हुने छ ।
माथिल्लो तामाकोशीमा ऋण लगानी गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायत निकायले रोल्वालिङ आयोजना निर्माणमा लगानी गर्दैछन् । रोल्वालिङ डाइभर्सनको बाँधस्थल विकट क्षेत्रमा रहेकाले त्यहाँसम्म समान आपूर्ति गर्न रोप–वे निर्माण गर्नु पर्नेछ । रोपवेबाट निर्माण सामग्री ढुवानी गरेर आयोजनाको बाँधस्थलसहितको संरचना तयार गरिने भएकाे छ ।
कसले कति लगानी गर्दै ?
माथिल्लो तामाकोशीमा लगानी गरेकैले रोल्वालिङमा पनि लगानी गर्ने भएका छन् । तर, कति लगानी गर्ने भन्ने सम्बन्धमा भने अझै निर्णय हुन बाँकी रहेको बताइन्छ ।
तामाकोशी आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २ र २ अर्ब र अपुग नेपाल सरकारले ऋण लगानी गरेका छन् । उनीहरुले नै रोल्वालिङमा पनि ऋण प्रवाह गर्दैछन् ।
तामाकोशीमा कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर छ ।कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ ।
स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणको काम सकिएर गत भदौदेखि व्यापारिक रुपमा बिजुली उत्पादन हुन थालेको छ ।
उक्त आयोजना निर्माण सम्पन्न भएसँगै वर्षामा बिजुली फालाफाल हुने अवस्था आएको छ । मुलुकको अर्थतन्त्रमै गुणात्मक परिवर्तन आएको छ ।
स्वदेशमा बिजुली खपत हुन नसक्ने अबस्था आएपछि भारतमा समेत बिजुली बिक्री गर्न थालिएको छ । तामाकाेशीबाट बिजुली उत्पादन हुन थालेपछि नेपालले पहिलो पटक भारतलाई ३९ मेगावाट बिजुली बिक्री गर्न थालेको छ ।