अहिलेसम्म सार्वजनिक भएन नेपाल ल्युवको त्रैमासिक वित्तीय विवरण,किन?

Nov 25, 2021 03:01 PM MeroLagani

बाबुकृष्ण महर्जन

नेप्सेमा सुचीकृत सबै कम्पनीहरुले अनिवार्य रुपमा त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । बैक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंक, बिमा कम्पनीहरुलाई बिमा समिति र जलविद्युत कम्पनीहरुलाई विद्युत नियमन आयोगले नियमन गर्ने हुँदा नियामक निकाय भएका कम्पनीहरुले अपवाद बाहेक समयमा नै वित्तीय विवरण बुझाउने गरेका छन्।

नियामक निकाय नभएका कम्पनीहरुले पनि नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार प्रत्येक त्रैमास सकेको ३० दिन भित्र वित्तीय विवरण धितोपत्र बोर्ड र राष्ट्रिय स्तरको दैनिक पत्रिकामार्फत सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

सबै कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गर्दा पनि नेपाल ल्युब आयलको त्रैमासिक वित्तीय विवरण अहिलेसम्म प्रकाशित गरेको छैन । राम्रै लाभांश दिने कम्पनीको रुपमा रहेको यस कम्पनीले त्रैमासिक वित्तीय विवरण भने अहिलेसम्म सार्वजनिक गरेको छैन । मेरो लगानीले गरेको अध्ययनमा यस कम्पनीको साधारण सभाको विवरण सार्वजनिक भए पनि नियमावलीअनुसार प्रकाशित गर्नुपर्ने वित्तीय विवरण भने प्रकाशित गरेको छैन । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले वित्तीय विवरण सार्वजनिक नगर्नु पनि नियामकको नियम पालना नगरेको नै ठहरिने बताए । हुन त वित्तीय विवरण प्रकाशित गर्दा लगानीकर्ताले समय समयमा कम्पनीको वित्तीय अवस्थाको बारेमा अद्यावधिक हुने मौका पाउँछन् तर यो नगर्दा कुनै दण्ड जरिवानाको सम्बन्धमा स्पष्ट व्यवस्था भने नभएको बताए ।

नेपाल स्टक एक्सचेन्जमा सुचीकृत कम्पनीहरुले नियमित रुपमा प्रत्येक त्रैमासिक सकेको ३० दिनभित्र वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २६ को उपनियम (१) मा भनिएको छ – ‘ऐन तथा यस नियमावली बमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक तीन महिनाको अनुसूची—१४ मा उल्लिखित विवरण सो त्रैमासिक अवधि समाप्त भएको तीसदिन भित्र बोर्ड समक्ष पेश गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा समेत प्रकाशन गर्नु पर्नेछ ।’

त्यस्तै उपनियम २ र ३ र ४ अगाडि भनिएको छ ‘(२) ऐन तथा यस नियमावली बमोजिम धितोपत्र दर्ता गरेका संगठित संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले पाँच महिनाभित्र अनुसूची–१५ बमोजिमकोवार्षिक प्रतिवेदन बोर्ड समक्ष पेश गर्नु पर्नेछ । (३) यस नियम बमोजिम उपलब्ध गराउनु पर्ने वित्तीय विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले लागू गरेको लेखामान, नियमनकारी निकायले निर्धारण गरेको मापदण्ड, धितोपत्र बजार तथा धितोपत्र व्यवसायीको लागि बोर्डले तोकेको मापदण्ड अनुरुप तयार गर्नु पर्नेछ । (४) धितोपत्र दर्ता गरेको संगठित संस्थाले आफ्नो साधारण सभा गर्नु पूर्व त्यस्तो साधारण सभामा छलफल हुने विषयको जानकारी बोर्डलाई दिनु पर्नेछ र साधारण सभा सम्पन्न भएको मितिले तीस दिनभित्र साधारण सभामा पेश भएका प्रस्ताव, छलफल भएका विषय तथा निर्णय सम्बन्धी विवरण बोर्डमा पेश गर्नु पर्नेछ ।’

राष्ट्र बैंकले नियमन गर्ने कम्पनीहरुलाई नेप्सेमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त कम्पनी गरी ४ समूहमा विभाजन गरेको छ । ४ वटै समूहका कम्पनीहरुले नियमित रुपमा वित्तीय विवरण सार्वजनिक गर्ने गरेका छन् । वाणिज्य बंैंक समूह अन्तर्गत नेपाल सरकारको समेत लगानी रहेको कृषि विकास बैंक र नेपाल बैंकले समेत समयमै वित्तीय विवरण सार्वजनिक गर्ने गरेको पाइन्छ ।

बिमा समितिले नियमन गर्ने बिमा कम्पनीहरुलाई नेप्सेले जीवन बिमा कम्पनी र निर्जीवन विमा कम्पनी गरी दुई समूहमा विभाजन गरेको छ । जीवन विमा कम्पनीअन्तर्गत राष्ट्रिय बिमा संस्थान र निर्जीवन बिमा कम्पनीअन्तर्गत राष्ट्रिय बिमा कम्पनी लिमिटेड सरकारी कम्पनी रहेका छन् । वर्षौदेखि साधारणसभा नगरेको भए पनि सरकारी स्वामित्वका यी कम्पनीहरुले त्रैमासिक रुपमा वित्तीय विवरण भने सार्वजनिक गरिरहेका छन् । बिमा समितिले नै नियमन गर्ने नेपाल पुनर्विमा कम्पनीको भने त्रैमासिक विवरण समयमा सार्वजनिक हुने गरेको छैन ।

त्यस्तै होटल समूहअन्तर्गत ५ वटा कम्पनी सुचीकृत रहेकोमा तारा गाउँ रिजेन्सी होटल्सको वित्तीय विवरण भने समयमा सार्वजनिक हुने गरेको छैन । चालु आवको सबै होटलहरुको त्रैमासिक वित्तीय विवरण सार्वजनिक भइसके पनि तारागाउँ रिजेन्सी होटल्सको अहिलेसम्म विवरण सार्वजनिक नभएको हो ।

पछिल्लो समय जलविद्युत कम्पनीहरुको संख्या बढेसँगै यस क्षेत्रमा पनि नियमन गराउने उद्देश्यले विद्युत नियमन आयोग गठन भइसकेको छ । आयोग गठन भइसकेपछि यस क्षेत्रका कम्पनीहरुले पनि धितोपत्र बोर्डले दिएकै समयसीमा भित्र वित्तीय विवरण प्रकाशित गर्न थालेका छन् । नेप्सेमा ४३ वटा जलविद्युत कम्पनी रहे पनि हालै सुचीकृत भएका ४–५ वटा कम्पनीले मात्रै विवरण सार्वजनिक नगरेको अवस्था छ ।

ट्रेडिङ समूहमा सुचीकृत दुई कम्पनीहरु साल्ट ट्रेडिङ कर्पोरेसन र बिशाल बजार कम्पनीमध्ये साल्ट ट्रेडिङको नियमित वित्तीय विवरण सार्वजनिक हुन थालेको छ भने बिशाल बजारको भने विवादका बाबजुद पनि समयमा विवरण सार्वजनिक हुँदैन ।

उत्पादन समूह अन्तर्गत शिवम सिमेन्ट, बोटलर्स नेपाल, युनिलिभर नेपाल, हिमालयन डिस्टिलरीलगायतका कम्पनीहरुले समयमै वित्तीय विवरण सार्वजनिक गर्ने गरेका छन् । उत्पादन समूहअन्तर्गत नै रहेको नेपाल ल्युब आयलले भने अहिले सम्म त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने गरेको छैन । समयमा नै साधारण सभा गर्ने गरेको भए पनि यो कम्पनीले अहिलेसम्म त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको रेकर्ड छैन ।

नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीले एक्सचेन्जसमा सुचीकृत सबै कम्पनीहरुले वित्तीय विवरण बुझाउनु कानुन अनिवार्य नै भए पनि नबुझाएमा कुन हदसम्मको कारवाही हुन्छ भन्ने स्पष्ट कानुनी व्यवस्था नभएको बताए ।

 

comments powered by Disqus