गत बिहीबार बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई पत्राचार गरी शतप्रतिशत पुनर्बीमा नेपालकै पुनर्बीमा कम्पनीमा गर्न निर्देशन दिएको थियो । समितिले नेपाली पुनर्बीमा कम्पनीले अस्वीकार गरेको अवस्थामा मात्रै अन्य पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकिने व्यवस्था गरेको थियो ।
जोखिम जति बढी हस्तान्त्रण गर्यो त्यति राम्रो हो तर, त्यसको बिपरित बीमा समितिले निर्देशन दिनु बीमाको अन्तराष्ट्रिय सिद्धान्त बिपरित भएको एकजना बिज्ञले बताए । ‘बीमा समितिले दिएको जस्तो निर्देशन उत्तर कोरियामा भएको भए थाहा भएन्, अन्य देशमा छैन्,’ उनले भने, ‘अन्तराष्ट्रिय नियम विपरित दिएको निर्देशन बीमा कम्पनीले लागु गर्नु पर्छ भन्ने छैन् ।’
समितिले नेपालमा रहेका दुईवटा पुनर्बीमा कम्पनीलाई मात्रै पुनर्बीमाका लागि सञ्चालनको अनुमति दिएको थियो । सरकारी स्वामित्वमा २०७१ सालमा नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा आएको थियो । त्यसैगरी केही महिना पहिला मात्रै निजी क्षेत्रबाट हिमालयन रि इन्स्योरेन्स सञ्चालनका लागि अनुमति दिएको थियो ।
यसअघि नेपाली बीमा कम्पनीहरुले स्वदेशी पुनर्बीमा कम्पनीका अलावा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्दै आएका थिए । तर, यसरी विदेशी पुनर्बीमा कम्पनीलाई पुनर्बीमा गर्दा वार्षिक करिव ६ अर्ब रुपैयाँ बाहिरिएको भन्दै बीमा समितिले स्वदेशी पुनर्बीमा कम्पनीमा मात्र पुनर्बीमा गराउन निर्देशन दिएको थियो ।
तर, रकम बाहिर जान्छ भनेर स्वदेशमा मात्र पुनर्बीमा गराउनु पर्ने समितिको निर्देशन अन्तराष्ट्रिय सिद्धान्त विपरित भएको भन्दै बीमा बिज्ञ र बीमा कम्पनीहरुले बिरोध गर्दै आएका छन् ।
बीमा समितिले दिएको निर्देशनका सम्बन्धमा आगामी दिनका कस्तो कदम चाल्ने भन्ने बिषयमा बीमा कम्पनीहरुको दुइवटै छाता संगठनले छलफल गरिरहेको छन् । हाल नेपालमा १९ जीवन र २० निर्जीवन बीमा कम्पनी छन् । दुइवटै संगठनले बीमा समितिले गरेको निर्णय र निर्देशन आत्मघाती भएको भन्दै फिर्ता लिन दबाव दिने तयारी गरिरहेको बुझिएको छ ।