बीमा कम्पनीहरुले ८० प्रतिशत मुद्दती निक्षेपमा लगानी गर्दा घर जग्गामा भने शून्य

Dec 06, 2021 08:10 AM Merolagani

बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको लागि लगानी निर्देशिका जारी गरेको छ। लगानी निर्देशिका लागू भएको लामो समय भइसक्दा पनि बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार आफ्नो लगानी योग्य रकमलाई विविधिकरण गर्न सकेका छैनन्।

निर्देशका अनुसार बीमा कम्पनीहरूले नेपाल सरकारको बचतपत्र वा ऋणपत्रमा ५ प्रतिशत, 'क' वर्गको बैंक तथा नेपाल पूर्वाधार बैंक लिमिटेडको मुद्दती निक्षेपमा ४० प्रतिशत, घर जग्गा व्यवसायमा '५' प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण शेयरमा १० प्रतिशत, 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा २० प्रतिशत, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सुरक्षित डिबेन्चरमा २० प्रतिशत, कृषि, पर्यटन, जलस्रोत लगायतका पूर्वाधारमा २० प्रतिशत, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ५ प्रतिशत, ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २० प्रतिशत, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ। 

निर्देशिकामा लगानीको अधिकतम सीमा तोकिएको भएपनि बीमा कम्पनीहरुले ठूलो रकम ‘क’ वर्गका वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन्। वाणिज्य बैंकको मुद्दती निक्षेप बाहेक कुनै पनि क्षेत्रमा बीमा कम्पनीहरुले लगानी निर्देशिका अनुसार सीमा पुर्याएका छैनन्।

कुन क्षेत्रमा कति लगानी?

जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै ‘क’ वर्गको वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेका छन्।

'क' वर्गको वाणिज्य बैंकहरु र नेपाल पूर्वाधार बैंकको निक्षेपमा ७०.६२ प्रतिशत, 'ख' वर्गको विकास बैंकहरुको निक्षेपमा ९.१० प्रतिशत, 'ग' वर्गको बैंक तथा वित्तीय संस्थामा १.९१ प्रतिशत गरी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा कुल लगानीको ८०.६२ प्रतिशत अर्थात ३ खर्ब ५३ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेका छन्।

सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा ४.२६ प्रतिशत, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा ५.८४ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ५.४५ प्रतिशत, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ०.५३ प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ०.३१ प्रतिशत लगानी गरेका छन्।

यस्तै, कृषि पर्यटन तथा जलस्रोत लगायतको पूर्वाधारमा ०.९२ प्रतिशत र अन्य क्षेत्रमा २.४० प्रतिशत लगानी गरेका छन्।

घरजग्गामा नगन्य रकम मात्रै लगानी गरेका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफले मात्रै ३६ करोड २४ लाख रुपैयाँ घरजग्गा क्षेत्रमा लगानी गरेको छ। यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले लगानी गरेको कुल रकमको ०.०८२ प्रतिशत मात्रै हुन आउँछ।

घरजग्गामा लगानी किन न्यून

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र दुई वटा पुनर्बीमा कम्पनी गरी ४१ वटा बीमा कम्पनीहरु सञ्चालनमा छन्।

त्यसमध्ये नेपाल लाइफ बाहेक कुनैपनि जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले घरजग्गामा लगानी गरेका छैनन्। नेपाल लाइफले पनि ३६ करोड २४ लाख रुपैयाँ मात्रै लगानी गरेको छ। बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ठूलो रकम राख्दा घरजग्गाको लागानी भने शुन्य जस्तै देखिएको छ।

बीमा कम्पनीहरुले भने घरजग्गामा गरेको लगानी लामो समयसम्म होल्ड हुने भएकोले लगानी नगरेको जनाएको छ। जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले घर जग्गामा लगानी गर्दा आवश्यक परेको बेला रकम चलाउन नपाउने बताउछन्।

‘घर जग्गामा गरेको लगानी लङटर्म इन्भेष्टमेन्ट हो। हामीले बीमितबाट संकलन भएको रकम लगानी गर्ने हो। घर जग्गामा भएको लगानी आवश्यक परेको बेला भुक्तानी गर्न सकिन्न।’ मेटलाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेको श्रेष्ठले भने, ‘त्यसैले हाम्रो लगानी बैंक तथा वित्तीय संस्थाको निक्षेप, सरकारको डिबेन्चर तथा बण्डमा केन्द्रित रहेको छ।’

यस्तै, नेपाल बीमक सघंका उपाध्यक्ष एनपी प्रधानले पनि घर जग्गामा लगानी गर्दा प्रकृया झन्झटिलो भएकोले लगानी नभएको बताए। लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेको प्रधानले भने, ‘बीमा समितिको निर्देशन अनुसार घर जग्गामा पनि लगानी गर्नुपर्ने व्यवस्था छ। तर, हामीले कार्यालय प्रयोजनको लागि मात्रै घर जग्गामा लगानी गर्ने गरेका छौं।’ घर जग्गामै लगानी गर्नको लागि प्रकृयागत झन्झटिलो भएकोले लगानी नभित्रिएको हुन सक्ने उनको भनाई छ।

घरजग्गामा वाणिज्य बैंकहरुको लगानी भने बढ्दै

बीमा कम्पनीहरुको लगानी योग्य रकमको ८० प्रतिशतभन्दा धेरै रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन्। बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा लगानी गर्दा बैंकहरुले भने घरजग्गामा लगानी बढाउँदै लगेका छन्।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै बैंकहरुले १२ अर्ब रुपैयाँभन्दा धेरै रकम घरजग्गामा लगानी गरेका छन्।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिसम्ममा वाणिज्य बैंकहरुले एक खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेका छन्। यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा १२.५२ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको यहि अवधिमा वाणिज्य बैंकहरुले १ खर्ब ४४ करोड रुपैयाँ लगानी गरेका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।