केन्द्रीय बैंककाे निर्देशनपछि धमाधम लघुवित्तको संस्थापक शेयर बेच्दै बैंकहरु

Jan 27, 2022 03:09 PM MeroLagani

  • बाबुकृष्ण महर्जन

नेपाल राष्ट्र बैंकले लघुवित्तमा भएको बैंकहरुको क्रसहोल्डिङ शेयर अनुपातको आधारमा मर्जरमा जानुपर्ने निर्देशन दिएपछि धेरै बैंकहरुले लघुवित्तमा भएको आफ्नो शेयर अनुपात घटाउन थालेका छन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई हालै एक निर्देशन जारी गर्दै लघुवित्तमा कुनै एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेमा वा एक भन्दा बढी संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएमा त्यस्ता लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा मर्जरमा जाने कार्य योजना बनाएर आगामी असार मसान्तसम्म पेश गर्न भनेको छ ।

नेपाल राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी शेयर रहेका लघुवित्त वित्तीय संस्थाहरु मर्जरमा जान निर्देशन दिएपछि १० प्रतिशतभन्दा कम शेयर स्वामित्व बनाउन पनि विस्तारै लघुवित्तको संस्थापक शेयर लिलामीमा आएको हो । नेपाल लघुवित्त वित्तीय संस्था संघका अध्यक्ष एवम् लक्ष्मी लघुवित्त वित्तीय सस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले पनि कुनै पनि लघुवित्तमा १० प्रतिशतभन्दा कम स्वामित्व कम बनाउन शेयर लिलामीमा राखेको हुन सक्ने बताए पनि एकिन साथ भन्न कठिन हुने बताए । उनले भने –‘नेपाल राष्ट्र बैंकले क्रस होल्डिङको आधारमा मर्जरमा निर्देशन दिनु र लघुवित्तको संस्थापक शेयर लिलामीमा आउनु संयोग पनि हुनसक्छ । लघुवित्त कम्पनीहरुको शेयर मूल्य बढेको समय पारेर प्रोफिट बुक गरेको पनि हुनसक्छ’ अध्यक्ष शर्माले अरु बैंकहरुलाई मर्जरमा जानको लागि मार्ग प्रशस्त गर्न पनि आफ्नो स्वामित्वमा भएको शेयर बेचेको हुन सक्ने बताए।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले मर्जरमा जान नचाहेका कम्पनीले आफ्नो शेयर अफलोड गरेको हुन सक्ने बताए । ‘राष्ट्र बैंकको निर्देशन अनुसार कि त लघुवित्तहरु मर्जको लागि पहल गर्नुपर्यो कि अरुलाई मर्जर गर्न शेयर अफलोड गरिदिनु पर्यो ।’–उनले भने ।

राष्ट्र बैंकको सो निर्देशनपछि केही बैंकहरुले आफ्नो शेयर स्वामित्व रहेका शेयरहरु लिलाम बढाबढमा बिक्री गर्न सूचना प्रकाशित गरेका छन् । हालै मात्र नबिल बैंकले स्वावलम्बन लघुवित्तको १ लाख ६२ हजार कित्ता सेयर लिलामीमा बेच्न सूचना प्रकाशित गरेको हो । बैंकले गत माघ ५ गतबाट १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ६५० रुपैयाँमा यो सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा माघ १८ गतेभित्र बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ, नक्साल काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

नबिल बैंकको हालै सम्पन्न साधारण सभामा वितरित वार्षिक प्रतिवेदन अनुसार बैंकको अझै आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, निर्धन उत्थान बैंक, छिमेक लघुवित्त वित्तीय संस्था, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, साना किसान विकास बैंक, स्वावलम्बन लघुवित्त, नेपाल ग्रामीण विकास बैंंक र महिला सहयात्रा माइक्रोफाइनान्समा शेयर स्वामित्व रहेको छ । प्रतिवेदन अनुसार आरएमडीसीको १ लाख ८ हजार ७ सय ६३ कित्ता, निर्धर उत्थान बैंकको १५ लाख ९२ हजार १ सय ५८ कित्ता संस्थापक शेयर र ६ लाख ६७ हजार ७ सय ६५ साधारण शेयर, छिमेक लघुवित्तमा १ लाख ५९ हजार ६ सय ८४ कित्ता संस्थापक शेयर र ४ लाख ८७ हजार ८ सय कित्ता साधारण शेयर एवम् युनाइटेड फाइनान्स मर्जर गर्दा प्राप्त भएको छिमेक लघुवित्तकै ४ हजार ३ सय कित्ता शेयर समेत नबिल बैंकसँग छ । त्यसैगरी डिप्रोक्स लघुवित्तको १० लाख ८९ हजार ३ सय १० कित्ता संस्थापक शेयर र ३ लाख ५१ हजार ५ सय ७२ कित्ता साधारण शेयर, साना किसान लघुवित्तको ३ लाख ७९ हजार ५ सय ६४ कित्ता, नेपाल ग्रामीण विकास बैंकको ८० हजार ४ सय ५३ र महिला सहयात्रा माइक्रोफाइनान्सको ४८ हजार ४ सय कित्ता शेयर नबिल बैंकको स्वामित्वमा छ । महिला सहयात्रा माइक्रोफाइनान्स अहिले नेसनल माइक्रोफाइनान्ससँग मर्जर भएर नेसनल माइक्रोफाइनान्सकै नाममा संयुक्त कारोबार भइसकेको छ । वार्षिक प्रतिवेदनअनुसार नाडेप लघुवित्तमा नबिल बैंकका २५ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

एनआईसी एसिया बैंकले पनि आफ्नो स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आरएमडीसीको ३ लाख ६५ र मेरोको ८४ हजार ८२९ कित्ता सेयर रहेको छ । यसमा लगानीकर्ताले आरएमडीसीको सेयरमा न्यूनतम ५३९ रुपैयाँ र मेरोको सेयरमा ४९७ रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

एनआईसी एसिया बैंकको मेरो माइक्रोफाइनान्स र आरएमडीसी बाहेक माहुली सामुदायिक लघुवित्तमा पनि ५१ हजार कित्ता शेयर लगानी रहेको छ । बैकले आफ्नै सहायक कम्पनीको रुपमा एनआईसी एसिया लघुवित्त वित्तिय संस्था समेत सञ्चालित छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।