पर्यटन पनि पहिलादेखि नै रुचिको क्षेत्र भएका कारण अन्तिममा रबिन ‘टुरिजम म्यानेजमेन्ट कोर्स’ गर्न सिङ्गापुर उडे । सिङ्गापुर गएर ‘टुरिजम म्यानेजमेन्ट कोर्स’ गर्दा तालिमको रुपमा रेष्टुरेन्टमा गएर काम गर्ने र सिक्ने अवसर पनि पाए ।
रबिन भन्छन् ‘मैले कहिले पनि सोचेको थिइन रेष्टुरेन्टमा गएर काम गर्नुपर्छ भनेर तर, त्यो तालिम र काम नै मेरो लाइफको पहिलो खुड्किलो बन्यो।’
रबिनले सिंगापुरमा पढ्दै, काम गर्दै साढे पाँच बर्ष सिंगापुरमै बिताए । ‘म विदेश बस्दा नेपालमा केहि गर्न सकिन्छ कि भनेर हरेक वर्ष नेपाल आउँथे र नेपालको अवस्थाबारे जानकारी लिन्थेँ’ रबिन सुनाउँछन् ‘सिंगापुरमै फिल्म मेकिङ कोर्स पनि पढेँ।’
सिंगापुरको पढाइ र कामको अनुभव लिएर नेपालमै केहि गर्नुपर्छ भन्ने उद्देश्य बोकेर २०११ को अन्तिमतिर नेपाल फर्किए ।
सिंगापुरमा बस्दै गर्दा उनलाई त्यहाँ देखेका कुरालाई नेपालमा पनि गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । नेपालमै केहि गर्नुपर्छ भनेर रबिनले सिंगापुरमा भोगेका, देखेका र नेपालमा गर्न सकिने विषयलाई दिमागमा राख्दै गए भने साथीहरुलाई पनि आईडिया बाँड्दै गए ।
उनलाई विदेश हुँदै लाग्थ्यो ‘नेपाल गएर केहि गर्नकोलागि म एक्लै छैन, साथीहरु पनि छन्, जतिबेला नेपाल फर्किए त्यतिबेलै मेरो मनमा केहि गर्छु भन्ने माइन्डसेट भइसकेको थियो,’ रबिनले त्यतिबेलै सोचिसकेका थिए नेपाल गएर फिल्म बनाउने र रेष्टुरेन्ट खोल्ने ।
नेपाल आएको केहि समयपछि चार जना साथीसँग मिलेर ठमेलमै ‘रिफ’ रेष्टुरेन्ट सुरु गर्ने योजना बनाए । रेष्टुरेन्ट खोल्ने तयारी भएपछि काम पनि सुरु गरे । रिफ रेष्टुरेन्ट निमार्णधीन रहेकै समयमा रबिनले ब्रिटिस एम्बेसीमा एक बर्ष व्यवस्थापनमा जागिर पनि गरे ।
एम्बेसीमा काम गर्दा एम्बासेडरसँग पनि निकटता बढेको थियो । सोहि निकटताले रबिन लगायत साथीहरु मिलेर सुरु गरेको रेष्टुरेन्टको एम्बेसेडर जोन मार्फत २०१२ मा उद्घाटन समेत गराए ।
रेष्टुरेन्ट चलाउँदा चलाउँदै रबिन श्रेष्ठ सहितको टिम फिल्म बनाउनतिर पनि लाग्यो । रबिन पहिलेदेखि नै फिल्ममा रुची राख्ने भएको कारण पनि ‘मोक्ष’ नामक फिल्म पनि बनाए ।
‘आर्थिक रुपमा मोक्ष फिल्म सफल नभए पनि राम्रो फिल्म बनेको थियो।’ सो फिल्मको राम्रो रेस्पोन्स पाएपछि २०१४ तिर रेष्टुरेन्टकै साथीहरुसँग मिलेर रिफ प्रोडक्सन हाउसबाटै ‘मुखौटा’ नामक फिल्म पनि बनाए ।
रबिनले हाँस्दै भने ‘फिल्म फल्प जस्तै भयो तर, रेष्टुरेन्टले पिकअप लिइरहेको थियो, हामीले हार मानेनौं र असफलताले पनि धेरै कुरा सिकाउँछ भन्ने लाग्यो।’ पछि फिल्म क्षेत्रमा सोचें अनुसार नभएपछि फिल्म मेकिङलाई साइड लगाएर फुलटाइम रबिनले रेष्टुरेन्टलाई नै प्राथमिकता दिए ।
कर्मा क्लबको सफलतापछि...
रेष्टुरेन्टसँगै रबिन सहितका अन्य साथीले थप नयाँ गर्ने छलफल थाले । नभन्दै वल्र्ड ट्रेड सेन्टरमा कर्मा नामका साथीले कर्मा क्लब डिजाइन गरिरहेकाे थाहा पाए । क्लबतिर लाग्ने योजनापछि ४ जना साथी मिलेर ६ करोड रूपैयाँमा कर्मा क्लब सुरु गरे ।
कर्मा क्लब बिस्तारै राम्रो हुँदै गयो । पछि रबिनको टिमलाई कर्मा क्लबले राम्रो पिकअप लिदै गएपछि क्लबको भविष्य राम्रो रहेछ भन्ने लाग्यो । ‘कर्मा क्लबले राम्रो बजार लिदै गएपछि पहिलेको ठाउँ सानो हुँदै गयो भन्ने हामीलाई फिल भयो।’
कर्मा क्लबबाट रबिन सहितको टिमले नेपालमा क्लब व्यवसायको बजार रहेछ भन्ने बुझे । कर्माको सफलताले टिम हौसियाे र नयाँ ठूलो ठाउँ खोज्न तिर अघि बढ्यो । दुई बर्ष कर्मा क्लब चलाएपछि नयाँ आइडिया सहित अहिले भइरहेको भन्दा नयाँ गर्न उनीहरूले अध्ययन थाले ।
‘हामी देश विदेश यात्रा गरिरहदा अथवा सिंगापुरमा बस्दा क्लब तथा रेष्टुरेन्टको बारेमा धेरै ज्ञान बटुलेका थियौं’ रबिनले भने ‘नयाँ गर्ने सोंच सहित २०१८ मा अन्तराष्ट्रिय स्तरको प्रोजेक्टको योजना बन्यो ।’
नयाँ प्रोजेक्टमा डर हुँदा हुँदै पनि नेपालकै ठूलो क्लब बनाउन टिमलागि पर्यो । नेपालमा त्यतिबेला त्यो स्तरको र क्षमताको क्लब थिएन ।
चार साथीको जोशले जन्मिएको एलओडी
रबिन सुनाउँछन् ‘एलओडीको डिजाइन अनुसार क्लब निर्माणाधीन हुँदै गर्दा धेरै नजिकका मान्छेले यत्रो ठूलो लगानी गरेर बौलायौ भन्ने पनि सुनिएको थियो तर, हामीले हार खाएनौं’ । रबिन सहितका साथीहरु देश विदेश धुम्ने, पार्टी गर्ने, नयाँ नयाँ ठाउँ घुम्दा घुम्दै फुरेको चिज हो एलओडी ।
रबिन र उदिप भारत घुम्न गएका थिए । उनीहरुले घुम्दै गर्दा एउटा रेष्टुरेन्टको नाम 'लर्ड अफ दी ड्रिङ्स' झट्ट देखे । त्यतिबेलै 'एलओडी' नाम दिमागमा फिक्स गरेका थिए रबिनले ।
नेपालमा अन्तराष्ट्रिय स्तरको क्लब खोल्ने योजना फाइनल भएसँगे रबिनको टिमले ‘इन्टेरियर डिजाइनिंग’ कोलागि प्रनिता श्रेष्ठसँग धेरै छलफल र वर्कआउट गरेपछि एलओडिको डिजाइन निस्कियो ।
डिजाइन र सबै तयारी भएपछि चार जना साथी उदिप श्रेष्ठ, राजु सिंह, भुपेन कुवर र रबिन श्रेष्ठ मिलेर "लर्ड अफ ड्रिङ्स" अर्थात "एलओडी" २०१९ फेब्रुअरी १० मा औपचारीक रुपमा सुरु भयो ।
अहिले ९ जना सञ्चालकले २५ करोड रूपैयाँ भन्दा माथि एलओडीको लागि लगानी गरिसकेका छन् । ‘हामी खुशी छौं विदेशमा नभएको चिज नेपालमा दिन पाएका छौं र नेपालमा पनि यस्तो ठाउँ छ भनेर गर्वका साथ भन्न पाउन प्लाटफर्म दियौं’ रबिनले गर्वका साथ भने ।
अहिले युवापुस्तामा चर्चित नाम बनेको छ ‘लर्ड अफ द ड्रिङ्स’ अर्थात् 'एलओडी' । जहाँ युवायुवती दिनभरको थकान भुल्दै संगीतमा झुम्छन्, हाँस्छन्, अनि दिल खोलेर नाच्न सक्छन्।
हजारौँ युवायुवती एकैपटक नाच्न सक्ने र त्यही अनुसार रमाइलो गर्न सक्ने हुनाले पनि एलओडी पछिल्लो समय युवापुस्ताको मुखमै झुन्डिएको छ । सयौँ युवालाई फ्लोरमा उतारेर नचाउने, झुमाउने एलओडीका सीईओ अर्थात् सञ्चालक रविन श्रेष्ठ त्यही एलओडीको भिडमा भेटिन्छन् ।
अहिले झमक्क साँझ नपर्दै एलओडीले ठमेल सहित काठमाडौं बस्ने सबै युवा पुस्तालाई बिउझाइ दिन्छ ।
यसरी हरेक दिन युवायुवतीहरूलाई नचाउनु, रमाइलो गराउनु, मीठा परिकारको साथमा मीठो संगीतमा झुमाउँदै खुवाउनु रबिन श्रेष्ठको दैनिकी नै बनिसकेको छ ।
एलओडी स्थापना भएको चार बर्ष नपुग्दै एलओडी विश्वका उत्कृष्ट सय क्लबहरू मध्ये परिसकेको छ । नेपालमा एक मात्र अन्तराष्ट्रिय स्तरको क्लब रहेको कारण पनि एलओडीले थप उचाइ पाइरहेको छ । एलओडीमा अहिले एकै पटकमा ४ हजार जना अटाउन सक्ने क्षमता छ ।
२०७० सालमा १२ करोड रूपैयाँकाे लगानीमा बनेको आलिशान क्लबमा अहिले २५ करोडको लगानी पुगिसकेको छ, सयौं जनाको रोजगारीको स्रोत समेत बनेको छ ।
‘नेपालमा एलओडीको सुरुवात हुँदासम्म डान्स क्लबलाई राम्रो नजरबाट हेरिँदैनथ्यो । तर, अहिले परिवारसँग क्लब गएर रमाइलो गर्नु सामान्य बनिसकेको छ जसमा एलओडीको पनि ठूलो भुमिका छ।’
हालै भारतिय काङ्गे्सका नेता राहुल गान्धि गएपछि नेपालमा मात्रै होइन एलओडि क्लबले भारतमा पनि ठूलै हलचल मच्चाइरहेको छ ।
पारिवारिक माहौलमा सांगीतिक मजा दिँदै आएको एलओडीले नेपाली सहित विदेशी चर्चित सेलिब्रेटी तथा विदेशी गायक/गायिकाका कारण चर्चामा आउँछ त कहिले राजघरानाको उपस्थितिले पनि चर्चामा पाउँछ ।
रबिन भन्छन् ‘नेपालमा यस्तो एउटा प्लाटर्फम आवश्यक थियो त्यो हामीले पुरा गरेका छौँ, नेपालमा यो एउटाले मात्रै पुगेको छैन।’ एलओडीमा ग्राहकका लागि सामान्य, भीआईपी र भीभीआईपी गरेर तीन क्षेत्रमा छुट्याइएको छ ।
एलओडी आउन चाहने ग्राहकले एक हजार रुपैयाँ मात्रै प्रवेश शुल्क तिरे साथीभाइसँग रम्न, झुम्न र संगीतको मज्जा लिन पाउँछन् भने महिलालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । राती ९ बजेदेखि बिहान ४ बजेसम्म चल्ने एलओडीमा दैनिक २ हजारदेखि ५ हजारसम्मको उपस्थिति हुने गरेको रबिन बताउँछन् ।
अझै नयाँ गर्ने हुटहुटी
रबिन र रबिनको टिमलाई एलओडीको सफलताले पुगेको छैन । अझै नयाँ गर्ने जोश र योजना बनाएर अघि बढ्दैछन् रबिन ।
रबिन भन्छन् ‘ मान्छेलाई सफलताले कहिले पनि पुग्दैन, हरेक सफल मान्छेको नयाँ योजना हुन्छन् नै, म र मेरो टिममा त्यो जोश एलओडीले दिएको छ।’
क्लबमा करोडौं लगानी गरिसकेपछि सरकारले पनि नाइट क्लबहरुलाई संरक्षण दिनुपर्ने बताउँछन् रबिन ।
एलओडीको आउटलेट छिटै पूर्व झापाको बिर्तामोडमा खोल्ने तयारी भइरहेकाे छ । ‘फ्रेन्चाइज खोल्न धेरै ठाउँबाट प्रस्ताव आइरहेका छन्, अझै पनि नेपालीले सानका साथ भन्न पाउने वातावरण बनाउने योजनमा छौं’ रबिनले भने ।