दुई दिन सार्वजनिक बिदाः सरकारी कर्मचारी दंग, पर्यटन व्यवसायी मख्ख

May 19, 2022 08:31 AM MeroLagani

सरकारले जेठ १ गतेदेखि हप्ताको २ दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ । सातामा दुई दिन बिदा दिने सरकारको नीतिसँगै पर्यटन व्यवसायी हर्षित बनेका छन् ।

सरकारले विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउन भन्दै सातामा दुई दिन बिदा दिने नीति ल्याएको हो । नेपालको कुल आयातको १५ प्रतिशत पेट्रोलियम पदार्थ आयातमा खर्च हुने गर्दछ । अन्तर्राष्ट्रिय मूल्य वृद्धिसँगै कच्चा तेलको मूल्यमा पनि वृद्धि हुँदा देशले ठूलो धनराशी पेट्रोलियम पदार्थ आयातमा खर्च गर्नु परेको छ । सरकारको नयाँ नीतिले पेट्रोलियम पदार्थको खपतमा कमी आउँछ वा आउँदैन यकिन नभएपनि यसले आन्तरिक पर्यटकीय गतिविधि बढ्नेमा भने पर्यटन व्यवसायीहरु ढुक्क छन् । काठमाडौं नजिकैको पर्यटकीय गन्तव्य धुलिखेल, नगरकोटको साथै पोखरा, चितवन र लुम्बिनी क्षेत्रका होटल व्यवसायीहरु यसबाट धेरै खुशी देखिएका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा माग गर्दै आएका व्यवसायीहरुले सरकारको योे निर्णय कार्यान्वयनमा आउँदा आन्तरिक पर्यटनमा बहार आउने बताइरहेका छन् ।

कोरोना संक्रमणका कारण सबै व्यवसाय लयमा फर्किए पनि पर्यटन व्यवसाय अझै कोभिड पूर्वको अवस्थामा फर्किएको छैन । कोरोना संक्रमणले थलिएको पर्यटनमा शनिबार र आइतबार बिदाको निर्णयले आन्तरिक पर्यटक बढ्ने उनीहरूको विश्वास छ । होटल संघ नेपालले विज्ञप्ति नै निकालेर सरकारको निर्णयले सकारात्मक सन्देश दिएको बताएको थियो । ‘पर्यटन क्षेत्र लामो समयदेखि विविध समस्याबाट प्रताडित हुँदै आएकामा दुई दिने बिदाको व्यवस्थाले केही रूपमा भए पनि व्यवसायमा राहत पुग्ने विश्वास हामीले लिएका छौँ’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल टुर एन्ड ट्राभल एजेन्सी एसोसिएसन (नाट्टा)का अध्यक्ष रमेश थापाले दुई दिने सार्वजनिक बिदाले केही मात्रामा आन्तरिक पर्यटन वृद्धिमा टेवा पुग्ने बताए । ‘नगरकोट, पोखरा, चितवन, लुम्बिनीलगायतका होटलहरुले सप्ताहन्तमा केही बिजनेस पाउने देखिन्छ । शहर नजिकका पर्यटकीय गन्तव्यमा केही भिडभाड नै हुने देख्छु ।’–उनले भने । पछिल्लो समय भारतबाट पनि उल्लेखनीय पर्यटकहरु नेपाल भित्रिरहेको उनले बताए ।

कोभिड–१९ को महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही रूपमा भए पनि चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने बताउँछन् पोखराको होटल फेवाका सञ्चालक चन्द्र भण्डारी । पछिल्लो समय केही मात्रामा पश्चिमा पर्यटकहरु र भारतीयहरु भित्रिन थालेकाले केही राहतको महसुस गरेको बताउने भण्डारीले दुई दिन बिदाको कारण सप्ताहन्तमा होटल रुम खाली राख्नुपर्ने बाध्यताको अन्त्य हुने आशा व्यक्त गरे ।

नेपालीहरुमा पनि विस्तारै घुम्ने संस्कार बढ्दै गएको छ । सके विदेश घुम्ने नत्र देशकै पनि विभिन्न रमणीय स्थलहरुमा केही दिनको लागि घुम्न जाने कल्चर नै विकास भएको छ । अहिले विदेश जानको लागि कोभिडका विविध प्रावधानहरु पुरा गर्नुपर्ने एवम् केन्द्रीय बैंकले समेत विदेशी मुद्रा सटहीमा कटौती गरेकाले विदेश भ्रमणमा भन्दा स्वदेशकै विभिन्न स्थानहरुमा होलिडे मनाउने प्रचलन बढ्दै गएको छ । स्थानीय चुनावका कारण गत हप्ता सुनसान जस्तो देखिएको पोखरा फेरि चलमलाउन थालेको होटल व्यवसायी भण्डारीले बताए ।

पोखराका होटलमा ४० हजारभन्दा बढी बेड छन् । तीमध्ये अहिले आधाभन्दा बढी भरिएका छन् । पर्यटकलाई भुलाउनकै लागि सरकारले लेकसाइडलाई चौबीसै घण्टा खुला राख्ने निर्णय गरेको छ । पर्यटक लक्षित साहसिक खेलकुदका गतिविधि पनि थपिएका छन् । पोखरा नजिकैको कुश्मामा स्काई साइक्लिङ, बन्जि जम्पिङजस्ता साहसिक गतिविधिको मज्जा लिन पाइन्छ । यस्ता गतिविधि गर्न जानको लागि पोखरा मात्रै जाँदा दुई दिन नै पनि पर्याप्त हुने उनले बताए ।

काठमाडौं नजिकका गन्तव्यहरुमा पनि सप्ताहान्तमा भीड बढ्ने गरेको छ । नगरकोटको निवा निभा होटलका सञ्चालक सुजन कायष्थले चुनावपछि आन्तरिक पर्यटकको भिड लाग्नेमा आशावादी छन् । दुई दिन बिदा नहुँदा पनि सामान्यतया सप्ताहान्तमा नगरकोटका होटलहरु भरिभराउ नै हुन्छन । ‘जेठ १ देखि हप्तामा दुइ दिने बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा आएको छ । यसले होटलमा पाहुना बढ्नेमा म ढुक्क छु ।’–उनले भने । चुनाव अगाडिको एक साता भने होटल सुनसान नै रहेको उनले सुनाए ।

पोखरा, नगरकोटजस्तै चितवनमा पनि पछिल्लो समय सप्ताहन्तमा चहलपहल झनै बढेको छ । चितवन एडभेन्चर रिसोर्टका सञ्चालक श्याम श्रेष्ठका अनुसार पछिल्लो समय भारतीय पर्यटकहरुको फ्लो अलि बढेको छ । दुई दिने बिदाको असर हेर्न भने आगामी दिन हेनु पर्ने हुन्छ । एमालेको अधिवेशन र कांग्रेसको अधिवेशनले चितवनका होटलहरु फुल क्यापासिटीमा सञ्चालनमा आएको थियो । पछिल्लो समय बढी मात्रामा भारतीय पर्यटकहरु र केही मात्रामा पश्चिमा पर्यटकहरुले चितवनको पर्यटकहरु देखिन थालेको चितवनका जंगल गाइड आशाराम चौधरीले बताए ।

केही दिन अगाडि भएको एक सार्वजनिक कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा एकदमै असाध्यै सकारात्मक रहेको बताए । ‘यसले नेपालको अर्थतन्त्र र समग्र क्षेत्रलाई यसले सहयोग गर्छ विशेष रुपमा आन्तरिक पर्यटनमा र यसको फैलावटमा सहयोग गर्छ ।’–उनले भने –‘अहिले परिक्षणको रुपमा भएकोले सरकारी निकायका कर्मचारी साथीहरुले यो ट्रायल पिरियडमा ठूलो मेहनत नगरी ‘डेलिभरी’ दिएन भने यो सार्वजनिक बिदा घोषणा फेरि पनि फिर्ता हुन सक्दछ ।’

यसअघि पर्यटन मन्त्री बनेका योगेश भट्टराईले कोरोना कालमा विदेशी पर्यटकको आगमन शून्य रहेको बेला आन्तरिक पर्यटन प्रबद्र्धन गर्न २ दिन बिदाको प्रस्ताव अगाडि सारेर एक कार्यदल बनाए पनि उनले लागू भने गरेनन् । नेपालमा दुई दिने बिदाको अभ्यास यसभन्दा अगाडि २०५६ सालमा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहेको बेला पनि गरिसकिएको छ । अहिले २ दिने बिदाले आन्तरिक पर्यटकीय गतिविधिमा वृद्धि हुने एवम् पेट्रोलियम पदार्थको खतपतमा कमी आउने कारण दिइए पनि त्यसबेला कर्मचारीहरु शुक्रबार चाँडै जाने र सोमबार बिहान ढिला मात्रै कार्यालय पुग्ने प्रवृत्ति दोहोरिए पछि कार्यसम्पादनमा गम्भिर असर परेको भन्दै हटाइएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।