पैसा तिरेर सेल्फि खिच्ने घर "द हाउस अफ सेल्फिज"

Aug 04, 2022 06:17 PM Merolagani



ज्याेति शाह

सामाजिक संजालको समय छ, प्राय मानिस सामाजिक संजालमा नयाँ फोटो वा भिडियो राख्न चाहन्छन् । त्यसकालागि मानिसको रोजाइमा नयाँ ठाउँ पर्ने गरेको छ । सोहि मागलाई मध्यनजर गर्दै सामाजिक संजाल प्रेमीहरुकालागि बजारमा तस्बिर र भिडियो खिच्नैकालागि मात्र "द हाउस अफ सेल्फिज" ल्याइएको छ । विशेषगरी, टिकटकमा अहिले "द हाउस अफ सेल्फिज" को चर्चा छ ।</s

"द हाउस अफ सेल्फिज" एक साता अघि मात्र काठमाडौंस्थित सिभिल मलको तेश्रो तल्लामा सुरुवात गरिएको हो । औपचारिक घोषणा सात दिनभित्र नै युवायुवतीमाझ "द हाउस अफ सेल्फिज" निकै लोकप्रिय बनिसकेको छ । टिकटकभर सेल्फीको घरमा युवायुवती तथा सेलिब्रेटीले खिचेको भिडियो यतिबेला भाइरल बनेको छ ।

देसाल लामाले पछिल्लो ट्रेण्डलाई पछ्याउँदै सामाजिक संजाल मनपराउने व्यक्तिहरुकालागि मनोरञ्जनात्मक स्थल उपलब्ध गराउने उद्देश्यले "द हाउस अफ सेल्फिज" को स्थापना गरेकी हुन् ।

खासगरी, टिनेजर तथा युवालाई यस स्थानले आकर्षित गर्ने गरेको छ । यद्यपी यो सेल्फि घर हरेक उमेर समूहकालागि भएको व्यवस्थापन प्रमुख आशुतोष न्याैपानेको भनाई छ । "लक्षित वर्ग टिकटक, इन्स्टाग्राम, स्न्यापच्याट, फेसबुकमा सक्रिय हुनेहरुकालागि भएपनि हामी सबैकालागि खुल्ला छौं", उनी भन्छन् ।

साउन ११ गते सुरु गरिएको "द हाउस अफ सेल्फिज" ले सुरुवातमै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

 

के हो द हाउस अफ सेल्फिज ?

तीन हजार स्कवायर फिटमा रहेको "द हाउस अफ सेल्फिज" मा २३ वटा विभिन्न थिम सहितका बुथहरु छन् । जहाँ वाटरमेलोन सुगर, लिगल थिम, वेलकम टु जंगल, विस यू वेयर हेयर, पिङपोङ टेबल, ल्याभेण्डर बुथलगायतका थिमसहितका कोठाहरु रहेका छन् ।

"द हाउस अफ सेल्फिज" मा आफूले चाहे अनुसारको फोटो, भिडियो र टिकटक खिच्न सकिनेछ । हरेक बुथमा रिंग लाईट राखिएको छ । यसका साथै कपडा फेर्नकालागि चेन्जिङ रुम पनि बनाइएको छ । जसबाट हरकोहिले फरक फरक पहिरनमा फरक फरक टिकटक वा इन्स्टाग्राम रिल पनि बनाउन सक्छन् । ग्राहकको सहजताकालागि कर्मचारीले नै सिकाउने र ग्राहककै मोबाइल वा क्यामेराबाट खिचिदिने पनि गर्ने गरेका छन् ।

धेरैलाई "द हाउस अफ सेल्फिज" केवल महिलाकालागि मात्र उपयुक्त स्थान भन्ने लाग्न सक्दछ । तर यहाँ पुरुषहरुकालागि पनि विशेष व्यवस्था गरिएको छ । २३ वटा थिममध्ये बल पिट, पुल पार्टि, भोग म्यागेजिनलगायतका थिम पुरुषलाई सुहाउने थिम रहेका छन् । यसैगरी, जोडिकालागि पनि केहि थिमहरु निर्माण गरिएका छन् ।

यसबाहेक प्रि वेडिङ फोटोसुट, पोष्ट वेडिङ सुट, अन्य फोटोसुट र म्युजिक भिडियो लगायतका अन्य विज्ञापनको सुटिङ यहाँ गर्न सकिनेछ ।

 

डेढ करोड रुपैयाँको लगानी

करिब एक करोड ५० लाख रुपैयाँको लगानी रहेको "द हाउस अफ सेल्फिज" मा प्रायजसो भिडभाड देखिन्छ । शुक्रबार, शनिबार र आइतबार भने "द हाउस अफ सेल्फिज" मा फोटो र भिडियो खिच्न आउनेको लर्को हुन्छ । अन्य दिन पनि औसतमा ४० जना त्यहाँ पुगेकै हुन्छन् ।

वर्षाको समय भएतापनि एक सातामा नै धेरैलाई द हाउस अफ सेल्फिजको बारेमा थाहा भएर आउनुले यो समुहमा उत्साह थपेको छ । यद्यपी तुरुन्त नाफा कमाउनु र नतिजा पाउने भने उनीहरुको अपेक्षा छैन । सबै नेपालीले मनपराउने, मनोरञ्जन लिने यो स्थान बनोस् र भविष्यमा व्यापार बढ्दै जाने आशा भने आशुतोष र समूहले गरेको छ ।

प्रवेश शुल्क ६९९ देखि ८९९ रुपैयाँ

"द हाउस अफ सेल्फिज" मा प्रवेश गर्नकालागि सोमबारदेखि बिहीबारसम्म प्रतिव्यक्ति ६९९ रुपैयाँ लाग्ने गरेको छ । यस्तै विक्एण्ड अर्थात् शुक्रबार, शनिबार र आइतबार सेल्फि घरमा सेल्फि खिच्न एक जनाले ८९९ रुपैयाँ तिर्नुपर्छ । सार्वजनिक विदाका दिन पनि यहिँ मूल्य तोकिएको छ । यो शुल्क तिरेमा एक घण्टा सेल्फि हाउसमा समय बिताउन तथा भिडियो र फोटो खिच्न पाइनेछ ।

यसकासाथै "द हाउस अफ सेल्फिज" ले समय अभाव हुनेलाई २ घण्टाको प्याकेज पनि ल्याउने भएको छ । हरेक चार महिनामा केहि बुथको डिजाइन परिवर्तन गर्ने र चाडपर्व लक्षित थिम बनाउने उनीहरुले सोंचेका छन् । बिस्तारै समूहकालागि अन्य अफरहरु पनि सार्वजनिक गर्ने व्यवस्थापन प्रमुख आशुतोषले बताए ।

कतिपयलाई महंगो लागेको गुनासो आएपनि ग्राहकको सुरक्षा तथा सेवाकालागि ध्यान दिँदा तिर्न सक्ने मूल्य नै निर्धारण गरिएको आशुतोषले मेरोलगानीलाई बताए । कोभिड १९ बढिरहेको समयमा स्वास्थ्य मापदण्ड सबै पुरा गर्ने गरेको र ग्राहकहरुको स्वास्थ्यप्रति गम्भिर भएको पनि उनी सुनाउँछन्। 

ग्राहककै सुरक्षा र सेवाकालागि सात जना कर्मचारी यहाँ कार्यरत छन् । जसमध्ये धेरैजसो टिकटकर नै रहेका छन् ।

करिब १४ वर्षअघिदेखि ओल्ड हाउस रेष्टुरेन्ट हुँदै जम्प काठमाडौं, प्लेरुम जस्ता मनोरन्जनात्मक स्थल पहिले नै खोलिसकेको समूहकै प्रयास हो "द हाउस अफ सेल्फिज" । 

नक्कल हाेइन प्रेरणा

विश्वबाट अभिप्रेरित भएर नेपालकालागि यो पृथक प्रयास गरेको व्यवस्थापन प्रमुख आशुतोषको भनाई छ । अमेरिकामा भएको सेल्फि वल्र्डबाट सिकेर नै "द हाउस अफ सेल्फिज" को स्थापना गरिएको हो । तथापी यसलाई कपी भने भन्न नमिल्ने आशुतोषको तर्क छ ।

मनोरञ्जन जगतमा नयाँ अभ्यास गर्ने उद्देश्य यस कम्पनीको रहेको आशुतोषले सुनाए । नेपालमा युवाहरुलाई रमाइलो गर्नकालागि नयाँ ठाउँ नभएको भन्दै थप नयाँ प्रोजक्टहरु ल्याउने लक्ष्य रहेको पनि उनले बताए ।

यस वर्ष भित्रमा "द हाउस अफ सेल्फिज" को अर्को शाखा मण्डिखटारमा रहेको जम्प नेपालसँगै खोल्ने उनीहरुको योजना छ । त्यस्तै, जम्प नेपालको झम्सिखेलमा नयाँँ शाखा नयाँ रुपमा संचालन हुने भएको छ ।

उपत्यकाबाहिरका ठुला शहरहरुमा पनि नयाँ शाखा स्थापना गर्न माग भएकाले उपयुक्त स्थान पाएमा संचालन गर्ने उनीहरुको सोंच छ ।

उठ्ला त लगानी ?

लगानी उठ्ने विषयलाई हाल त्यति धेरै प्राथमिकता नदिएको उनको भनाई छ । द हाउस अफ सेल्फिजको समूहकालागि ग्राहकको सन्तुष्टि महत्वपूर्ण रहेको छ । "ग्राहक सन्तुष्ट भएमा मात्र व्यापार लङ रनमा जान्छ र त्यसपछि फाइदा स्वत : होला !", आशुतोष मुस्काउँछन् ।

आशुतोष न्यौपाने प्रमुख व्यवस्थापक भएरै "द हाउस अफ सेल्फिज" को व्यवस्थापन गरिरहेका छन् । यो घर तयार पार्न आशुतोष र उनको समूहलाई करिब ९ महिना समय लाग्यो । सो समयमा विभिन्न प्राविधिक कठिनाई भोग्नुपरेको उनको अनुभव छ ।

नेपालमा नयाँ व्यवसाय गर्न सजिलो नभएको भन्दै आशुतोषले अनुभव बाँड्छन् । व्यवसाय गर्न केहि नयाँ र पृथक काम नै गर्नुपर्ने उनको धारणा छ । "सानै लगानीबाट सुरु गरे पनि सम्भव छ तर अनुसन्धान गर्ने, योजना बनाउने र बजेट तय गर्नुपर्छ," उनी जोड दिन्छन् ।

हालसम्म आएको सकारात्मक प्रतिक्रियाका कारण "द हाउस अफ सेल्फिज" समूह उत्साहित भएको छ । तर ग्राहकको टिप्पणीलाई स्विकारेर सिक्दै जाने, गल्ती सच्याउने र अब आउने नयाँ "द हाउस अफ सेल्फिज" परिस्कृत बनाउन आफूहरु प्रतिबद्ध रहेको उनी बताउँछन् ।