त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार १५५ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ९ हजार २९५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको अधिकृत पूँजी १५ करोड रुपैयाँ, जारी पूँजी १० करोड ३१ लाख रुपैयाँ र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ ।
सर्वसाधारणलाई ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।
आईपीओ निष्काशन पश्चात संस्थापकको ६७.८९५ प्रतिशत र सर्वसाधारणको ३२.१०५ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
आईपीओमा कसरी दिने आवेदन?
लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता अर्थात १० हजार रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा साउन २४ गते देखि साउन २९ गते बैकिङ्ग समयसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे भदौ ७ गतेसम्म म्याद थप हुनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
मध्यम जोखिम जनाउने रेटिङ्ग
लघुवित्तको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपाल लिमिटेडले ‘केयरनपी डबल बी माइनस इन्युअर’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत मध्यम जोखिम रहेको जनाउँछ ।
लघुवित्तलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपालले २०७८ कार्तिक २५ गते रेटिङ्ग प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि एक वर्ष अर्थात २०७९ कार्तिक २५ गतेसम्म कायम रहनेछ ।
कस्तो संस्था हो?
विपन्न तथा पिछडिएका समुदायको आर्थिक सामाजिक तथा चेतना विकासका लागि २०५२ कार्तिक १२ गते स्थापना भएको धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र मार्फत २०५७ साल देखी नेपाल राष्ट्र बैंकबाट वित्तीय करोबार गर्ने इजाजत प्राप्त गरि लघुवित्त कार्यक्रम संचालन गर्दै आईरहेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७५ असार १९ गते दर्ता गरि नेपाल राष्ट्र बैंकबाट २०७५ माघ २८ गतेदेखि वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको थियो ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृत प्राप्त गरी राष्ट्रिय स्तर कार्यक्षेत्र भएको “घ” वर्गको वित्तीय संस्थाको हैसियतले २०७५ फागुन १ गते देखी धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट करोबार सञ्चालन गर्दै आइरहेको छ ।
यस लघुवित्त वित्तीय संस्थामा धाैलागिरी सामुदायिक स्राेत विकास केन्द्र र प्रभु बैंक लिमिटेड आधारभुत शेयरधनीहरू रहेका छन् ।
लघुवित्तकाे रजिष्टर्ड कार्यालय बाग्लुङ्ग नगरपालिका–२ बाग्लुङ्गमा रहेको छ । २०७८ चैत मसान्तसम्म यस लघुवित्त वित्तीय संस्थाले ४४ वटा शाखा कार्यालयहरु र २ वटा सम्पर्क कार्यलयहरु स्थापना गरी लघुवित्त कारोबार गर्दै आइरहेको छ । लघुवित्तले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृत लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोलि वित्तीय कारोबार गर्न समेत सक्ने जनाएको छ ।
यस लघुवित्त वित्तीय संस्थाको निक्षेपकर्ताको हक हितको संरक्षण र सम्वर्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दाे वित्तीय मध्यस्थता सेवा उपलव्ध गराउने उदेश्य राखेको छ ।
दुई वर्षमा सञ्चित नाफा करिब १६ करोड पुर्याउने
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा १५ करोड ८१ लाख ९४ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ । गत आर्थिक २०७८/७९ मा पनि लघुवित्तले ६ करोड १६ लाख ८८ हजार रुपैयाँ सञ्चित मुनाफा आर्जन अनुमान गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा लघुवित्तले १० करोड १८ लाख ८३ हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले २ करोड ५९ लाख ८५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ २९३ रुपैयाँ ४९ पैसा र प्रतिशेयर आम्दानी ७० रुपैयाँ २ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ ८८ पैसा र प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ४० पैसा पुग्ने लघुवित्तको अनुमान छ ।
आईपीओ निष्काशन गर्नुको उद्देश्य
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन अनुसार सर्वसाधारणलाई शेयर वितरण गर्नु परेको लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नु परेको जनाएको छ । त्यस अनुसार संस्थाले चुक्ता पूँजीको ३२.१०५ प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेर चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुर्याउन लागेको हो ।
लघुवित्तले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवंम आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्न र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उदेश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न आईपीओ निष्काशन गर्नु परेको जनाएको छ ।
लघुवित्तले आईपीओ निष्काशन गरी संकलन भएको ३ करोड ३१ लाख रुपैयाँ मध्ये पशुपालन तथा कृषि कर्जामा २ करोड लाख रुपैयाँ, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा ५० लाख रुपैयाँ, साना तथा घरेलु उद्योग कर्जामा ५० लाख रुपैयाँ र भौतिक पूर्वाधार तथा शाखा विस्तारमा ३१ लाख रुपैयाँ लगानी गर्ने जनाएकाे छ ।
सञ्चालक समितिमा को को छन्?
लघुवित्त वित्तीय संस्थाको नियमावली अनुसार सञ्चालक समितिमा ७ जना रहने व्यवस्था रहेको छ । समितिमा संस्थापक शेयरधनीको तर्फबाट चार जना, सर्वसाधारण शेयरधनीबाट २ जना र स्वतन्त्र सञ्चालक १ जना हुने प्रावधान रहेको छ ।
सञ्चालक समितिको अध्यक्षमा ईश्वर लाल राजभण्डारी रहेका छन् । अध्यक्ष राजभण्डारीसँग करिब १७ वर्ष लघुवित्त तथा सामाजिक क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।
यस्तै सञ्चालक समितिमा सदस्यहरुमा सिर्जना थापा, हरिप्रसाद शर्मा, डा. सुदर्शन सिलवाल र उत्तम कुमार राजभण्डारी रहेका छन् ।
हाल लघुवित्तको सञ्चालक समितिमा रहेका ५ जना नै संथापक शेयरधनीहरु रहेका छन् । आईपीओ निष्काशन पश्चात भने नियमावली अनुसार सञ्चालक नियुक्त हुने लघुवित्तले जनाएको छ । सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ ।
लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भने मिन बहादुर बोहरा रहेका छन् । सिइओ बोहरासँग लघुवित्त क्षेत्रमा करिब २२ वर्षको कार्यानुभव रहेको छ ।
भावी योजना तथा रणनीति
लघुवित्त वित्तीय संस्थाले आफ्नो व्यवसाय तथा सेवा वृद्धिको लागि ग्राहकको आवश्यकता अनुसार सेवा विस्ता गराउनदै लाने रणनीति लिएको छ ।
लघुवित्तले आर्थिक वर्ष २०८०/८१ सम्ममा कर्जा विस्तार तर्फ ३ अर्ब ७ करोड २३ २३ लाख २ हजार रुपैयाँ र बचत संकलन तर्फ १ अर्ब ७३ करोड ६५ लाख ९५ हजार रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।
सेवाग्राहीको संख्यामा वृद्घि गर्दै आगामी तिन आर्थिक वर्ष सम्ममा करिब ५० हजार सेवाग्राहीे संख्या पुर्याउने, आफ्ना शाखा विस्तारको हिसाबले निक्षेप संकलन तथा कर्जा प्रवाह गर्ने लघुवित्तको योजना रहेको छ ।
भविष्यमा समेत ग्राहकहरुबाट माग भए बमोजिमका सेवा सुविधाहरु आफ्ना ग्राहक वर्गमा पुर्याउन प्रयत्नरत रहने, वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरी सेवाग्राहीहरुको संख्यामा वृद्धि गर्दै लगिने, समग्र कर्जाको गुणस्तरलाई उच्चस्तरमा राख्ने र कर्जा तथा सापटमा प्राप्त हुने प्रतिफललाई उच्च राख्न कर्जा लगानीमा विविधिकरण गर्ने लघुवित्तको रणनीति रहेको छ ।