आक्रोशित हुँदै फेरि बालेन शाह अल्फाविटा पुगे र अनधिकृत संरचना हटाउन थाले

Aug 25, 2022 04:10 PM Merolagani

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) आक्रोशित हुँदै फेरि अल्फाविटा कम्प्लेक्समा पुगेर अनधिकृत संरचनाहरु हटाउन थालेका छन् । काठमाडौं महानगरपालिका भित्रका अनधिकृत संरचनाहरु हटाउने अभियानलाई तीव्रता दिएका मेयर शाह पुनः अल्फविटा पुगेका हुन् ।

बिहीबार बिहान काठमाडौंको नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित भएका थिए । त्यसक्रममा मेयर शाहले त्यहाँ अनधिकृत रुपमा संचालनमा ल्याइएको फार्मेसी बन्द गर्न निर्देशन दिएलगत्तै कम्प्लेक्सका निर्देशक शर्माले ‘सरकारसँग अनुमति लिएर आफूले सो संरचना बनाइएको’ जिकीर गरेका थिए । त्यसपछि मेयर शाहले ‘नक्सा देखाउन’ शर्मासँग आग्रह गरेका थिए । ‘हजुरसँग हुनुपर्ने’ निर्देशक शर्माको जवाफ थियो । त्यसपछि मेयर शाह ‘तपाईको घरको नक्सा अरुसँग हुन्छ ?’ भन्दै आक्रोशित भएका थिए ।

त्यसलगत्तै निर्देशक शर्माले ‘तपाई हाम्रो जनप्रतिनिधि भएर आवेशमा आएर नबोल्नुस्’ भनेपछि मेयर शाह केही शान्त मोडमा देखिएका थिए । ‘३५ दिने सूचना दिएको र त्यसअवधिमा पनि खाली नभएपछि आफू अनुगमनमा निस्किएको’ उनको भनाई थियो । मेयर शाह र कम्प्लेक्सका निर्देशक शर्माबीच केही समय सवालजवाफ भएको थियो ।

अनधिकृत रुपमा बनाइएका संरचनाहरु खाली गर्न काठमाडौं महानगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । तर, त्यो सूचनाको अवज्ञा भएपछि मेयर शाहले आफ्नै नेतृत्वमा त्यस्ता अनधिकृत रुपमा बनाइएको भौतिक संरचनाहरु हटाउने काम सुरु गरेका हुन् ।

मेयर शाहले अनुमतिविना संचालनमा आएका संरचनाहरु हटाउनका लागि काठमाडौं महानगरका कर्मचारी, सुरक्षाकर्मी र ट्राफिक प्रहरी समेत परिचालन गरेका थिए ।

comments powered by Disqus