तर सर्वसाधरणलाई समेत आईपीओ निष्काशन नगरेका पाँच जीवन बीमा कम्पनीहरुले भने संस्थापकलाई पूँजी थप्न लगाएर भएपनि पूँजी पुर्याउने तयारी थालेका छन् । सिटिजन लाइफ, रिलायवल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी बढाउने तयारी थालेका हुन् ।
त्यसमध्ये आइएमई लाइफ र रिलायवल नेपाल लाइफले मर्जरबिनै न्यूनतम चुक्ता पूँजी पुर्याउने तयारी थालेका छन् । संस्थापक शेयरधनीहरुबाट शत प्रतिशत पूँजी उठाएका दुबै कम्पनीले मर्जरबीनै पूँजी पुर्याउने तयारी थालेका हुन् ।
संस्थापकबाट ५० प्रतिशत पूँजी संकलन गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले भने प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।
रिलायवल नेपालले मर्जर बिनै ५ अर्ब पूँजी पुर्याउने
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीहरूले शत प्रतिशत पूँजी थपेका छन् । कम्पनीको पूँजी वृद्धि गर्ने सम्बन्धमा बीमा समितिबाट भएको निर्देशन बमोजिम जेठ २५ गते सम्पन्न भएको चौथो वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूबाट १ बराबर १ का दरले थप लगानी गर्ने निर्णय गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापक शेयरधनीले शत प्रतिशत पूँजी थपेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
त्यसपछि कायम चुक्ता पूँजीको ४० प्रतिशत १ अर्ब २० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।
त्यसपछि कम्पनीले हकप्रद वा बोनस शेयर वितरण गरेर बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउने कम्पनीको तयारी छ ।
आइएमई लाइफ पनि मर्जर नजाने
आइएमई लाइफ इन्स्योरेन्सले पूँजी थप्ने विषेश प्रस्ताव सहित असोज २६ गते विहान ११ बजे लैनचौर बैङक्वेट्स, लैनचौरमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले संस्थापक शेयरधनीबाट हाल कायम चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी पुनः थप गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकले शत प्रतिशत पूँजी थपेपछि चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।
संस्थापक शेयरधनीले शत प्रतिशत पूँजी थपे पश्चात सर्वसाधारणलाई आईपीओ निष्काशन गरेर कम्पनीले न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउने छ ।
सन नेपाल लाइफलाई मर्जरमा जानै पर्ने
सन नेपाल लाइफ इन्स्योरेन्सले शेयर वापतको ६० प्रतिशत पूँजी थप्न लगाएको छ । कम्पनीको निर्देशन अनुसार संस्थापक शेयरधनीहरुले असार ३० गते भित्र सो बराबरको रकम थप गरेका हुन् ।
पूँजी थप्नु अघि कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको थियो । उक्त पूँजीको ६० प्रतिशत अर्थात ८४ करोड रुपैयाँ पूँजी संस्थापकले थपेपछि २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ ।
सर्वसाधरणलाई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत आईपीओ निष्काशन गरेपनि कम्पनीलाई पाँच अर्ब पूँजी पुर्याउन गह्रो देखिन्छ । समितिको निर्देशन अनुसार पूँजी पुर्याउन कम्पनी मर्जरमा जानै पर्ने देखिन्छ ।
सिटिजन लाइफ पनि मर्जरमा जाने
सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापकलाई ५० प्रतिशत पूँजी थप्न लगाएपनि मर्जर जाने देखिन्छ । कम्पनीको हाल १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । संस्थापकले ५० प्रतिशत पूँजी थपेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ ।
सर्वसाधरणलाई आईपीओ निष्काशन गरेपनि बीमा समितिले तोकिएको न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन समितिलाई गह्रो छ ।
त्यसैले कम्पनीको गत साउन ६ गते सम्पन्न साधारण सभा मर्जर तथा एक्वीजिसन सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ । त्यस अनुसार सिटिजन लाइफ इन्स्योरेन्स मर्जरमा जानै पर्ने बाध्यता रहेको छ ।