बुधबारको कारोबार मूल्यको आधारमा हेर्दा वाणिज्य बैंकको ७ वटा, जलविद्युत समूहको ९ वटा, लगानी समूहको १ र होटल समूहको १ गरी कुल १८ वटा कम्पनीको शेयर मूल्य २ सय मुनि पुगेको हो ।
नेप्से परिसूचक मंगलबार १८३७.६० विन्दुमा बन्द भयो । यो बजार ३२ विन्दुबाट झर्ने क्रममा अहिलेसम्मकै न्युन विन्दु हो । यसअघि असार १० गते नेप्सेले इन्ट्रा डे लो १८०६.९५ विन्दु सम्म पुगेको थियो भने त्यही दिन बजार १८६२.९५ विन्दुमा पुगेर बन्द भएको थियो ।
असार १० गतेको कारोबार अवधिमा १८०६.९५ सम्म झरेको नेप्सेले ३२ कारोबार दिनकै दौरान श्रावण १६ गते २२२४.४९ को विन्दुसम्म पुग्यो । त्यसपछि भने नेप्सेले निरन्तर ओरालो यात्रा गरेर असोज ४ गते पुनः पछिल्लो न्यून विन्दुमा पुगेको छ ।
पछिल्लो न्यून विन्दुबाट बढ्दा उच्च विन्दुसम्म करिब ३२ कारोबार दिनमा नेप्सेले पुग्दा ४१७.५४ को यात्रा तय ग¥यो । अहिले पुनः नेप्से पुरानो न्यून विन्दुमा पुगेको छ । मंगलबार न्यून विन्दुमा पुगेको नेप्सेमा बुधबार ११.२० अंकले वृद्धि भएर १८४८.८० मा पुगेको छ । नेप्से ३२ सयबाट ओरालो लागेर न्यून विन्दुमा कारोबार हुँदै गर्दा वाणिज्य बैंक समूह, जलविद्युत समूह, लगानी समूह र होटल समूहका कम्पनीको शेयर मूल्य भने २०० भन्दा पनि तल झरेको छ ।
नेप्से ११ सयको विन्दुमा रहँदा पनि धेरै वाणिज्य बैंकहरु २ सयकै वरिपरि कारोबार भएकोमा अहिले नेप्से १८ सयको हाराहारी पुग्दा पनि वाणिज्य बैंकको शेयर २०० देखि ३ सयकै बीचमा पाइएको छ ।
हाल नेप्सेको वाणिज्य बैंक समूहमा २५ वटा बैक सुचीकृत रहेकोमा ६ वटा वाणिज्य मर्जर तथा एक्विजिसनमा प्रक्रियामा रहेका कारण ६ वटा बैंकको कारोबार रोक्का रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, सिभिल बैंक, मेगा बैंक र सेन्चुरी कमर्सियल बैंकको कारोबार रोक्का रहेको छ । वाणिज्य बैंक समूहका बैंकमध्ये ७ वटा बैंकको शेयर मूल्य २ सय रुपैयाँ भन्दा तल रहेको छ । वाणिज्य बैंकमध्ये सबैभन्दा न्यून मूल्यमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकको शेयर मूल्यको कारोबार भएको छ । बुधबार यस बैंकको शेयर १८५.५० रुपैयाँमा कारोबार भयो । बैंकको पीइ रेसियो बुधबारको मूल्यमा १०.४१ मात्रै रहेको छ । त्यसैगरी कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक र प्रभु बैंकको शेयर पनि बुधबार २ सय रुपैयाँ भन्दा पनि तल्लो तहमा झरेर कारोबार भयो । चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सबैको प्रति शेयर आम्दानी १४ रुपैयाँदेखि ३९ रुपैयाँसम्म रहेको देखिन्छ । पीइ रेसियो पनि नबिल बैंक बाहेक सबैको २० भन्दा मुनि नै रहेको छ । पीइ रेसियोको आधारमा पनि अहिलेको मूल्य एकदमै न्यून विन्दुमा रहेको देखिन्छ ।
जलविद्युत समूहमा ५७ वटा कम्पनी सुचीकृत रहेकोमा ९ वटा कम्पनीको शेयर मूल्य २०० भन्दा मुनि रहेको छ । पछिल्लो बुलमा जलविद्युत समूहको शेयर मूल्य सबैभन्दा बढी बढको थियो । नेप्से ११ सयको हाराहारीमा हुँदा ५०–६० रुपैयाँमा कारोबार भएका कम्पनी पनि अहिले डेढ सय भन्दा माथि नै कारोबार भइरहेका छन् । हाइड्रोपावर क्षेत्रका धेरैजसो कम्पनीले आफ्नो एजेन्डामा हकप्रद शेयर निष्काशन दिने विषय राखेको हुँदा नेप्से अत्यधिक गिरावट आउँदा पनि यो क्षेत्रको शेयरमा अन्य क्षेत्रको तुलनामा कम गिरावट आएको देखिन्छ । यो समूहको सबैभन्दा न्यून विन्दुमा बुधबार हिमालयन दोलखा हाइड्रोपावर कम्पनीको शेयरको कारोबार १७४.९० रुपैयाँमा भएको छ । कम्पनीको ५२ हप्ताको उच्च मूल्य ४१८ रुपैयाँ रहेको छ भने न्यून मूल्य १६८ रुपैयाँ रहेको छ । आँखुखोला, घलेम्दी, खानीखोला, जोशी, पञ्चकन्या माई जस्ता हाइड्रोपावरका कम्पनीहरु नेप्से ११ सय हुँदा अंकित मूल्य भन्दा पनि तल कारोबार भएको थियो । अहिले नेप्से १८ सयको लाइनमा रहँदा भने १५० देखि २०० को बीचमा कारोबार भइरहेको छ ।
नेप्सेमा सुचीकृत कम्पनीमध्ये उच्च पुँजी भएको हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी बुधबार १७५.८० रुपैयाँमा कारोबार भयो । यो कम्पनीको ५२ हप्ताको उच्च मूल्य ४१३ र न्यून मूल्य १७३ रुपैयाँ रहेको छ ।
२ सय मुनिका कम्पनीको सूचीमा सोल्टी होटल्स पनि परेको छ । सोल्टी होटल्स बुधबार १९८ रुपैयाँमा कारोबार भयो । नेप्सेमा सुचीकृत सबै कम्पनीको अंकित मूल्य १०० प्रति कित्ता रहे पनि सोल्टी होटल्सको मात्रै प्रति कित्ता शेयर मूल्य १० रुपैयाँ मात्रै रहेको छ।