एकाघर परिवारको शेयर नामसारी कसरी गर्ने, कति लाग्छ शुल्क ?

Oct 06, 2022 06:00 AM Merolagani

एकाघर परिवारको नाममा रहेको शेयर अर्को व्यक्तिको नाममा कसरी नामसारी गर्ने भन्ने सम्बन्धमा धेरै लगानीकर्ताहरु अन्योलमा परेको देखिन्छ । जसले गर्दा अंशबण्डा र मुत्युपछि गरिने शेयर नामसारीमा समस्या देखिने गरेको लगानीकर्ताहरुको गुनासो छ ।

शेयर लगानीकर्ताले घरयासी र मृत्यु नामसारीका लागि आफूले हितग्राही खाता खोलेको लाइसेन्स प्राप्त निक्षेप सदस्य (डीपी) बाट नै आवश्यक प्रक्रिया पूरा गरेर नामसारी सेवा लिनसक्ने छन् ।

घरायसी, अंशबण्डाबाट प्राप्त हुने वा शेयरधनीको मृत्युपछि एकाघरको परिवारमा शेयर नामसारी गर्नका लागि हकवालाले आवश्यक विवरण सहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यको कार्यालयमा गएर आवश्यक शुल्क सहित निवेदन दिनुपर्ने हुन्छ ।

जसमा शेयर नामसारी गर्नका लागि नामसारी लिने र दिने दुवै नागरिकताको प्रतिलिपि, नाता प्रमाणित हुने प्रमाणपत्रको प्रतिलिपि र मञ्जुरीनामा सहित डिपि कार्यालयमा उपस्थित हुनुपर्ने हुन्छ ।
मृत्यु पश्चात् हुने शेयर नामसारीका लागि भने मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतकको नागरिकताको प्रमाणित प्रतिलिपि र हकवालाको नागरिकताको प्रमाणित प्रतिलिपि, नाता प्रमाणित प्रमाणपत्र तथा उल्लेखित सम्पूर्ण हकवालाको नागरिकताको दुई दुई प्रति प्रतिलिपि आवश्यक पर्नेछ । अंशबण्डामा पनि नाता प्रमाणित गर्ने सम्पूर्ण कागजात डिपि कार्यालयमा बुझाउन पर्ने हुन्छ ।

मृत्यु पश्चात हुने नामसारीका लागि भने अन्य कसैको हकदाबी हुन सक्ने भन्दै सिडिएससीको वेभसाइटमा ३५ दिने सूचना प्रकाशित गरेर समय प्रदान गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र हक हस्तारण हुनेछ ।

यसरी आवश्यक पर्ने कागजात सहित निवेदकले दिएको निवेदन तथा संलग्न कागजात रुजु गरि डिपीले सिडिएससीको प्रणालीमा दर्ता गराउँछ । यसरी प्रणालीबाट उपलब्ध हुने विवरण सहित डिपी सदस्यले निवेदन तथा आवश्यक सम्पूर्ण कागजात सहित सिडिएससीमा पेश गर्नेछ ।

यसैगरी अभौतिक शेयरको हस्तान्तरणका लागि शेयर नामसारी गरिदिन चाहेको व्यक्तिको शेयर रहेको खाताको विवरण सहित र भौतिक रुपमा रहेको शेयर हस्तान्तरणका लागि शेयरको प्रमाणपत्र सहित आफ्नो हितग्राही खाता रहेको निक्षेप सदस्यकोमा निवेदन दिनु पर्ने हुन्छ । यसरी निक्षेप सदस्यबाट प्राप्त हुने निवेदन र कागजातको आवश्यक जाँचबुझ गरि उपयुक्त देखिएमा सिडिएससीले हक हस्तान्तरण गर्दछ ।

यसरी हक हस्तान्तरण गर्दा भौतिक रुपमा शेयर रहेको भए हस्तान्तरण हुने शेयर अभौतिक रुपमा निवेदकको खातामा जम्मा गरिदिन सूचीकृत संस्था र सो संस्थाको शेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।

शेयर नामसारी गर्दा लाग्ने शुल्क

घरयासी वा अंशबण्डाबाट गरिने हक हस्तान्तरणको लागि शेयरको चुक्ता रकमको दुई प्रतिशत वा न्यूनतम २०० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।

शेयरधनीको मृत्यु भएपछि हकवालामा पर्ने एक लाख रुपैयाँसम्मको शेयर हस्तान्तरणका लागि न्यूनतम २५ रुपैयाँ वा एक लाखको ०.५ प्रतिशतले हुने अधिकतम ५ सय रुपैयाँसम्म बुझाउनुपर्ने हुन्छ । त्यस्तै एक लाखदेखि पाँच लाखसम्म न्यूनतम ५ सय रुपैयाँ वा ०.२ प्रतिशतका दरले अधिकतम एक हजार रुपैयाँसम्म शुल्क तिनुपर्ने हुन्छ ।

शेयरको चुक्ता रकम पाँच लाख भन्दा माथि १० लाख रुपैयाँसम्म रहेको शेयरको हक हस्तान्तरणका लागि न्यूनतम एक हजार रुपैयाँ वा चुक्ता रकमको ०.१५ प्रतिशतले हुन आउने अधिकतम एक हजार ५ सय रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ ।

यसैगरी चुक्ता रकम १० लाख भन्दा माथिको मृत्यु नामसारी गर्नका लागि न्यूनतम एक हजार ५ सय वा चुक्ता रकम अनुसारको ०.१ प्रतिशतले हुन आउने बराबरको रकम हक हस्तान्तरण शुल्क वापत निक्षेप सदस्यलाई बुझाएर नामसारी गर्नुपर्ने हुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।