सप्लाई चेन व्यवसायको उत्कृष्ट नमुना ‘मुम्बई डब्बावाला’

Dec 21, 2022 05:19 PM Merolagani



के तपाईंले कहिल्यै मुम्बई सहरको भ्रमण गर्नुभएको छ? यदि छ भने,तपाईले एउटा विशेष कुरा याद गर्नु भएको हुनुपर्छ कि कोही मानिसहरु साइकलमा धेरै डब्बाहरु झुण्ड्याएर हतारमा हिडिरहेको देख्न सकिन्छ। जसलाई स्थानीयले ‘डब्बावाला’ भन्दछन्।

‘डब्बावाला’ वा ‘डब्बावाले’ वास्तवमा भारतको मुम्बई शहरमा काम गर्ने सरकारी र गैर–सरकारी कर्मचारीहरूलाई खाजा पुर्‍याउने काम गर्ने मानिसहरूको समूह हो।

यी व्यक्तिहरूले धेरै मेहनत, समर्पण र समय योजनाको साथ आफ्नो काम पूरा गर्छन्।

मुम्बईमा ‘डब्बावाला’ कहिले र कसरी सुरु भयो?

एक शताब्दी अघि, सधैं व्यस्त मुम्बईमा, जब मानिसहरू बिहान अफिस र संस्थाहरूमा जानुपथ्र्यो, घरमा चाँडै खाना पकाउन गाह्रो थियो, किनकि त्यहाँ न ग्यास चुलो थियो न प्रेसर कुकर।

दिनभरको व्यस्त जीवनका कारण कर्मचारीलाई थकानको सामना गर्नुका साथै स्वास्थ्यमा समेत असर परेको थियो।

विशेष गरी मुम्बईका अन्य गाउँ तथा शहरहरूबाट काम गर्न आउने मानिसहरू घरमा जस्तै पौष्टिक खाना पाउन धेरै संघर्ष गर्नु परेको थियो।

मानिसहरुको यही आवश्यकतालाई ध्यानमा राख्दै उनीहरुलाई समयमै स्वास्थकर खाना उपलब्ध गराउन ‘डब्बवाला’ उपक्रम सुरु गरिएको हो।

भनिन्छ लगभग १२५ वर्ष पहिले, एक पारसी बैंकर थिए। उनी आफ्नो अफिसमा पनि घरमा पकाएको खाना चाहन्थे र पहिलो पटक उनले डब्बावालालाई यो जिम्मेवारी दिएका थिए। धेरैले यो अवधारणा मन पराए र चाँडै डब्बा डेलिभरीको माग बढ्यो।

मुम्बई डब्बावाला प्रणाली कसले सुरु गर्यो?

सन् १८९० मा महादु हावजी बाच्चे नामक व्यक्तिले मुम्बईमा ‘नूतन टिफिन’ सुरु गरेर यो व्यवसायको सुरुवात गरेका थिए, जसलाई ‘डब्बवाला’ वा ‘डब्बावाले’ को परिचय पायो।

सुरुमा डब्बा डेलिभरी एक अनौपचारिक र व्यक्तिगत प्रयास थियो, तर दूरदर्शी महादु हवजी बाच्चेले यसको भविष्यका फाइदाहरू बुझे र खाजा दिन थाले। डब्बावालहरूको काम घरदेखि अफिससम्म डब्बा लैजाने थियो।

सुरुमा यो काम १०० ग्राहकमा मात्र सीमित थियो। तर शहर विस्तार भएसँगै डब्बा डेलिभरीको माग पनि बढ्न थाल्यो। अहिले करिब ५ हजार डब्बावालाले २ लाख मानिसलाई डब्बा पुर्याउने कार्य गर्दछन्।

पहिले, डब्बाहरु पुर्याउनका लागि केवल साइकलहरू प्रयोग गरिन्थ्यो, तर समय बित्दै जाँदा, मुम्बई लोकल ट्रेन र अन्य सवारीहरूको सहयोगमा डब्बाहरू पनि ढुवानी गरिन्छ।

डब्बावालहरूको परम्परागत पोशाक

जसरी विभिन्न विद्यालय, कार्यालय र संस्थाको फरक–फरक पोशाक हुन्छ, त्यसरी नै डब्बावालहरूको पनि छुट्टै पोशाक हुन्छ।

डब्बावालहरूले सामान्यतया सेतो रंगको कुर्ता–पाजामा, टाउकोमा गान्धी टोपी, घाँटीमा रुद्राक्षको माला र खुट्टामा कोल्हापुरी चप्पल लगाउँछन्।

डब्बावालहरूको यो विशिष्ट पोशाकको उद्देश्य भीडमा फरक देखिनु हुनसक्छ, ताकि डब्बावालहरू अफिस र कारखानामा आइपुग्दा सुरक्षाकर्मीहरूले उनीहरूलाई चिन्न दुःख नहोस्।

मुम्बई डब्बावाला नियम

  • सबै कर्मचारीलाई कामको क्रममा कुनै पनि प्रकारको मादक पदार्थ सेवन गर्न कडाइका साथ निषेध गरिएको छ।
  • डब्बावालाले सधै सेतो टोपी लगाउनु अनिवार्य छ।
  • कुनै पनि कर्मचारीलाई पूर्व सूचना बिना बिदा दिइने छैन।
  • हरेक डब्बावालाले सँधै आफुसँग परिचयपत्र साथमा राख्नु आवश्यक छ।

डब्बावालहरूको अनुशासन र समयनिष्ठता

डब्बावालाले तीन घण्टाको अवधिमा घरदेखि अफिससम्म खाना पुर्‍याउँछन्। यही कडा मेहनतमा हरेक डब्बावाला दैनिक ६० देखि ७० किलोमिटर यात्रा गर्छन्।

मुम्बईमा करिब पाँच हजार डब्बावाले दैनिक दुई लाख टिफिन वितरण गर्छन्। यस सेवाको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको समयमै सही डेलिभरी हो।

मौसम जस्तोसुकै होस्, डब्बावालहरू कहिल्यै ढिला हुँदैनन्। ट्रेन ढिलो वा अन्य कुनै कारणले अफिसमा ढिलो हुन सक्छ, तर डब्बावाला सधैं तपाईंको टिफिन लिएर समयमै आउँछन्।

डब्बावालहरूले दैनिक दुई लाख टिफिन पुर्याउछन्, तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि टिफिन पहिचानमा कहिल्यै कुनै गल्ती हुँदैन।

टिफिनमा कोडिङ्ग यसरी गरिन्छ कि टिफिन जसको हो त्यही व्यक्तिले मात्र पाउँछ। डिलिभरी गर्ने डब्बावालाहरू धेरै शिक्षित छैनन्, तर टिफिन वितरणमा कुनै प्रकारको गडबडीको भएको छैन।

यदि तपाइँ कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा केहि व्यवसाय गर्ने सोच्दै हुनुहुन्छ भने, तपाइँ डब्बावालहरूको काम गर्ने तरिकाबाट धेरै सिक्न सक्नुहुन्छ। ‘डब्बावाला बिजनेस मोडल’ भारतको सर्वोकृष्ट आईआईटी कलेजहरूका साथ–साथै विश्व प्रसिद्ध विश्वविद्यालयहरूमा विद्यार्थिहरूलाई पढाइन्छ।

मुम्बईका डब्बावालहरूले बिजनेसम्यानहरुलाई के शिक्षा दिन्छ?

संसारमा धेरै व्यवसायहरू छन् जुन नयाँ उद्यमीहरूका लागि उपयुक्त छन्। नयाँ उद्यमीहरूले यी आदर्श व्यवसायहरूबाट धेरै कुरा सिक्ने अवसर पाउँछन्। मुम्बई डब्बावाला पनि यस्तो कुशल व्यापार मोडेल हो जहाँबाट नयाँ उद्यमीले धेरै कुरा सिक्न पाउँछन्।

 

१) संकल्प

भारतको मुम्बई सहरमा ५ हजारभन्दा बढी डब्बावाले दैनिक २ लाख डब्बा घरबाट अफिस र अफिसबाट घरसम्म पुर्‍याउँछन्।

मुम्बईको ट्राफिक, लामो दूरी आदिको समस्या भए पनि कुनै प्रविधिबिना नै यति ठूलो संख्यामा टिफिन सजिलै ओसारपसार गरिन्छ।

संकल्प एउटा यस्तो हतियार हो जसको सहाराले कुनै पनि असम्भव कार्यलाई सहज बनाउँछ।

२) समयको महत्त्व

मुम्बईका डब्बावालहरूले समयसीमाभित्र बसेर मात्रै आफ्नो कर्तव्य पूरा गर्छन् र उनीहरूसँग सम्बन्धित व्यक्तिहरू पनि समयको पक्का हुनुपर्छ।

घडीको प्रत्येक सकेन्डको हिसाब राख्ने यी मानिसहरूले बक्स उठाउन र पुर्याउन कहिल्यै ढिलाइ गर्दैनन्। ग्राहकले ३–४ पटक डब्बा फिर्ता गर्न ढिलो गरेमा डब्बावालाले डब्बा उठाउन छोड्छन्।

३) कडा परिश्रम

औसतमा, एक डब्बावाला व्यक्तिले उपयुक्त ठाउँमा प्रति दिन ३५–४० डिब्बाहरू पुर्याउँछन्, जसको तौल लगभग ६० देखि ८० केजी हुन्छ। यति धेरै तौल बोक्न निकै मिहिनेत गर्नुपर्छ, जसका कारण डब्बावाला दैनिक ५०–७० किलोमिटर यात्रा गर्छन्।

४) वितरण रणनीति

खानाको बक्समा अल्फा–न्यूमेरिक कोडिङ हुन्छ, जसमा पहिले ठूलो क्षेत्रको नाम, त्यसपछि रेलवे स्टेशनबाट पुग्ने क्षेत्रको नाम, एरिया, भवन र फ्लोरको जानकारी हुन्छ।

५) निष्ठा

इमान्दारीपूर्वक सेवा प्रदान गर्दै, सबै ग्राहकहरूसम्म खाना नपुगेसम्म उनीहरु आफु खाना खाँदैनन्। डब्बावालाहरू एकै ठाउँमा जम्मा भएर खाना खान्छन्, खानाको समयमा एक डब्बावाला मात्र ढिलो भएपनि बाँकीले ऊ नआएसम्म खाना खाँदैनन्।

(छोटीबडीबाटें डटकमबाट अनुवादित)




comments powered by Disqus

पाकिस्तान र बंगलादेश बीचको ‘ऐतिहासिक सम्झौता’ पछि ओलीसँग यसकारण थप तर्सियो भारत

Nov 17, 2024 06:00 PM

मंसिरको तेस्रो साता तिर हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी जति सुस्त गतिमा भइरहेको छ,त्यो भन्दा धेरै हल्ला भइरहेको छ । प्रधानमन्त्री भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट शुरु गर्ने ‘परम्परा’लाई चुनौति दिँदै ओलीले चीन भ्रमणको तयारी गरेपछि भारतले त्यसलाई विथोल्ने प्रयास गरिरहेको चर्चा कुटनीतिक वृतमा चलिरहेको छ।