तर एभरेष्ट बैंकको भने कर्जा असुली राम्रो भएको र स्प्रेड दर बढ्दा ब्याज आम्दानी समेत बढेकोले बैंकको नाफामा राम्रो बृद्धि देखिन्छ।
- स्प्रेड दर बढ्दा ब्याज आम्दानी ७५ प्रतिशतले बढ्यो
बैंकको स्प्रेड दर बढ्दा उसको खुद ब्याज आम्दानी ७५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब १२ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ।
बैंकको स्प्रेड दर करिब २ प्रतिशत विन्दुले बढेको छ। गत वर्षको पुससम्ममा २.७० प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आर्थिक वर्षको सोहि अवधिसम्ममा ४.३८ प्रतिशत पुगेको छ।
राष्ट्र बैंकले चैतसम्ममा स्प्रेड दर ४.२ प्रतिशतमा झार्न निर्देशन दिएको छ। तर बैंकले नाफा बढाउन चालु आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा झनै बढाएको छ। गत असोजसम्ममा ४.१७ प्रतिशत रहेको बैंकको स्प्रेड दर पुससम्ममा ४.३८ प्रतिशत पुर्याएको छ।
स्प्रेड दर बढ्दा बैंकको खुद ब्याज आम्दानी बढेको छ। स्प्रेड दर भनेको बैंकले निक्षेपमा दिने ब्याज र कर्जामा लिने ब्याजको अन्तर हो। यस्तो दर बढ्दा बैंकहरुको ब्याज खर्चभन्दा ब्याज आम्दानी धेरै हुन्छ जसले गर्दा उनीहरुको नाफा बढ्छ। अहिले १ खर्ब ५७ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले स्प्रेड दर बढाएर ब्याज आम्दानी बढाएको छ। जसले गर्दा उसको नाफा बढ्न सहयोग पुगेको हो।
बैंकले आफ्नो खर्चलाई भने धेरै बढ्न दिएको छैन्। बैंकको कर्मचारी खर्च २८ प्रतिशतले बढेको छ भने अन्य सञ्चालन खर्च १७.२७ प्रतिशतले बढेको छ। तर खर्चको तुलनामा बैंकको आम्दानी धेरै बढेको छ।
बैंकको कुल सञ्चालन आम्दानी ४६ प्रतिशतले बढेको छ। बैंकको यस्तो आम्दानी २ अर्ब ९१ करोड रुपैयाँबाट बढेर ४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।
अन्य बैंकको खराब कर्जा उच्च दरमा बढेको भए पनि एभरेष्ट बैंकले खराव कर्जा बढ्न नदिँदा उसको नाफामा असर परेको छैन। अन्य बैंकको खराब कर्जा बढेर नाफा प्रभावित भएको भए पनि एभरेष्ट बैंकले भने खराब कर्जा बढ्न दिएको छैन्। उसको खराब कर्जा १ प्रतिशतभन्दा तल नै छ।
गत वर्षको दोस्रो त्रैमासमा ०.२६ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक वर्षको सोहि अवधिमा ०.५५ प्रतिशत पुगेको छ। बैंकको कर्जा असुली राम्रो हुँदा उसको खराब कर्जा बढेको छैन्।
बैंकले सम्भावित कर्जा जोखिमबापत पनि धेरै रकम छुट्याउनु परेको छैन। गत वर्षको दोस्रो त्रैमासमा ४० करोड ७७ लाख रुपैयाँ सम्भावित कर्जा जोखिम बापत छुट्याएकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३६ करोड ६६ लाख रुपैयाँ छुट्याएको छ।
राष्ट्र बैंकले यस अवधिमा हरेक कर्जामा १.३० प्रतिशत रकम सम्भावित जोखिम बापत छुट्याउनु पर्ने व्यवस्था गरेको थियो। यसअघि सम्भावित जोखिम बापत १ प्रतिशत मात्रै रकम छुट्याउदा हुने व्यवस्था थियो। राष्ट्र बैंकले सम्भावित जोखिम बापत छुट्याउनु पर्ने रकम बढाएको भए पनि बैंकको यस्तो रकम धेरै बढेको छैन्।
- अहिलेको नाफालाई निरन्तरता दिन सके ५० प्रतिशत भन्दा बढी लाभांश दिनसक्ने क्षमता
बैंकले दोस्रो त्रैमाससम्म कमाएको नाफालाई निरन्तरता दिन सके आगामी वर्ष ५० प्रतिशतभन्दा धेरै लाभांश वितरण गर्नसक्ने क्षमता बनाउने भएको छ।
पुस मशान्तसम्ममा बैंकले कुल २ अर्ब ८४ करोड रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। यस अनुसार बैंकले अहिले ५३ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।
बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ६८ पैसा पुगेको छ भने नेटवर्थ २२१ रुपैयाँ ३९ पैसा पुगेको छ।