विद्युत बिक्री आम्दानीसँगै घट्यो सानिमा माई हाइड्रोपावरको नाफा

Feb 06, 2023 02:47 PM Merolagani



सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ५० करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ५७ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीले २२ मेगावाटको माइ हाइड्रोपावर प्लान्टबाट ३७ करोड ८५ लाख रुपैयाँ र ७ मेगावाटको माइ क्यासकेड हाइड्रोपावर प्लान्टबाट १२ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ।

१५.६ मेगावाटको माई जलविद्युत आयोजनाको पोस्टेड रेट फेसिलिटी एग्रिमेन्ट र प्रतिकुल हाइड्रोलोजिकल अवस्थाका कारण कम्पनीको विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ।

विद्युत बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ११.४ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २ पैसाबाट घटेर १० रुपैयाँ ६६ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३२.४६ गुणा रहेको छ।
३ अर्ब ८ करोड ९२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडामा १ अर्ब ११ करोड ६ लाख रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड ८४ लाख रुपैयाँ रहेको छ।

कम्पनीले सो अवधिसम्ममा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सानिमा मिडिल तमोर हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्यत हाइड्रोपावर, बाबरी कन्स्ट्रक्सन प्रा.लि. र सानिमा जुम हाइड्रोपावरमा कुल १ अर्ब ७४ करोड ७ लाख रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।