वैशाख २ देखि ३३ ब्रोकर कम्पनीले नयाँ टिएमस टेस्ट गर्ने, मोबाइलबाटै कारोबार,के छन् अरू नयाँ फिचर ?

Mar 17, 2023 06:09 AM Merolagani



सुवास निरौला

लामो समयदेखि नयाँ टिएमएसको पर्खाइमा रहेका लगानीकर्ताको पर्खाइ आउने वैशाख देखि सकिने  भएको छ।

नयाँ टिएमएस ल्याउने अन्तिम तयारी गरिरहेका ब्रोकर कम्पनीहरूले वैशाख देखि नयाँ टिएमएसको पर्खाइ सकिने बताएका हुन्। वैशाख १ गते नयाँ वर्षको बिदा हुने भएकोले दुई गतेको मिति राखिएको हो। “वैशाखबाट टेस्ट गर्ने अन्तिम तयारीमा छौ” नेपाल स्टक ब्रोकर एसोसिएसनका निवर्तमान अध्यक्ष सन्तोष मैनालीले मेरो लगानी सँग भने।

टेस्टसँगै लगानीकर्तालाई नयाँ टिएमएस चलाउन दिने/नदिने विषयको टुङ्गो भने लागि सकेको छैन।  “टेस्ट मै सर्वसाधारणलाई सहभागी गराउने वा नगराउने भन्ने विषय नेप्सेको तजबिजीमा भर पर्छ। प्रविधि मार्फत मात्रै टेस्ट गर्दा शतप्रतिशत एक्युरेसी आउन गाह्राे हुन्छ। त्यसले गर्दा केही निश्चित मानिसहरूलाई पनि सहभागी गराउन अनुमति पायौँ भने सर्वसाधारणलाई पनि सहभागी गराउन हामीलाई कुनै अप्ठ्यारो छैन। सहभागी गराउने वा नगराउने भन्ने कुरा नेप्सेकै निर्णयमा भर पर्छ” मैनालीले भने।     

मैनालीका अनुसार ३३ कम्पनीले नयाँ टिएमएस सेवा दिने छन्। श्रीलङ्काको आइरन वान टेक्नोलोजीको ट्रेड म्यानेजमेन्ट सिस्टम ‘टिएमएस’ ब्रोकर कम्पनीले ल्याउने छन्। जसकोलागि ब्रोकर कम्पनीहरूले भेन्डर कम्पनी डिजी हबलाई जिम्मा दिएका छन्। भेन्डर कम्पनीले यति बेला टिएमएस कष्टमाइज गर्ने काम गरिरहेको छ। कष्टमाइज गर्नकोलागि भेन्डर कम्पनीले उत्पादक कम्पनीलाई पहिलो किस्ता बापतको रकम समेत पठाइ सकेको छ।

केही समय अघि भेन्डर कम्पनीले उत्पादन गर्ने कम्पनीलाई पैसा पठाउने विषयले नयाँ टिएमएस ल्याउने प्रक्रिया केही समय अवरुद्ध भएको थियो। नेपालबाट ठुलो रकम पैसा पठाउन सजिलो छैन। जसको लागि नेपाल राष्ट्र बैंकले अनुमति दिनु पर्छ। त्यसको लागि धितोपत्र बोर्ड र स्टक एक्सचेन्जले सहजीकरण गरिदिएपछि भेन्डर कम्पनीले श्रीलङ्का पैसा पठाएको हो।  

नेपालमा ल्याउन लागिएको नयाँ टिएमएसमा इन्ट्रा डे,डेरिभेटिभ,अक्सन मार्केट लगायतका सबै फिचर हुने छन्। तर ती सबै चलाउने अवस्था भने छैन। किनकि त्यसमा भएका फिचर चलाउने कानुनी आधार छैनन्। त्यही भएर अहिलेलाई ती फिचर बन्द नै रहने बताइएको छ।

तर सर्वसाधारणले पुरानो टिएमएस भन्दा केही अलग फिचर पाउने छन्। जुन अहिलेको टिएमएसमा छैन। नयाँ टिएमएसमा मोबाइल एपबाटै ट्रेडिङ गर्न मिल्ने छ। अर्कोतर्फ सूचिकृत कम्पनीका डाटाहरू त्यही उपलब्ध हुने छ। टेक्निकल र फन्डामेन्टल एनालाइसिस गर्नेहरुकालागि उक्त फिचर सहयोगी हुने छ। जुन अहिलेको टिएमएसमा उपलब्ध छैन।

३३ ब्रोकर कम्पनीसँगै नासा सेक्युरुटिज पनि नयाँ टिएमएस मार्फत सेवा दिने तयारी गरिरहेको छ। उसलाई पनि नेप्सेले नयाँ टिएमएस ल्याउने अनुमति दिई सकेको छ। नेप्सेले दिएको अनुमति अनुसार प्रविधि र कार्यालय तयारी अवस्थामा रहको जनाउ नासाले नेप्सेलाई दिइसकेको छ।

नेप्सेले गर्ने निरीक्षण र दिने स्वीकृतिको आधारमा नासाले आफ्नो प्रक्रिया अघि बढाउने छ। नासा ३३ ब्रोकर कम्पनीले भन्दा पनि पहिले सेवा उपलब्ध गराउने गरी अघि बढिरहेको छ। उसले भारतीय कम्पनीको उत्पादन गरेको टिएमएस मार्फत सेवा उपलब्ध गराउने छ।

३३ ब्रोकर कम्पनी र नासा दुवै कसले पहिले सेवा दिने भन्ने दौडमा छन्। जस कारण आउने वैशाख पछि लगानीकर्ताले नयाँ टिएमएस चलाउन पाउने सम्भावना बलियो छ। जसले पहिले सेवा उपलब्ध गराए पनि लगानीकर्ताको भने नयाँ टिएमएस चलाउने सपना पुरा हुने छ। 




comments powered by Disqus