शेयर बजारमा सफल हुनु छ भने 'सकुनी' जस्तै हुनुपर्छ नत्र 'युधिष्ठिर' भइन्छः आनन्दकुमार भट्टराईकाे विचार

Mar 20, 2023 06:40 PM merolagani



आनन्दकुमार भट्टराई

महाभारतमा युधिष्ठिर पासाको खेलमा पत्नी द्रौपदीलाई समेत हार्न पुगे । उनले हारे किनकी उनलाई खेल्न आउदैन थियो तर चुनौती अश्वीकार गर्न सक्ने अवस्था पनि थिएन ।

त्यहाँ युधिष्ठिरले जुवा खेलेका थिए, किनकी खेलको बारेमा पर्याप्त ज्ञान नभई खेल्नुलाई जुवा नै भनिन्छ र हार निश्चित हुन्छ ।

तर, उही खेलमा सकुनीले भने जुवा नभई खेल खेलिरहेका थिए । किनकी उनलाई खेलको बारेमा पुरा ज्ञान थियो र आफैमा पुरा विश्वास थियो की मनै जित्छु भनेर ।

शेयर बजारमा पनि जसले जानेर बुझेर बजारको सामान्य सिद्धान्त अनुसार लगानी गर्छ उ सफल र विजेता हुन्छ तर युधिष्ठिरले जस्तो खेल्न नजाने पनि अरुको लहै लहैमा जथाभावी लगानी गर्दै गयो भने त्यस्तो लगानीकर्तालाई डुब्नबाट कसैले बचाउन सक्दैन ।

तर, सबै लगानीकर्ता अथवा आम ब्यक्तिलाई शेयर बजारको सबै पक्षको ज्ञान नहुन सक्छ । समयाभावको कारणले कतिपय ब्यक्ति शेयर बजारको समुचित ज्ञान हासिल गर्न सक्ने अवस्थामा  रहदैनन् तर लगानी गर्नको लागि भने चाहना रहन्छ । चाहना हुँदा हुँदै पनि त्यस्ता ब्यक्तिले लगानी डुब्ने हो की भन्ने डरले लगानी नगरि बसेका हुन्छन् । त्यस्ता शेयर बजारका सम्भावित लगानीकर्ता तथा बजार जोखिमबाट आफूलाई सुरक्षित राख्ने लगानीकर्तालाई लक्षित गरेर नै शेयर बजारमा ब्यवस्ठित लगानी योजनाको शुरुवात भएको हो ।

 ब्यवस्ठित लगानी योजना भनेको के हो

ब्यवस्ठित लगानी योजना,जसलाई अंग्रेजीमा सिस्टमेटिक ईन्भेष्टमेन्ट प्लान ( एसआईपी) भनिन्छ, त्यस्तो लगानी योजना हो जसमा एउटा निश्चित समयको अन्तरालमा थोरै थोरै रकम म्यूचुवल फण्डको ईकाईमा लगानी गरिन्छ । यसमा मासिक, द्वैमासिक वा त्रैमासिक रुपमा  एक निश्चित मितिमा आफूले तय गरेको निश्चित रकम  म्यूचुवल फण्डको ईकाई खरिदमा लगानी गरिन्छ । लगानीकर्ता यस्तो योजनामा जुन सुकै बेला प्रवेश गर्न सक्छन् तथा आफूले चाहेको समयमा सहजै कुनै अतिरिक्त शुल्क तथा झंझट बिनानै बाहिरिन सक्छन् जबकी अर्को तर्फ बैंकको मुद्दतीमा राखेको रकम समय अगावै झिक्न पर्यो भने अतिरिक्त शुल्क भुक्तानी गर्नु पर्ने हुन्छ ।

 म्यूचुवल फण्डको ईकाईमै किन लगानी गर्ने

म्यूचुवल फण्डको ईकाईमा लगानी गर्नु भनेको स्टक मार्केटमा लगानी गर्ने एउटा उत्तम उपाय हो । म्यूचुवल फण्डले विभिन्न किसिमका शेयर, डिबेन्चर तथा मुद्दती खातामा लगानी गर्ने हुनाले लगानीकर्ताको लगानीको विविधिकरण राम्ररी भएको हुन्छ । साथै, म्यूचुवल फण्डमा लगानी गर्दा लगानीकर्ता स्वयमले बिभिन्न शेयरमा लगानी गर्नु पर्ने आवश्यकता पर्दैन ।

एउटा निश्चित समयको अन्तरालमा थोरै थोरै रकम लगानी गर्ने हो भने म्यूचुवल फण्डको ईकाईमै किन लगानी गर्ने,  कुनै राम्रो स्टक छानेर त्यसमा लगानी गर्दा पनि त हुन्छ भन्ने प्रश्न पनि उठ्न सक्छ र त्यो स्वभाविक पनि हो । तर यहाँ बुझ्नु पर्ने कुरा के छ भने म्यूचुवल फण्डको ईकाईमा न्युनतम रु. १०००/- समेत लगानी गर्न सकिन्छ तर कुनै राम्रो स्टक उक्त रकममा खरिद गर्नै नपाईने हुन सक्छ । त्यस्तै आज राम्रो भनिएको स्टक सधैं राम्रो नै हुन्छ भन्ने हुँदैन । विगतमा ८/९ हजार पुगेको बैंकिग क्षेत्रका शेयर मूल्य अहिले रु. ६००/- भन्दा कम रहेको तीतो यथार्थ सबैलाई थाहा भएकै हो । अर्को तर्फ कतिपय राम्रा कम्पनी जसको शेयर मूल्य तथा कारोवार समेत राम्रै हुन्थ्यो आज शेयर बजारमा तिनको अस्तित्वनै गुमनाम छ जसले गर्दा त्यस्ता कम्पनीमा लगानी गरेका लगानीकर्ताको रकम डुबेको अवस्थालाई स्वीकार गर्नुको विकल्प छैन ।

म्यूचुवल फण्डको ईतिहास हाम्रो मुलुकमा लामो नभए पनि अहिलेसम्म कुनै पनि म्यूचुवल फण्डको अस्तित्व हराएर लगानीकर्ताको रकम डुबेको उदाहरण छैन । यसको मुख्य कारणमा थोरै रकम भएका लगानीकर्ताले पनि शेयर बजारको फाईदा उठाउन सकुन भन्ने उद्देश्यले साना लगानीकर्ताबाट आईपियोको माध्यमबाट सानो सानो रकम उठाएर नियामकबाट तय भए बमोजिम मुद्दती,डिवेन्चर तथा सुचिकृत विभिन्न कम्पनीको स्टकमा लगानी गर्नु पर्ने हुनाले फण्डले लगानी गरेको कुनै कम्पनी एक्कासी डुबी हालेमा पनि फण्डको सबै लगानी डुबी हाल्ने अवस्था हुँदैन ।

अर्को तर्फ म्यूचुवल फण्ड संचालन गर्ने कम्पनीमा विज्ञहरु हुने भएकाले जथाभावी लगानीको संभावना एकदमै न्यून हुनुको साथै लगानीकर्तालाई लाभांश दिनु पर्ने नैतिक दायित्व वहन गर्न ब्यक्तिगत लगानीकर्ता जसरी लोभमा नपरी समय समयमा प्रोफिट बुक गर्ने कार्य पनि निरन्तर भई रहने भएकोले यस्तो फण्ड डुब्ने अवस्था रहदैन ।

 यस्तो योजनामा किन लगानी गर्ने

प्रत्येक ब्यक्तिको आफ्नो एउटा सपना हुन्छ । कसैको जग्गा खरिद गर्ने सपना हुन्छ भने कसैको घर बनाउने त्यस्तै कसैको मोटर साईकल वा कार खरिद गर्ने सपना हुन्छ भने कसैको विदेश घुम्ने सपना हुन्छ । बढी रकम आवश्यक पर्ने यस्ता सपना पुरा गर्न एकैपटक रकम जुटाउन गाह्राे पर्दछ । तर एउटा निश्चित अन्तरालमा एक निश्चित रकम म्यूचुवल फण्डको ईकाईमा लगानी गरेमा आफ्नो त्यस्ता सपनाहरु सहजै पुरा गर्न सकिन्छ ।

म्यूचुवल फण्ड आफैमा लगानीको एउटा उत्तम विकल्प भए तापनि यस्तो ईकाईमा एकै पटक लगानी नगरी हरेक महिना एउटा निश्चित रकम लगानी गर्दै गएमा दीर्घकालमा यसले राम्रो प्रतिफल दिनेमा कुनै शंका रहदैन ।

 ब्यवस्ठित लगानी योजनामा लगानी गर्ने कारणहरु

  •  थोरै रकमबाट लगानी शुरुवात गर्न सकिने
  • अनुशासित रुपमा लगानी गर्ने बानी पर्नु
  • खरिद गरिएको ईकाईको औसत मूल्य घटदै जानु
  • लगानी रकमको सिमा तथा समय अन्तराल आफूले चाहे जस्तो परिवर्तन गर्न सकिने
  • बचतलाई ब्यवस्थित गर्न सकिने
  • बजारमा हुने उतार चढावबाट चिन्तित हुनु नपर्ने
  • पुर्ण रुपमा सुरक्षित
  • मार्केटको टाईमिङ्गबाट चिन्तित हुनु नपर्ने
  • कम्पाउण्डिङ्गको फाईदा लिन सकिने

 ब्यवस्ठित लगानी योजना कस्तो म्यूचुवल फण्डको ईकाईमा गर्ने

हाम्रो देशमा अहिले बन्दमुखी र खुलामुखी गरि दुई किसिमको म्यूचुवल फण्ड संचालनमा छन् । निश्चित अवधिको लागि संचालित म्यूचुवल फण्डलाई बन्दमुखी भनिन्छ भने निश्चित अवधि नतोकी निरन्तर संचालन भइरहने म्यूचुवल फण्डलाई खुलामुखी भनिन्छ ।

ब्यवस्ठित लगानी योजना लामो समयको लागि गरिने सुरक्षित लगानीको एउटा उत्तम विकल्प हो। त्यसैले, लामो अवधिको लागि संचालनमा रहने म्यूचुवल फण्डमा लगानी गर्नु उपयुक्त हुन्छ । बन्दमुखी म्यूचुवल फण्ड एउटा निश्चित अवधि ( ५/७/१० वर्ष) को लागि संचालनमा रहने हुनाले त्यस्ता म्यूचुवल फण्ड परिपक्व हुने बेलामा यदि बजार वियरिस ट्रेण्डमा भएमा म्यूचुवल फण्डले आफूसंग भएको शेयर घटेकै मूल्यमा विक्री गर्नु पर्ने बाध्यताले गर्दा लगानीकर्ताले आफ्नो लगानीको उपयुक्त प्रतिफल प्राप्त गर्न  सक्दैनन् । त्यसैले, यस्तो बन्दमुखी योजनामा  ब्यवस्ठित लगानी गर्नु उपयुक्त हुँदैन ।

अर्को तर्फ, खुलामुखी योजना निरन्तर चलि रहने हुनाले  बजार वियरिस ट्रेण्डमा गएको बेलामा बन्द मुखी म्यूचुवल फण्डलाई जस्तै विक्री गर्नु पर्ने बाध्यता रहदैन अपितु यस्तो बेलामा न्याभ घटेको अवस्थामा रहने भएकोले लगानी गरिने निश्चित रकमले धेरै ईकाई खरिद गर्न सकिन्छ ।

 बन्दमुखी र खुलामुखीम्यूचुवल फण्डमा रहेको भिन्नता

बन्दमुखी म्यूचुवल फण्ड एउटा निश्चित अवधि पछि परिपक्व हुन्छ भने खुलामुखी म्यूचुवल फण्ड निरन्तर चलिरहन्छ ।

बन्दमुखी म्यूचुवल फण्ड दोश्रो बजार अर्थात नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत खरिद गर्नु पर्ने हुन्छ भने खुलामुखी म्यूचुवल फण्डको ईकाई  फण्ड म्यानेजर मार्फत मात्र खरिद गर्न सकिन्छ ।

खुलामुखी म्यूचुवल फण्ड खरिद गरे पछि फण्ड म्यानेजरद्वारा तोकिएको निश्चित समय अगावै विक्रि गरेमा विक्रि रकमको एउटा निश्चित प्रतिशत शुल्क(वहिर्गमन लागत/ एक्जीट लोड) तिर्नु पर्छ ।

खुलामुखी म्यूचुवल फण्ड खरिद विक्री गर्न स्टक ब्रोकरमा खाता खोल्नु पर्दैन जसले गर्दा नवागन्तुक तथा समय दिन नसक्ने लगानीकर्ताको लागि यो एकदमै उपयुक्त हुन्छ ।

 कुन खुलामुखी म्यूचुवल फण्डमा लगानी गर्ने

हाम्रो देशमा अहिले ६/७ वटा खुलामुखी म्यूचुवल फण्ड संचालनमा रहेका छ्न । ती मध्ये शुरुवातका तीन वटाको यहाँ विश्लेषण गरिएको छ । ती हुन्

  • एनआईबिएल सहभागिता फण्ड
  • एनआईसि एशिया डाईनामिक डेब्ट फण्ड र
  • सिद्धार्थ सिस्टमेटिक ईन्भेष्टमेन्ट स्कीम

यी मध्ये कुन स्किममा लगानी गर्ने भन्ने कुरा निर्क्योल गर्नु पूर्व संचालन लागत तथा वहिर्गमन लागत (एक्जीट लोड) को विबेचना गर्नु उपयुक्त हुन्छ ।

 

सि.नं.

स्कीमको नाम

ब्यवस्थापन शुल्क

वहिर्गमन शुल्क

अवधि

 

एनआईबिएल सहभागिता फण्ड

१.२५ प्रतिशत

१.५० – ० प्रतिशत

६ महिना – २ वर्ष

 

एनआईसि एशिया डाईनामिक डेब्ट फण्ड

१.५० प्रतिशत

१.५० – ० प्रतिशत

६ महिना – २ वर्ष

 

सिद्धार्थ सिस्टमेटिक ईन्भेष्टमेन्ट स्कीम

१.५० प्रतिशत

१.५० – ० प्रतिशत

३ वर्ष

 

यी तिन वटै स्कीमका युनिट खरिद गरि विक्री गर्दा समय अन्तराल अनुसार तिर्नु पर्ने वहिर्गमन लागत (एक्जीट लोड) देहाय बमोजिम रहेको छ ।

 

सि.नं.

वहिर्गमन अवधी

वहिर्गमन शुल्क (एनआईबिएल सहभागिता फण्ड)

वहिर्गमन शुल्क (एनआईसि एशिया डाईनामिक डेब्ट फण्ड)

वहिर्गमन शुल्क (सुद्धार्थ सिस्टमेटिक ईन्भेष्टमेन्ट स्किम)

 

६ महिना भित्र

१.५० प्रतिशत

१.५० प्रतिशत

 

 

६ महिना – १२ महिना

१.२५ प्रतिशत

१.२५ प्रतिशत

 

 

१२ महिना – १८ महिना

१.०० प्रतिशत

१.०० प्रतिशत

 

 

१८ महिना – २४ महिना

०.७५ प्रतिशत

०.७५ प्रतिशत

 

 

२४ महिना उप्रान्त

कुनै शुल्क नलाग्ने

कुनै शुल्क नलाग्ने

 

 

३६ महिना भित्र

 

 

१.५० प्रतिशत

 

३६ महिना उप्रान्त

 

 

कुनै शुल्क नलाग्ने

 

कुन स्किममा ब्यवस्ठित लगानी गर्ने भन्ने कुरा लगानीकर्ताले आफ्नै स्वबिबेकले निर्णय लिनु पर्ने हुन्छ । तर त्यस्तो निर्णय लिनु पूर्व कुन स्किमको ब्यवस्थापन शूल्क कम छ भन्ने बिचार गर्नु पर्छ । त्यस्तै वहिर्गमन शुल्क र अवधिलाई पनि निर्णयको आधार बनाउनु पर्छ । कहिले काँही लगानीकर्तालाई आफ्नो युनिट बिक्री गरेर लगानी फिर्ता लिनु पर्ने हुन्छ त्यस्तो अवस्थामा वहिर्गमन शुल्क बढि तिर्नु पर्दा लगानीकर्ता पक्कै पनि खुसी हुँदैदन् । साथै वहिर्गमन अवधि लामो हुनु पनि उपयुक्त हुँदैन । साथै त्यस्तो योजना संचालन गर्ने मर्चेन्ट बैंकले विगतमा आफ्नो अन्य योजनामा कस्तो प्रतिफल दिएको छ लाई पनि आधार बनाउनु पर्छ ।अतः यी सबै तथ्यहरुको विश्लेषण गरेर मात्र ब्यवस्ठित लगानी कुन स्किममा गर्ने भन्ने निर्णय लिनु पर्छ ।

 कस्तो लगानीकर्ताको लागि यो उपयुक्त हुन्छ

बिभिन्न कार्यालय, विध्यालय, कलेज र साना तथा खुद्रा ब्यापारिहरुको लागि यो अतिनै उपयुक्त हुन्छ । यी क्षेत्रका लगानीकर्तालाई संधैभरी नेप्सेको स्क्रिनमा हेरेर शेयरमा लगानी गर्ने समय हुँदैन भने अर्को तर्फ शेयर बजारको बारेमा तथा शेयरको कुन मूल्य उपयुक्त हो भन्ने आकलन पनि यिनले गर्न सक्दैनन् ।

अर्कोतर्फ दिनहुँ कारोवार गर्ने लगानीकर्ताको लागि यस्तोमा गरिएको लगानीले सुरक्षाको अनुभुति दिलाउँछ । जसरी लगानीकर्ताले आफ्नो सबै रकम शेयरमा मात्र लगानी नगरी बैंकको मुद्दती खाता, ऋणपत्र, सुन चाँदीमा समेत लगानी गरि लगानी विविधिकरण गर्नु पर्छ त्यसैगरी शेयरमा गरिने लगानी मध्ये केही रकम ब्यवस्ठित लगानी योजनामा समेत लगानी गर्नु सुरक्षाको दृष्टिकोणले उपयुक्त मानिन्छ ।

 न्यूनतम रु. १०००/- मात्र पनि लगानी गर्न सकिने भएकोले सन्तान जन्मने बितिकै आफ्नो आर्थिक अवस्था अनुसार सन्तानको नाममा यस्तो योजनामा सहभागी भएमा ब्रतबन्ध, अध्ययन तथा बिबाह जस्तो समयमा केही भए पनि भरथेग हुन्छ ।

 राम्रो फाईदा लिन के गर्ने

खुलामुखी म्युचुवल फण्डको न्याभ दैनिक गणना गरिन्छ । आज बेलुका गणना गरिएको न्याभको मुल्यमै भोली ईकाई खरिद गर्न सकिन्छ । त्यसैले जुन दिन बजार ठूलो अंकले ओरालो लागेको हुन्छ त्यस दिन बेलुका गणना हुने न्याभ पनि घटेको अवस्था हुन्छ । अतः त्यसरी घटेको न्याभमा अतिरिक्त ईकाई खरिद गर्न सकियो भने आफुसंग भएको कूल ईकाईको मूल्य औसतीकरण ( कस्ट एभरेजिगं ) भई भविष्यमा राम्रो प्रतिफल पाउन सकिन्छ ।

 

 

 

(भट्टराई अर्थ मन्त्रालयका अवकाश प्राप्त उपसचिव हुन्)

email: anandakbhattarai@gmail.com

(नोटः माथिको विश्लेषण लेखकको नीजि विचार । यसैको आधारमा शेयर खरिद विक्रि गर्नु भन्दा पहिले आफैले पनि विश्लेषण गरि निर्णय लिनु राम्रो मानिन्छ ।)

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।