अन्तिम दिनसम्ममा सगरमाथा जलविद्युतको आईपीओमा १४ लाख बढीको आवेदन, ३ लाख ५८ हजार १७५ जनाले मात्रै शेयर पाउने

Mar 26, 2023 05:25 PM Merolagani



सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि आज १२ गतेसम्म  निष्काशन गरेको आईपीओमा  १४ लाख भन्दा बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिन (आइतबार) साँझ ५ः०३ बजेसम्ममा १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ३५ लाख ८१ हजार ७६० कित्ता शेयरको ४.४८ गुणा बढी हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो ।

सोको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने सर्वसाधारणलाई बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ता शेयर मात्रै वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ३ लाख ५८ हजार १७५ जनाले मात्रै शेयर पाउनेछन् ।