घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

May 31, 2023 07:03 AM Merolagani



घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले बैशाख १९ गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी ३ अर्ब ९७ करोड १९ लाख ६०० रुपैयाँको १ प्रतिशत अर्थात ३ करोड ९७ लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले ३ लाख ९७ हजार १९० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो शेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८,१९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको मुल उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ३ लाख ५३ हजार ५०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ४० हजार, पीपीसी सिमेन्ट क्षमता ३ लाख ३० हजार र पीएससी सिमेन्ट क्षमता ५० हजार मेट्रिक टन रहेको छ। त्यसैगरी, इकाई उद्योगको वार्षिक क्लिङ्कर उत्पादन क्षमता ५ लाख ८५ हजार ९०० मेट्रिक टन रहेको छ भने वार्षिक ओपीसी सिमेन्ट क्षमता २ लाख ९० हजार, पीपीसी सिमेन्ट क्षमता १ लाख २० हजार र पीएससी सिमेन्ट क्षमता ९० हजार मेट्रिक टन रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ४ वर्ष ८ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ८ वर्ष ५ महिना रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, घोराही सिमेन्ट इण्डष्ट्री, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक र ज्योति विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।