१५ दिनको म्याद राखेर निष्कासन खुला गरिएको दुवै आरक्षित शेयरको निष्कासनमा माग गरे बमोजिम आवेदन परेन। श्रमिकको हकमा निष्कासन म्याद थप गर्ने प्रावधान नभएको कारण उनीहरूको निष्कासन १५ दिनमै बन्द गरियो भने प्रभावित क्षेत्रका स्थानीयको लागि थप १५ दिन म्याद थप गरियो। थप गरिएको १५ दिनमा समेत स्थानीयको मन पग्लिएन। स्थानीयले पहिलेदेखि नै कम्पनीको विरोध गर्दै आइरहेका थिए। खासगरी उनीहरूले उद्योगले वातावरण प्रदुषण गरेको कारण उद्योगलाई नै अन्तै सार्नु पर्ने माग पहिलेदेखि नै राख्दै आइरहेका थिए। यही मेसोमा कम्पनीको निष्कासनमा सहभागिता जनाउँदा त्यसमा वैधानिकता दिएको जस्तो देखिने भन्दै उनीहरूले निष्कासन बहिस्कार अभियान नै चलाए। जसको प्रभाव निष्कासन बिक्रीमा प्रत्यक्ष पर्यो। जसको परिणाम स्वरूप उनीहरूलाई आरक्षित गरिएको करिब ८१ प्रतिशत शेयर बिक्री भएन। स्थानीय प्रभावितलाई तीन लाख ९७ हजार १९० कित्ता आरक्षित गरिएको थियो। जसमा स्थानीयले ७७ हजार दुई सय ९० कित्ता मात्रै शेयर किने। जुन माग अनुसार १९.४५ प्रतिशत मात्रै हो।
उता श्रमिकले बहिस्कार जस्तै गरेको शेयर यता श्रमिकले समेत पुरै किनेनन्। उनीहरूले पनि माग गरेको भन्दा १९.६५ प्रतिशत कम किने। श्रमिकको लागि सात लाख ५४ हजार ६६१ कित्ता शेयर आरक्षण गरिएको थियो। जसमा ६ लाख ६ हजार ३५० कित्ता शेयर मात्रै बिक्री भयो। जुन माग भन्दा १९.६५ प्रतिशत कम हो।
घोराहीको शेयरलाई स्थानीयले बहिस्कार गर्नुको एउटा वातावरण प्रदुषण कारण थियो भने श्रमिकले थोरै नकिन्नुलाई खासै ठुलो मान्नु पर्ने स्थिति देखिँदैन। तर यही मेसोमा सबैभन्दा बढी घोराहीकै कर्मचारीले आफ्नै कम्पनीको शेयर पाँच प्रतिशत पनि किनेनन्। कम्पनीले आफ्ना कर्मचारीलाई तीन लाख ७७ हजार ३३१ कित्ता शेयर आरक्षित गरेको थियो। कर्मचारीले जम्मा जम्मी १९ हजार ५३० कित्ता मात्रै किने। जुन ५.१७ प्रतिशत मात्रै हो।
कम्पनीका कर्मचारीले नै शेयर नकिनेको सुइँको पाएपछि सामूहिक लगानी कोषले समेत मन खोलेर शेयरमा लगानी गरेनन्। उनीहरूले समेत आरक्षित शेयर भर्ने रुचि देखाएनन्। यस पटक म्युचुअल फण्डलाई आरक्षित गरिएको शेयर समेत बिक्री भएन। उनीहरूलाई आरक्षित गरिएको शेयर ८७.१८ प्रतिशत मात्रै बिक्री भयो। जुन पहिलो पटक भने होइन। यस अघि शिवम् सिमेन्टको निष्कासनमा पनि दुई मात्रै कोषले शेयर किनेका थिए भने बाँकीले शेयर किनेका थिएनन्। तर शिवम् सिमेन्टको पालामा आरक्षित शेयर नकिनेका कोषहरूले पछि पब्लिकको लागि इस्यु गर्दा भने आवेदन गरेका थिए।
आरक्षित शेयर समेत नकिन्ने अवस्था आउनुमा दुई कारण हुन सक्ने शेयर बजारका जानकार बताउँछन्। जसमा कम्पनीको भ्यालुएसन ठिक छैन वा कम्पनीले निर्धारण गरेको मूल्य अहिलेको अवस्थामा जायज छैन। अर्को कारण भनेको लगानीकर्तासँग यति बेला पैसा नभएकोले आवेदन नपरेको हुन सक्ने ती जानकारको भनाई छ।
तर शेयर बिक्री नभए पनि कम्पनीले बिक्री नभएको सबै आठ लाख ७४ हजार ३८२ कित्ता शेयर मिसाएर कुन ६९ लाख ११ लाख ६७० कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गर्दै छ। उसले जेठ ३२ गतेदेखि प्रिमियममा आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्कासन गर्नेछ। निष्कासित आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिने छ। निष्कासन छिटोमा असार ४ गते बन्द हुनेछ भने ढिलोमा असार १४ गते हुने छ।