यस वर्ष बैंकहरुको कर्जाको बृद्धिदर दशक यताकै न्युन हुने, व्यवसाय विस्तार कम हुँदा नाफा बढाउन सकस

Jun 07, 2023 06:30 PM Merolagani

चालु आर्थिक वर्षमा बैंकहरुको कर्जाको बृद्धिदर दशक यताकै न्युन हुने देखिएको छ। हालसम्मको कर्जाको बृद्धिदर हेर्दा यस वर्ष कर्जाको बृद्धिदर निकै कम हुने देखिएको हाे।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको भएपनि हालसम्म ३ प्रतिशत पनि कर्जा लगानी हुन सकेको छैन। राष्ट्र बैंकको लक्ष्य अनुसार चालु आर्थिक वर्षमा ५ खर्ब ६० अर्ब रुपैयाँ कर्जा विस्तार हुनु पर्ने भए पनि हालसम्म १ खर्ब १५ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएको अवस्था छ। अहिले चौथो त्रैमासमा पनि कर्जाको माग खासै नरहेको बैंकरहरु बताउछन्।

गत आर्थिक वर्षको असार मशान्तसम्ममा बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो। जेठ २२ गतेसम्ममा पनि बैंकहरुको कर्जा लगानी ४२ खर्ब ९९ अर्ब रुपैयाँ मात्र पुगेको छ। करिब ११ महिनामा बैंकहरुको कर्जा लगानी १ खर्ब १७ अर्ब रुपैयाँ मात्रै रहेको छ।

अहिले बैंकहरुको सिडि रेशियो हेर्दा बैंकहरु कर्जा लगानी गर्न सहज अवस्थामा नै देखिएका छन्। गत सोमबारसम्मको तथ्याँक अनुसार बैंकहरुको सिडि रेशियो ८४.४९ प्रतिशत रहेको छ। तर केहि बैंकको पूँजीकोषमा दबाब पर्ने डरले कर्जा लगानीमा इच्छुक देखिएका छैनन्। अर्कोतर्फ कर्जाको माग पनि न्युन छ।

तरलता अभाव, महँगो ब्याजदर र राष्ट्र बैंकको कडाइले गर्दा रोकिएको कर्जा लगानी अझै सुरु हुन सकेको छैन। अहिले एकातर्फ व्यवसायीले ठुला कर्जाको माग गरेका छैनन् भने अर्कोतर्फ केन्द्रिय बैंकले गरेको कडाइले गर्दा बैंकहरु पनि कर्जा लगानीमा सेलेक्टिभ भएका छन्। अहिले अर्थतन्त्र मन्दीतर्फ गएकोले पनि कर्जा लगानी गर्दा डुब्ने हो कि भन्ने चिन्ता बैंकरहरुमा देखिन्छ। यसले गर्दा पनि उनीहरुले नयाँ कर्जा लगानी गर्न चाहिरहेका छैनन्।

अहिले नै पूँजीकोष दबाबमा रहेको बेला आगामी आर्थिक वर्षदेखि केन्द्रिय बैंकले काउन्टर साइकलिङ्ग बफर लागु गर्ने घोषणा गरेको कारणले पनि बैंकहरुको पूँजी कोषमा थप दबाब पर्ने छ।

हालसम्मकाे तथ्याँक अनुसार चालु आर्थिक वर्षमा ५ प्रतिशत पनि कर्जा बृद्धि हुन कठिन हुने बैंकरहरु बताउछन्। यो भनेको एक दशकभन्दा धेरै अवधिपछिको न्युन बृद्धि हो।

  • कुन वर्ष कति थियो कर्जाको बृद्धिदर?

नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुको कर्जाको बृद्धिदर १३.१ प्रतिशत थियो। आर्थिक वर्ष २०७७/७८ मा यस्तो बृद्धिदर २६.४ प्रतिशत थियो। कोभिडको समयमा बैंकहरुमा अधिक तरलता थुप्रिएको कारण पनि बैंकहरुले जथाभावी कर्जा लगानी गर्दा सो आर्थिक वर्षमा कर्जाको बृद्धिदर उच्च भएको देखिन्छ।

यसैगरी आर्थिक वर्ष २०७६/७७ मा कर्जाको बृद्धिदर १२.६ प्रतिशत थिययो भने २०७५/७६ मा १९.०६ प्रतिशत, २०७४/७५ मा २२.५ प्रतिशत, २०७३/७४ मा १८.०२ प्रतिशत र २०७२/७३ मा २३.७ प्रतिशतशतले बढेको थियो। आर्थिक वर्षको २०७२/७३ मा पनि भुकम्पपछि बैंकहरुमा अधिक तरलता थुप्रिदा कर्जाको बृद्धिदर उच्च भएको देखिन्छ।

आर्थिक वर्ष २०७१/७२ मा बैंकहरुको कर्जा लगानी १७.५ प्रतिशतले बढेको थियो भने २०७०/७१ मा १४.४ प्रतिशत र २०६९/७० मा १८.६ प्रतिशत रहेको थियो।

पछिल्लो एक दशकको तथ्याँक हेदा बैंकहरुको कर्जाको बृद्धिदर १२ प्रतिशतभन्दा धेरै नै रहेको देखिन्छ तर चालु आर्थिक वर्षमा भने कर्जाको बृद्धिदर निकै कम देखिएको बैंकरहरु बताउछन्।

अहिले बैंकहरुसँग कर्जा लगानी गर्न पर्याप्त तरलता भएपछि कर्जा लगानी बढ्न नसकेको एक बैंकर बताउछन्। "केन्द्रिय बैंकले मौद्रिक नीतिमा साढे १२ प्रतिशत ग्रोथ गर्ने भनेपनि त्यसको आधा पनि कर्जा लगानी हुँदैन," ती बैंकरले भने "अझै केहि समय बैंकहरुको कर्जा विस्तार न्युन रहन सक्छ।"

अहिले पूँजीकोषमा रहेको दबाब तथा खराब कर्जा बढेको र व्यवसायको अवस्था समेत ठिक नभएको कारणले कर्जाको बृद्धि कम हुने उनी बताउछन्। "१०-१५ वर्षको तथ्याँक हेर्दा जब निजी क्षेत्रको कर्जाको बृद्धिदर एम-२ भन्दा तल जान्छ त्यसपछाडिको समयमा कर्जाको बृद्धिदर बढेर गएको देखिन्छ," उनले भने "अब कर्जा लगानी बढ्नुपर्ने हो तर क्यापिटल एडुकेसि रेशियो केहि दबाबमा रहेकोले पनि कर्जा बृद्धिमा असर परेको छ।"

खराब कर्जा बढ्दै गएकोले पनि कर्जाको बृद्धिदर रोकिएको छ भने धेरै व्यवसायीहरु घाटामा हुन सक्ने सम्भावना पनि छ त्यसले गर्दा पनि बैंकहरुको कर्जाको बृद्धिदरमा असर पार्न सक्ने उनी बताउछन्।

व्यवसाय विस्तार कम हुँदा बैंकहरुलाई नाफा बढाउन सकस परेको छ। केन्द्रिय बैंकले स्प्रेड दर पनि घटाउँदै लगेको र अन्य फि तथा कमिसनमा पनि कडाइ गरेकोले व्यवसाय विस्तार कम हुँदा नाफा बढाउन सकस परेको हो। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।