स्थानीय स्तरमा जाने पैसा निक्षेपमा गणना गर्न दिँदा बजार बढेको हो ?

Sep 12, 2023 06:37 AM MeroLagani



  • बाबुकृष्ण महर्जन

अर्थ मन्त्रालयको पहलमा स्थानीय स्तरमा जाने रकम निक्षेपमा गणना दिने बताएपछि शेयर बजार एकाएक सकारात्मक हुन थालेको छ । आइतबारबाट स्थानीय निकायमा जाने रकमको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने भएपछि शेयर बजार पनि आइतबार १० अंक र सोमबार ४४ अंक गरेर कुल ५४ अंकले बढिसकेको छ ।


शेयर बजारका लगानीकर्ताहरु सेबोनले पुँजी बजारमा शेयरको आपूर्ति मात्रै बढाएर माग सिर्जना गर्ने काम नगरेकोले बजार एकोहोरो घटिरहेको बताउँछन् तर स्थानीय स्तरमा जाने रकमलाई निक्षेपमा गणना गर्न दिँदा त्यसले बजारमा सकारात्मक सन्देश नै प्रवाह भएको छ। पूर्वबैंकर एवम् अर्थविद् परशुराम कुँवर क्षेत्रीले स्थानीय स्तरको पैसा निक्षेपमा गणना  गर्न दिँदा त्यसले बैंकको निक्षेप संकलन लागत घट्ने बताए। स्थानीय निकायको पैसा भनेको व्याज तिर्नु नपर्ने पैसा हो त्यो पैसा प्रणालीमा थपिंँदा तरलता बढ्नुका साथै बैंकहरुको बेस रेट घट्ने र यसले अन्ततोगत्वा बैंकहरुको कर्जाको व्याज दर नै सस्तो हुने कुँवरले बताए।

सरकारले स्थानीय स्तरमा जाने पैसालाई गत आर्थिक वर्षमा पनि निक्षेपमा नै गणना गर्न दिएको थियो। चालु आर्थिक वर्षको शुरुवातसँगै प्रणालीमा निक्षेप बढी भएर अन्तर बैंक व्याज दर नै १ प्रतिशत भन्दा मुनि झरेपछि सरकारले स्थानीय स्तरमा जाने रकमलाई निक्षेपमा गणना गर्न नपाइने बनाएको थियो। संघीय सरकारले निकासा दिएर पठाएपछि यो रकम भनेको फेरि केन्द्रीय सरकारले चलाउने पक्कै होइन। संघीय सरकारले ढुकुटीबाट निकासा दिएर स्थानीय निकायमा पठाइसकेपछि बैंकको खातामै रहने तिनीहरुले नै चलाउने हुँदा त्यसलाई निक्षेपमा गणना गर्न दिनु र नदिनुमा खासै तात्विक भिन्नता नरहेको उनले बताए।

अर्का पूर्वबैकर तथा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराईले सरकारले माग सिर्जना गर्ने तवरले गरेको पछिल्लो नीतिगत परिवर्तनले सकारात्मक नतिजा ल्याउने बताए। ‘कल डिपोजिट, लागत शुन्य रहेको स्थानीय स्तरको पैसा जति बढी भयो, त्यति नैं बैकहरुको निक्षेप संकलत लागत घट्ने हुन्छ। त्यसले बैंकहरुको बेस रेट घट्छ। बेस रेटमा केही प्रतिशत रकम थपेर नै कर्जा दिने हुँदा त्यसले कर्जाको दर घटाउन मद्दत गर्छ।’–उनले भने। कर्जाको व्याज दर घट्नु शेयर बजारको लागि सकारात्मक हो किनकि शेयर बजार र व्याज दरबीच उल्टो सम्बन्ध हुन्छ। ऋणको व्याज बढ्दा शेयर बजार घट्ने र ऋणको व्याज घट्दा शेयर बजार बढ्ने हुन्छ। अहिले ऋणको व्याज घट्ने अनुमानका आधारमा शेयर बजार बढेको हो। 

वास्तवमा स्थानीय स्तरको पैसा चलाउने ३–४ वटा मात्रै बैंक छन्। ती बैंकको बेस रेट घट्दा त्यसले समग्र प्रणालीकै औसत बेस रेट घट्न सहयोग गर्छ। सामान्यतया राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैकलगायतको स्थानीय स्तरको पैसा चलाउने बैंकको बेस रेट घटेपछि अरु बैंकलाई पनि ऋणको व्याज दर घटाउन दबाब सिर्जना हुन्छ। अहिले वास्तवमा बैंकमा पैसा फालाफाल छ, अहिलेको अवस्थामा जुन बैंकसँग बेस रेट कम छ, त्यहाँ कर्जा सर्ने सम्भावना बढी रहने हुँदा बैंकहरुले कर्जाको व्याज दर बढाउन नखोज्ने उनले बताए।

पछिल्लो समय बैंकहरुले पनि मार्जिन कर्जामा चासो दिइरहेका छन्। ‘अहिलेको बजार मूल्यमा कर्जा दिँदा बैंकहरुको कर्जा डिफल्ट हुने सम्भावना एकदमै न्यून छ। अहिलेको पुँजी बजारको शेयर मूल्य भनेको झन्डै दुई – साढे दुई वर्ष अगाडिको मूल्य हो। अब यो भन्दा तल जाने सम्भावना छैन। अहिले बैंकहरुसँग यथेष्ट तरलता छ तर अरु क्षेत्रमा कर्जामा माग छैन। शेयर बजारमै पनि एक दुई प्रतिशत प्रिमियममै शेयर कर्जा दिन थालेका छन्।’–उनले भने–‘सरकारले प्रत्यक्ष रुपमा जनतामा पैसा बाँड्ने कुरा त भएन। शेयर बजार चलायमान भयो भने जनताको हातमा पैसा पुग्छ। अहिले माग बढाउने एउटै मात्रै उपाय भनेको शेयर बजार नै हो।’

अहिले व्यापार व्यवसाय त्यति राम्रो भइरहेको छैन। शेयर बजार चलायमान भएर जनताको हातमा पैसा पुग्यो भने त्यसले माग सिर्जना गर्छ। अहिले सामान किनेर स्टकमा राखेको छ, दशैं आउन लागेको छ, सामान बिक्री हुने हो कि होइन टुंगो छैन। कृषकहरुले खसी बोका पालेर राखेका छन्, दशैंमा त्यो बिक्री होला नहोला भन्ने चिन्ता छ। दशैंको बेला त बजार चलायमान हुनुपर्छ। बजार चलायमान गर्न राष्ट्र बैंक र सरकारले ठोस नीतिगत परिवर्तन गर्नुपर्ने आवश्यकता छ। दशैं तिहार भनेको एक वर्षको ४० प्रतिशत व्यापार हुने समय हो। यो बेलामा पनि जनताको हातमा पैसा भएन भने कसरी कारोबार हुन्छ ? यो समयमा पनि कारोबार भएन भने अर्थतन्त्र सिथिल भइहाल्छ नि। यो बेला अर्थतन्त्रलाई सिथिल हुनबाट बचाउन अर्थ मन्त्रालयले अहिले गरेको नीतिगत परिवर्तन एकदम राम्रो निर्णय रहेको उनले बताए। उनले शेयर बजारमा केन्द्रीय बैंकले जुन कसिलो नीति लिएको छ, त्यो नीतिलाई केही समय खुकुलो गर्नुपर्ने बताए। ‘पहिला शेयरको मूल्य उच्च थियो, बजार ठूलो भन्ने तर्क ठिक थियो। अब त बजार एकदमै कमजोर भइसकेको छ त्यसकारण परिवर्तित सन्दर्भमा पुँजी बजारका नीतिहरुमा पनि खुकुलो नीति लिनुपर्छ।’




comments powered by Disqus

एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

Sep 06, 2024 01:45 PM

एभरेष्ट बैंक लिमिटेड (EBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।