तीन कम्पनीको हकप्रदमा आवेदन दिने आइतबार अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन?

Sep 14, 2023 08:14 AM Merolagani



भदौ ३१ गते, आइतबार, तीन कम्पनीले निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ। सो दिन सिनर्जी पावर डेभलपमेन्ट, अरुण काबेली पावर र मल्टीपर्पस फाइनान्सको हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम दिन हो।

सिनर्जी पावर (SPDL) ले भदौ ३ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। सो हकप्रद शेयरमा आवेदन दिन भदौ ३१ गते अन्तिम दिन रहेको छ। निष्काशन अवधिमा पर्याप्त आवेदन नपरेका कारण कम्पनीले भदौ ३१ गतेसम्म म्याद थप गरेको थियो।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार भदौ २७ गते, बुधबार, साँझ ५ बजेसम्ममा कम्पनीको हकप्रद शेयरमा ४२ हजार ५४७ आवेदनमार्फत कुल २४ लाख ४२ हजार ४१७ कित्ता शेयरका लागि आवेदन परेको छ।

कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार हालसम्म कम्पनीको हकप्रद शेयरमा ६१ प्रतिशत आवेदन परेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, अरुण काबेली पावर (AKPL) ले भदौ ११ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको हो।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कम्पनीको हकप्रद शेयरमा बुधबार साँझ ५ बजेसम्ममा ६५ हजार १२५ शेयरधनीहरुले ८१ लाख ३१ हजार ४१७ कित्ताका लागि आवेदन दिएका छन्। कम्पनीको हकप्रद शेयरमा परेको आवेदन कुल निष्काशनको ४४ प्रतिशत हो। बाँकी ५६ प्रतिशत शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिएका छैनन्। ५० प्रतिशतभन्दा कम आवेदन परेका कारण कम्पनीको निष्काशन अवधि थप गर्ने सम्भावना रहेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

मल्टीपर्पस फाइनान्स (MPFL) ले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। फाइनान्सको हकप्रद शेयरमा बुधबार साँझसम्ममा २२ प्रतिशत मात्र आवेदन परेको सिडिएस एण्ड क्लियरिङ्गको रिपोर्टमा उल्लेख छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सो अवधिसम्ममा फाइनान्सको हकप्रद शेयरमा ३ हजार ३६३ शेयरधनीहरुले कुल ३ लाख ४८ हजार ५४ कित्ताका लागि आवेदन दिएका छन्। ७८ प्रतिशत आवेदन पर्न बाँकी रहेका कारण फाइनान्सले पनि निष्काशन अवधि थप गर्ने सम्भावना रहेको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ फाइनान्सले साउन १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।