विद्युतीयको दबदबाले ओझेलमा पेट्रोलियम गाडी, अटो शोमा ५ ओटा मात्रै नयाँ मोडल

Sep 14, 2023 03:07 PM Merolagani

काठमाडौंको भृकुटीमण्डपमा गत भदौ २६ गतेदेखि जारी नाडा अटो शोमा पेट्रोलियम कम्बसन गाडीहरु ओझेलमा परेका छन् । तीन बर्षपछि आयोजना भएको नाडा अटो शोमा विद्युतीय सवारीको दबदबाको कारण इन्धनबाट चल्ने ब्रान्डको चहलपहल कम छ ।

अटोशोमा उपभोक्ता ५० लाख तल मूल्य पर्ने विद्युतीय गाडीमा झुमिएका छन् । जसका कारण पेट्रोलियम गाडीहरुमा अवलोकनकर्ताको चासो कम रहेको नाडाले नै बताउँदै आएको छ ।

विद्युतीय सवारीको बर्चस्वको कारण विगतका बर्षहरु जस्तो कम्बसन गाडीहरुमा उत्साह छैन् । विद्युतीय गाडीको दबदबाको कारण चार ओटा ब्रान्डले मात्रै नाडा अटोशोमा नयाँ गाडी सार्वजनिक गरेका छन् ।

यी कम्पनीले ल्याए नयाँ गाडी

यो पटकको नाडा अटो शोमा धेरै कम्बसन मात्रै बिक्री गर्ने कम्पनीहरु सहभागी हुन चाहेका थिएनन । कारण इन्धनबाट चल्ने प्यासेन्जर गाडीमा उपभोक्ताको रुची नै छैन ।

नेपालमा विद्युतीय सवारीमा माहोल बनेको नाडा अटो शोले प्रष्ट देखाएका छ । अर्को तर्फ बैंकहरुले पनि इभि गाडीको तुलनामा कम्बसन इन्जिन गाडी खरिद गर्दा तीनदेखि चार प्रतिशत नै बढी ब्याज छ । बैंकहरुले ल्याएको प्याकेज पनि इभि तर्फ नै केन्द्रित रहेको कारण कम्बसन गाडी व्यवसायी कम उत्साहित छन् ।

किया स्पोर्टेज

जारी अटोशोमा कियाको आधिकारीक बिक्रेता कम्पनी कन्टिनेन्टल ट्रेडिङले किया स्पोर्टेजको ५ औं जेनेरेशन मोडल ल्याएको छ । स्पोर्टेजको टु ह्वील ड्राइभ सिस्टम सहितको टप भेरियन्ट एक्सलाइन नाडा अटो शोमा प्रदर्शन गरेको हो ।

टु ह्वील ड्राइभ सिस्टम र ६ स्पीड अटोमेटीक गियरबक्समा उपलब्ध नयाँ स्पोर्टेजमा २.० लिटर क्षमताको पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५६ पीएस पावर र १९२ एनएम टर्क प्रदान गर्छ ।

कन्टिनेन्टल ट्रेडिङले १ करोड २५ लाख ९० हजार मूल्य निर्धारण गरेर अटो शोमा यसलाई प्रदर्शनी गरेको हो ।

महिन्द्रा स्कर्पियो क्लासिक

गत दुई महिना अघि महिन्द्र नेपालले स्कर्पियो एन सार्वजनिक गरेको थियो । स्कर्पियो एनलाई पनि नाडा अटोशोमा प्रदर्शन गरेको छ । यस बाहेकक महिन्द्रा स्कर्पियो क्लासिक मोडल पनि ल्याएकाे छ । महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले स्कर्पियो क्लासिकलाई नाडा अटो शो मार्फत बिक्री सुरु गरेको हो ।

नेपाल आएको स्कर्पियो क्लासिकको टप भेरियन्ट हो । यसको मूल्य ८० लाख ५० हजार रुपैयाँ कायम गरिएको छ । महिन्द्राले स्कर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन दिएको छ । यो इन्जिनले १३६ हर्स पावर र ३०० एनएम पीक टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

टाटा एसयूभी पन्च

नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको टाटा पन्च पनि नाडा अटोशोमा देखिएको छ । टाटाको सबैभन्दा सानो एसयूभी पन्च नाडा अटो शोमा सार्वजनिक भएको हो । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले ल्याएको यो गाडीमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ ।

 

यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स उपलब्ध हुनेछ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । यसको सुरुवाती मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ४३ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।

हुन्डाइ एक्सटर

अटोशोमा हुन्डाइ नेपालले ल्याएको नयाँ गाडी हो एक्सटर । हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त इन्धन गाडी एक्स्टर नाडा अटो शोमा सार्वजनिक गरेको हो।

अहिले कम्पनीले दुई वटा भेरियन्ट नेपाल ल्याएको जनाएको छ । एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट पनि छ। यसको मूल्य भेरियन्ट अनुसार ४० लाखदेखि ४४ लाखसम्म पर्ने अनुमान गरिएको छ।

हुन्डाइ गाडीको आधिकारीक वितरक लक्ष्मी समुहले नाडा अटोशोमा हुन्डाई एक्सटर देखाएको छ । ११९७ सिसी इन्जिन क्षमताको यो गाडीमा ४ सिलिन्डर र ४ भल्भ छ। म्यानुअल ट्रान्समिसन रहेको यो गाडीले ६००० आरपिएममा ८१.८० बिएचपी पावर र ४००० आरपिएममा ११३.८ एनएम टर्क जेनेरेट गर्छ।

निसान म्यागनाइट एएमटी

अटोशोमा निसान नेपाले बजारमा धेरै रुचाइएको निसान म्यागनाइटको अल न्यू भेरियन्ट अटोमेड म्यानुअल ट्रान्समिसन (एएमटी) लाई पनि उतारेको छ । निसान गाडीको अधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले ल्याएको यो गाडीको मूल्य ४५ लाख ८५ हजार रहेको जनाएको छ।

निसान म्यागनाइटको नयाँ एएमटी गाडी पाँच मुख्य भेरियन्टमा उपलब्ध छन्। पुरानो १.० लिटर बि४डी पेट्रोल म्यान्यूअल ट्रान्समिसन र १.० लिटर एचआरएओ टर्बो पेट्रोल म्यान्यूअल ट्रान्समिसनमा उपलब्ध म्यागनाइट विभिन्न ११ भेरियन्टमा छ।

यसमा पेट्रोल इन्जिनले ६ हजार २५० आरपीएममा ७२ पिएस पावर र ३ हजार ५०० आरपीएममा ९६ एनएम टर्क उत्पादन गर्छ। यसको डिजेल इन्जिनले ५ हजार आरपीएममा १०० पिएस पावर र २ हजार ८०० देखि ३ हजार ६०० आरपीएममा १६० एनएम टर्क उत्पादन गर्छ।

सुजुकीले जिम्नी र फ्रोनेक्स

नेपालमा नाडा अटाशो अघि नै सार्वजनिक भएको भएपनी नाडा अटोशोमा सुजुकी जिम्नी र फ्रोनेक्सले उपभोक्ताको ध्यान खिचेका छन । त्यस्तै सुजुकीको स्टलमा नयाँ ब्रेजा तथा ग्रान्ड भिटारालाई पनि प्राथमिकता दिइएको छ।

 

सुजुकीका जिम्नी र फ्रोन्क्सले अटो शो अवलोकन गर्न आउनेको ध्यान खिचिरहेको छ। सीजी मोटोकर्पले एसयूभी जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रूपैयाँ र फोन्क्सको सुरुवाती मूल्य ३९ लाख ९९ हजार रूपैयाँ रहेको छ।

comments powered by Disqus