डिम्याटको लागि पहिलो रोजाइ बैंक र क्यापिटल, ब्रोकर टप २० मा समेत परेनन्, कुन डिपिमा कति डिम्याट खाता ? (लिस्ट सहित)

Sep 18, 2023 06:24 AM Merolagani

सुवास निरौला

सबैभन्दा बढी डिम्याट(हीतग्राही) खाता खोल्ने प्रतिस्पर्धामा एनआइसी एसिया क्यापिटलले सबैलाई जितेको छ। कुल डिम्याट खातामा ११ प्रतिशत भन्दा बढी खाता खोल्दै एनआइसी एसिया क्यापिटलले सबै निक्षेप सदस्यहरूलाई उछिनेको हो।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)का अनुसार गत बिहीबारसम्म ५९ लाख ८० हजार तीन सय २७ डिम्याट खाता खुलेका छन्। जसमा एनआइसि एसिया क्यापिटल एक्लैले ६ लाख ८२ हजार पाँच सय ४० खाता खोलेको छ। जुन कुल खाताको ११.४१ प्रतिशत हो। त्यसैगरी दोस्रोमा ग्लोबल आइएमई क्यापिटल छ। उसले चार लाख ५६ हजार आठ सय २७ खाता खोलेको छ। जुन कुल खाताको ७.६४ प्रतिशत हो।

अहिलेसम्म ९६ कम्पनीले निक्षेप सदस्यको काम गर्ने भन्दै सिडिएससीबाट अनुमति लिएका छन्। अनुमति लिएका मध्ये १९ वटाले मात्रै एक लाख भन्दा बढी खाता खोलेका छन्। एक लाख भन्दा बढी खाता खोल्नेमा बैंक र क्यापिटल मात्रै छन्। सुरुवातदेखि नै ब्रोकर कम्पनीले निक्षेप सदस्यको काम गर्दै आएको भएपनि कुनै पनि ब्रोकर कम्पनीले अहिलेसम्म एक लाख भन्दा बढी खाता खोल्न सकेका छैनन्। कम्पनीगत खाताको विवरण अनुसार आम सर्वसाधारणले सबैभन्दा पहिले डिम्याट खाताको लागि बैंक र क्यापिटल रोज्ने गरेका छन्। डिम्याट खाता खोल्नेको सङ्ख्यामा बैंक र क्यापिटल अघि देखिएपनि दोस्रो बजारको कारोबारमा भने उनीहरूको सक्रियता कम देखिन्छ। दोस्रो बजारमा कारोबार गर्नेहरूले भने ब्रोकर कम्पनी कै डिपि रोज्ने गरेका छन्। शेयर बिक्री गरेपछि इडिआइएस गर्नु पर्ने हुन्छ। जुन ब्रोकर कम्पनी मार्फत शेयर किनबेच गर्ने हो त्यही ब्रोकर कम्पनीको निक्षेप सदस्य मार्फत खाता खाेलेको भए इडिआएस गर्न बिर्सिए पनि ब्रोकर कम्पनीले नै इडिआएस गरिदिन्छन्। धेरै जसो कम्पनीले यस्तो सुबिधा दिएका कारण लगानीकर्ता क्लोज आउट पर्नबाट जोगिँदै आएका छन्। शेयर किनबेच गर्ने ब्रोकर भन्दा अर्कै ब्रोकर कम्पनीमा डिम्याट खाता भएका लगानीकर्ता बढी क्लोज आउटमा पर्ने गरेका छन्। हुन त शेयरधनीको मन्जुरी बिना शेयर पठाउनु कानुन विपरीत हो। तर कुनै पनि लगानीकर्ताले त्यसरी शेयर पठाएको बारे गुनासो भने गर्ने गरेका छैनन्। जसले गर्दा अवैधानिक कामले वैधता पाउँदै आएको हो।

यता बैंक र क्यापिटलमा खुलेका धेरै जसो खातामा एक कित्ता पनि शेयर नभएको सिडिएससीको भनाई छ। प्राथमिक शेयर भर्नको लागि ती खाता बढी प्रयोग हुने गरेको छ।  प्राथमिक शेयर परेपछि तुरुन्तै बिक्री हुने भएकोले ती खाता रित्तिने गरेका हुन्।

९६ निक्षेप सदस्यमा ६२ हजार २९५ औसत खाता रहेका छन्। औसत खाता भन्दा बढी खाता खोल्ने निक्षेप सदस्यको सङ्ख्या २६ छ भने औसत भन्दा कम खाता खोल्नेको सङ्ख्या ७६ रहेको सिडिएससीले जनाएको छ। सबैभन्दा बढी खाता खोल्नेमा एनआइसी एसिया क्यापिटल रहेको छ भने सबैभन्दा कम खाता हुने निक्षेप सदस्यले २३ मात्रै खाता खोलेको छ। भर्खरै लाइसेन्स लिएकोले पनि उसको खाता सङ्ख्या २३ मात्रै रहेको हो।

समूहगत रुपमा हेर्दा सबैभन्दा बढी खाता खोल्नेमा क्यापिटल अघि देखिएका छन्। क्यापिटलहरूले कुल हिस्सा ५१.०९ प्रतिशत छ। दोस्रोमा बैंक वित्तीय संस्था छन्। उनीहरूको हिस्सा ३९.४९ प्रतिशत छ। त्यसैगरी पुराना ब्रोकरको हिस्सा ९.३९ प्रतिशत मात्रै छ भने नयाँ ब्रोकरले ०.०३ प्रतिशत हिस्सा मात्रै ओगटेका छन्।

प्राथमिक वा दोस्रो बजारमा शेयर किनबेच गर्न डिम्याट खाता आवश्यक पर्छ। जसको लागि निक्षेप सदस्य मार्फत लगानीकर्ताले डिम्याट खाता खोल्न सक्छन्। एक व्यक्तिले दुई भन्दा बढी खाता खोल्न रोक लगाइएको छ। एक व्यक्तिले दुई छुट्टा छुट्टै निक्षेप हिस्सा सदस्य मार्फत खाता खोल्न सक्छन्।

*यस अघि एनआइसि एसिया क्यापिटल हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ।  

comments powered by Disqus