लगानीयाेग्य रकम हुँदा पनि बैंकहरूले ब्याजदर ११ प्रतिशत माथि पुर्याए, ब्याजदर बढाउनुमा यस्तो छ कारण

Sep 17, 2023 05:59 PM Merolagani

रबिन पौडेल

बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम हुँदाहुँदै पनि बैंकहरु ब्याजदर बढाउने प्रतिस्पर्धामा लागेका छन्।

बैंकहरुको कर्जा लगानी खासै बढ्न सकेको छैन् भने लगानीयोग्य रकम पर्याप्त छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकहरुको औसत सिडी रेसियो ८३.१४ प्रतिशत रहेको छ। यस आधारमा बैंकहरुसँग साढे ३ खर्बभन्दा धेरै लगानीयोग्य रकम छ। तर बैंकहरु भने ब्याजदर बढाउने प्रतिस्पर्धा देखिएका छन्।

असोज महिनामा ८ बैंकले ब्याजदर बढाएका छन्। ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्‍याएका छन्। प्राइम कमर्शियल बैंकको ब्याजदर सबैभन्दा धेरै ११.३५८ प्रतिशत पुगेको छ एनआइसी एसिया बैंक, हिमालयन बैंक, एभरेस्ट बैंक र नबिल बैंकको यस्तो ब्याजदर ११.०५४ प्रतिशत छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यक्तिगत मुद्दतीको  ब्याजदर ११.०३ प्रतिशत छ।

असार महिनासम्म नेपाल बैंकर्स सँघले ब्याजदरमा भद्र सहमति गर्दै आएको थियो। असार अन्तिमसम्ममा बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत थियो। साउन महिनामा भद्र सहमति तोडेपछि चार वटा बैंकले ब्याजदर बढाए। एनएमबि बैंक, प्राइम बैंक, नबिल बैंक र कुमारी बैंकले ब्याजदर बढाएर प्रकाशित गरे।

साउनमा यी बैंकले ब्याजदर बढाएपछि अन्य बैंकको निक्षेप बढी ब्याज हुने बैंकमा तानियो र अन्य बैंकले पनि भदौदेखि ब्याजदर बढाउन थाले। तर ब्याजदर बढाउनुमा यो मात्रै कारण भने होइन, ठूला संस्थागत निक्षेपकर्ताले निक्षेप झिक्ने डरले पनि बैंकहरु ब्याजदर बढाउनेतर्फ लागेका हुन्।

कतिपय बैंकको खराब कर्जा बढेर ४ प्रतिशतभन्दा माथि पुगेको छ। यस्ता बैंकबाट निक्षेप झिक्ने मनस्थिती ठूला निक्षेपकर्ताले बनाएपछि बैंकहरुले यस्तो निक्षेपलाई बाहिरिन नदिन ब्याजदर बढाउनेतर्फ लागेका हुन्।

अहिले कतिपय बैंकको ठूला संस्थागत मुद्दती निक्षेप परिपक्व हुने समय आएकोले पनि त्यस्तो निक्षेपलाई जोगाउन बैंकहरु ब्याजदर बढाउनेतर्फ लागेकाे एक बैंकर बताउँछन्। "संस्थागत लगानीकर्ताले निक्षेप राख्नको लागि आफै क्राइटेरीया बनाउँछन् र त्यस्तो क्राइटेरीया नपुगेका बैंकबाट मुद्दती निक्षेप झिकेर अन्य बैंकमा सार्न सक्ने डरले पनि ब्याजदर बढाएका हुन्" ती बैंकरले भने।

गत आर्थिक वर्षमा खराब कर्जा नियन्त्रण गर्न नसक्दा धेरैको ब्यालेन्ससिट बिग्रिएको छ। केही बैंकमा खराब कर्जा अत्यधिक बढेर ४ प्रतिशत भन्दा पनि माथि पुगिसकेको छ। संस्थागत लगानीकर्ताले ब्यालेन्स सिट राम्रो भएका बैंकमा निक्षेप राख्ने गर्छन्। उनीहरूले मुद्दती निक्षेप राख्नको लागि आफ्नो छुट्टै क्राइटेरीया बनाएका हुन्छन्। यस्तो क्राइटेरीयामा नपर्ने बैंकले संस्थापक निक्षेपकर्ताले निक्षेप राख्दैनन्।

संस्थागत लगानीकर्ताले ठूलो भोल्युममा निक्षेप राख्ने हुँदा यस्तो निक्षेप बाहिरिँदा बैंकको तरलताको अवस्था नै बिग्रन सक्छ। यसले गर्दा बैंकहरु बढी ब्याज दिएर ठूला निक्षेप जोगाउनेतर्फ लागेका हुन्।

कतिपय बैंकमा तरलता केही कम रहेको र ठूला निक्षेपहरू परिपक्व हुने समय आएका बैंकहरुले ब्याजदर बढाएको हुनसक्ने नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली  बताउँछन्। बैंकहरुले आफ्नो बैंकमा रहेको तरलताको अवस्था अनुसार ब्याजदर निर्धारण गरेका छन्। उनले भने तरलता केही कम रहेका र ठूला मुद्दती निक्षेपहरू परिपक्व हुने समय आएका बैंकहरुले ब्याजदर बढाएका हुन्।

कतिपय बैंकमा यस्तै संस्थागत निक्षेपकर्ताको निक्षेप परिपक्व भएर ठूला डिल नजिक आएका बैंकहरुले ब्याजदर बढाएका हुन्।

तर असोजमा पर्याप्त लगानीयोग्य रकम रहेको भन्दै ७ बैंकले ब्याजदर घटाएका छन्। स्टयान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको ब्याजदर सबैभन्दा कम ९.२९ प्रतिशत रहेको छ।

असोजमा नेपाल बैंकले ब्याजदर सबैभन्दा धेरै १.६० प्रतिशत विन्दुले घटाएको छ भने सानिमा बैंकले ०.९४३ प्रतिशतले घटाएको छ।

"अहिले बैंकहरुमा लगानीयोग्य रकम छ। त्यसैले अहिले निक्षेपमा ब्याजदर घटाएका छौ," सानिमा र्बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले भने।

असोजमा औसतमा भने बैंकहरुको ब्याजदर सामान्य घटेको छ। भदौसम्ममा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर १०.३२५ प्रतिशत रहेकोमा असोजमा यस्तो ब्याजदर घटेर १०.२६४ प्रतिशतमा झरेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।