शेयर बजार घट्दाकाे असर म्युचुएल फन्डकाे लाभांशमा पनि देखियाे, नेप्से घट्दा लाभांश पनि घट्याे

Sep 22, 2023 11:56 AM MeroLagani



शेयर बजार घट्दै गर्दा म्युचुएल फन्डले वितरण गर्ने लाभांश पनि घटेको छ । अहिलेसम्म १५ वटा म्युचुएल फन्डले लाभांश घोषणा गरेका छन् । १५ म्युचुएल फन्ड मध्ये ४ वटा म्युचुएल फन्डले गत वर्ष लाभांश बाँडेको थिएन भने ५ वटा म्युचुएल फन्डको लाभांश अघिल्लो वर्ष भन्दा बढेको छ । बाँकी ६ वटा म्युचुएल फन्डको लाभांश भने अघिल्लो वर्ष भन्दा घटेको देखिएको छ ।


शेयर बजार बढ्दा म्युचुएल फन्डहरुले पनि आकर्षक लाभांश बाँडेका थिए । नेप्से परिसूचक बढेको बेला आव २०७७/७८ मा सनराइज फस्र्ट म्युचुएल फन्डले ५० प्रतिशत, एनआईबीएल प्रगति फन्डले ५० प्रतिशत, एनआईबीएल सहभागिता फन्डले ५० प्रतिशत, सिटिजन्स म्युचुएल फन्ड–२ ले ४० प्रतिशत, लक्ष्मी इक्वीटी फन्डले ३५ प्रतिशत, सानिमा इक्वीटी फन्डले ३३ प्रतिशत, एएमबी इक्वीटीले ३० प्रतिशतसम्म लाभांश बाँडेका थिए । गत वर्ष समेत एनएमबी क्यापिटलको दुई वटा म्युचुएल फन्डले २१ प्रतिशतभन्दा बढी नगद लाभांश बाँडेका थिए भने सानिमा इक्विटी फन्डले २२ प्रतिशतसम्म लाभांश बाँडेको थियो । गत वर्ष भने बजार नराम्रोसँग घटेको कारण म्युचुएल फन्डको लाभांश त्यति राम्रो हुन नसकेको एक मर्चेन्ट बैंकका कार्यकारी प्रमुखले बताए ।

अहिलेसम्म बजारमा ४५ वटा म्युचुएल फन्डका इकाईहरु बजारमा छन् । त्यसमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका ३६ म्युचुअल फण्ड सूचीकृत छन् । सुचीकृत फन्डमध्ये अहिलेसम्म १५ वटा म्युचुअल फण्डले मात्रै गत आर्थिक वर्ष २०७९-८० को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् । त्यसमध्ये ५ म्युचुएल फन्डको लाभांशको लागि बुक क्लोज भइसकेकाे छ । प्रस्ताव गरेका म्युचुअल फण्डहरुमध्ये ६ वटा फण्डको मात्रै डबल अंकमा प्रतिफल रहेको छ । अन्य ९ वटा म्युचुअल फण्डले भने एकल अंकमा मात्रै इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका हुन् ।

गत वर्षको नाफाबाट इकाईधनीहरुलाई सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले १८ प्रतिशत प्रतिफल वितरण गरेको छ । अघिल्लो वर्षको तुलनामा सो फण्डको प्रतिफल घटेको देखिन्छ । यस फण्डले अघिल्लो वर्ष २२ प्रतिशत र सोभन्दा अघिल्लो वर्ष ३३ प्रतिशतसम्म प्रतिफल वितरण गरेको थियो ।

३०/३० प्रतिशतसम्म प्रतिफल वितरण गरेका एनएमबि हाईब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डको पनि विगतको प्रतिफल घटेको देखिन्छ । अघिल्लो वर्ष समान २१.०५ प्रतिशत प्रतिफल वितरण गरेका एनएमबि हाईब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले गत वर्षको नाफाबाट भने १५/१५ प्रतिशत मात्रै वितरण गर्ने भएका हुन् । त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ले ६.५ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डले ५ प्रतिशत प्रतिफल बाँडेका हुन् ।

एनआईबिएल सहभागिता फण्डको प्रतिफल पनि घटेको छ । ५० प्रतिशतसम्म लाभांश बाँडेको यस फण्डले गत वर्षको नाफाबाट भने ४ प्रतिशत मात्रै प्रतिफल वितरण गर्ने भएको हो । अघिल्लो वर्ष भने ७.२० प्रतिशत प्रतिफल वितरण गरेको थियो । यो ओपन इन्डेड म्युचुएल फन्ड हो जुन नेप्सेमा कारोबार हुँदैन ।

एनआईसी एसिया डाइनामिक डेब्ट फन्डले गत वर्ष ६ प्रतिशत लाभांश बाँडेकोमा यस वर्ष यसलाई बढाएर १० प्रतिशत पुर्याएको छ । एनआइसी एसिया क्यापिटलको यो म्युचुएल फन्ड पनि ओपन इन्डेड म्युचुएल फन्ड हो । ओपन इन्डेड म्युचुएल फन्डको अवधि हुँदैन र नेप्सेमा पनि कारोबार हुँदैन।

यस्तै, सनराइज फस्ट म्युचुअल फण्ड, कुमारी इक्विटी फण्ड, लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्विटी र एनआईबिएल प्रगति फण्डले भने गत वर्ष इकाईधनीहरुलाई प्रतिफल बढाएर वितरण गर्ने भएका हुन्।

सनराइज फस्ट म्युचुअल फण्डले १६ प्रतिशत लाभांश वितरण गरेको हो । यसअघि उक्त फण्डले इकाईधनीहरुलाई अघिल्लो वर्ष १२ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो । कुमारी इक्विटी फण्डले १० प्रतिशत, लक्ष्मी उन्नति कोषले ९.५ प्रतिशत, लक्ष्मी इक्विटीले ८ प्रतिशत र एनआईबिएल प्रगति फण्डले ६.८ प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् ।

यस्तै, म्युचुअल फण्ड जारी गरेको पहिलो वर्ष नै कुमारी धनवृद्धि योजना र प्रभु सेलेक्ट फण्डले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने भएका छन् । कुमारी धनवृद्धि योजनाले ६ प्रतिशत र प्रभु सेलेक्ट फण्डले ९.५ प्रतिशत प्रतिशत वितरण गर्ने भएका हुन् ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।