पाँच बैंक दसैंअघि नै एजिएम गर्न ‘तछाड मछाड’ गर्दा अरु बैंक यसकारण ‘सुस्ताए’ लाभांश घोषणा गर्न

Sep 25, 2023 12:39 PM Merolagani



पाँच वाणिज्य बैंकहरु दसैंअघि नै वार्षिक साधारणसभा (एजिएम) गर्न तयार भएका छन् । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले दसैअघि नै एजिएम गर्न तयार भएका छन् ।

उनीहरुले दसैंअघि नै एजिएम गरेर लगानीकर्ताको खातामा नगद र बोनस शेयर पठाउने तयारी गरेका हुन् । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्सले एजिएमको घोषणा गर्दा समेत अरु १४ बैंक (राष्ट्रिय वाणिज्य बैंक बाहेक)ले लाभांश समेत घोषणा गर्न सकेका छैन् ।

१४ वाणिज्य बैंकले दसैंअघि एजिएम गर्न नभ्याउने भएकाले पनि लाभांश घोषणा गर्न ढिलो गरेका हुन् । ती १४ वाणिज्य बैंकमध्ये धेरैले दसैैअघि नै लाभांश घोषणा गरेपनि एजिएम भने दसैंपछि मात्र गर्ने तयारी गरेका छन् । ‘बैंकले दसैंमा दक्षिणा मात्र दिएर मात्र भएन तिहारमा लक्ष्मी पनि त भित्र्याउनु पर्यो,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘त्यसैले पनि दसैंअघि एजिएम गर्न हतार नगरेका हौैं ।’

माछापुच्छ्रे बैंकले असोज १८ गते लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ । माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी, सिटिजन्स बैंकले पनि दसैंअघि नै लगानीकर्तालाई नगद लाभांश दिन असोज २६ गते साधारणसभा बोलाएको छ । सिटिजन्स बैंकले चुक्ता पूँजीको ५.७९ प्रतिशत नगदा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

 साथै, अहिलेसम्मकै सबैभन्दा धेरै लाभांश वितरण गर्ने घोषणा गरको एनआइसी एशिया बैंकले असोज २८ गते साधारणसभा बोलाएको छ । एनआईसी एशिया बैंकले चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साथै, एभरेष्ट बैंकले असोज ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । एभरेष्ट बैंकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी, सानिमा बैंकले कत्तिक २ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सानिमा बैंकले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।