चार हजार कित्तासम्म हातपारेका सञ्चय कोषका कर्मचारीलाई तामाकोशीको हकप्रद शेयर भर्न मुस्किल, आइपीओ बेच्दै ‘हकप्रद भर्दै’

Sep 26, 2023 06:17 AM Merolagani



सञ्चयकर्ता, कर्मचारी र लगानीकर्ताले तामाकोशीको शेयर बिक्री गरेर तामाकोशीको हकप्रद शेयर भर्न थालेका छन् । तामाकोशीको हकप्रद शेयर भर्न पैसा नभएकाले सञ्चयकर्ता, कर्मचारी र लगानीकर्ताले तामाकोशीको पुरानो शेयर बिक्री गरेर हकप्रद शेयर भर्न थालेका हुन् ।

तामाकोशीको पुरानो शेयर बिक्री गरेर हकप्रद शेयर भर्न थालेको कर्मचारी सञ्चय कोषका एक कर्मचारीले बताए । ‘पुरानो आइपीओमा परेको बेचेर हकप्रद भर्दै छु’ उनले भने, ‘हकप्रद शेयर भर्नका लागि पैसा नभएकाले तामाकोशीमा रहेको पुरानो शेयर बिक्री गर्नु परेको हो ।’

अपर तामाकोशी हाइड्रोपावरले सञ्चयकर्ता, ऋण प्रदान गर्ने संस्थाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई आइपीओमा नै शेयर दिएको थियो । कम्पनीले पहिलो चरणमा सञ्चयकर्ता र कर्मचारीहरुलाई २ करोड ५४ लाख १६ हजार कित्ता शेयर बिक्री गरेको थियो ।

अपर तामाकोशीले कर्मचारी सञ्चयकोषका थोरै कर्मचारीलाई धेरै कित्ता पर्ने गरी आइपीओ वितरण गरेको भनेर ब्यापक आलोचना भएको थियो । कर्मचारी सञ्चयकोषका एक जना कर्मचारीलाई ४ हजार कित्तासम्म शेयर परेको थियो । तर यता, अपर तामाकोशीले करिव तीन करोड नेपालीलाई १० करोड ५९ लाख कित्ता शेयर मात्र आइपीओ जारी गरेको थियो ।

ठूलो परिणामको आइपीओको शेयर हात पारेका सञ्चयकर्ता, ऋण प्रदान गर्ने संस्थाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले अहिले तामाकोशीको पुरानो शेयर बिक्री गरेर हकप्रद शेयर भरिरहेका छन् । उनीहरुले ९०० रुपैयाँ भन्दा माथि शेयरको मूल्य पुग्दा पनि बिक्री नगरेर ‘अझै बढ्छ र बिक्री गरौला’ भन्दै बसेका थिए ।

प्रतिकित्ता २०० रुपैयाँसम्म आएको तामाकोशीको शेयर अहिले २२० रुपैयाँ नजिक छ । त्यही मूल्यमा भएपनि बिक्री गरेर सञ्चयकर्ता, कर्मचारी र लगानीकर्ताले हकप्रदका लागि रकमको जोहो गरिरहेका छन् । असोज ७ गतेसम्म हकप्रद शेयर भर्न पाउने समय सीमालाई अपर तामाकोशी हाइड्रोपावरले बढाएर असोज २२ सम्म भर्न पाउने व्यवस्था गरेको छ ।

सञ्चयकर्ता, कर्मचारीले १०० रुपैयाँमा आइपीओ पारेका थिए । दोस्रो बजारमा समेत तल्लो मूल्यमा किनेकाले माथिल्लो तामाकोशीको शेयर प्रतिकित्ता ९०० रुपैयाँ हुँदा पनि बिक्री गरेनन् । अहिलेसम्मकै उच्च मूल्य ९०४ रुपैयाँमा बिक्री गरेको भए आइपीओमा तामाकोशीको १० कित्ता शेयर हात पार्नेले पनि कर कटाएर करिव ७ हजार ५०० रुपैयाँ कमाउथे । तर, २२० रुपैयाँ नजिक आइपुगेको छ । त्यही मूल्यमा बिक्री गर्दा पनि आइपीओ परेकालाई त नाफै छ । तर ९०० रुपैयाँ भन्दा माथि किनेकालाई भने न दिनमा भोक न त रातमा नै निद्रा लाग्ने अवस्था छ । 

अहिले माथिल्लो तामाकोशीको शेयर घटेर प्रतिकित्ता २२० रुपैयाँको हाराहारीमा आएको छ । यसबीचमा शेयर बिक्री नगर्नेले १ बराबर १ को अनुपातमा हकप्रद शेयर भर्न पाउलान । तर, तिनीहरुले पनि प्रतिकित्ता ९०० रुपैयाँ पुग्दाको जतिकै फाइदा लिन लामो समय कुर्नु पर्ने भएको छ ।
माथिल्लो तामाकोशी हाइड्रोपावरले १० अर्ब ५९ करोड रुपैयाँ बराबरको १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको छ ।

हकप्रदका लागि ३८६ रुपैया १० पैसामा तामाकोशीको शेयर बुक क्लोज भएको थियो । शेयर मूल्य समायोजनपछि २४३.०५ रुपैयाँ भएको थियो । तर, अहिले तामाकोशीको शेयर प्रतिकित्ता २२० रुपैयाँ नजिक आइपुगेको छ ।

स्वदेशी लगानीमा दोलखामा निर्माण भएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले वित्तीय संस्थाबाट लिएको ऋण तिर्न र २०.६६ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माणका लागि हकप्रद शेयर जारी गरेको हो । अहिले माथिल्लो तामाकोशी आयोजनाले दोहोर अंकमा ऋणको ब्याज तिर्दै आएको छ । त्यसरी उच्च ब्याजदरमा लिएको ऋण हकप्रद शेयर जारी गरेर तिरेपछि लगानीकर्तालाई विस्तारै लाभांश बाँडने योजना बनाएको छ ।

आयोजना निर्माण गर्दा साँवा र ब्याज समेत गरेर आयोजनाको लागत करिव ८० अर्ब पुगेको छ । सुरुको ३५ अर्बको लागत बढेर ८० अर्ब पुगेपछि ऋण कसरी घटाउने भन्ने योजना सञ्चालक समितिले बनाउँदै आएको थियो । त्यसका लागि हकप्रद जारी गर्नु सबैभन्दा उपयुक्त हुने उनीहरुले ठहर गरेका थिए । त्यही अनुसार माथिल्लो तामाकोशी आयोजनाले हकप्रद शेयर जारी गरेको हो ।

आयोजना सञ्चालनमा आएको केही वर्ष भएकाले पनि बिजुली बिक्री गरेर राम्रो आम्दानी गर्न थालेको छ । आयोजनाले केही वर्षभित्र ब्याज, ऋण भुक्तानी गरेपछि लगानीकर्तालाई लाभांश वितरण गर्न थाल्ने छ । लगानीकर्ताले लाभांश पाउन धेरै लामो समय कुर्नु नपर्ने आयोजनाको दावी छ ।

 आयोजनामा कर्मचारी सञ्चय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २ र २ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् । उनीहरुले प्रवाह गरेको ऋणको ब्याजदर ११ प्रतिशत नजिक छ ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २-२ प्रतिशत संस्थापक शेयर छ। कम्पनीमा सर्वसाधारणको १५ प्रतिशत, दोलखाबासीको १० प्रतिशत, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत शेयर छ ।