जडिबुटीमा बनेको बसपार्क सञ्चालन गर्न महानगरले अनुमति दिएन, भत्काउन खोजिरहेको छ: अरनिको यातायात

Sep 25, 2023 04:41 PM Merolagani



आफ्नै लगानीमा जग्गा भाडामा लिएर जडिबुटी मनोहरा पुल नजिकै बनाएको बसपार्क काठमाडौं महानगरपालिकाले सञ्चालन अनुमति नदिएपछि पूर्व अरनिको यातायात प्रालिले विरोध जनाएको छ । चाडपर्वको मुखमा पूर्वका जिल्ला तर्फ चल्ने सार्वजनिक सवारीसाधनका लागि बनाइएको बसपार्क महानगरले भत्काउन सूचना निकाले पछि प्रालि आन्दोलित बनेको हो ।

राजधानी पूर्व चल्ने अरनिको यातायातले करोडौं लगानीमा जडिबुटिमा आफ्नै सेवा सुविधा सहितको बसपार्क बनाएको छ । तर, महानगरले अनुमति बिनै उक्त संरचना बनाएको भन्दै मेयर बालेन शाहकै निर्देशनमा उक्त बसपार्क भत्काउने तयारी भएको अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले बताए ।

आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष क्षेत्रीले महानगरले यो बसपार्क सञ्चालन अनुमति नदिएर यात्रुलाई सहज सेवावाट वञ्चित गर्न लागेको बताए ।

‘१४ रोपनी जग्गा भाडामा लिएर अरनिको यातायात प्रालिले बसपार्क बनाएको हो । र यो बसपार्क सञ्चालन अनुमतिका लागि महानगरपालिका तथा महानगरपालिकाका मेयर बालेन शाहले अनुमति नदिएर उल्टै भत्काउने तयारी भएको सूचना पाएको छु’ क्षेत्रीले भने ।

राजधानी पूर्वका एक दर्जन बढी जिल्लामा चल्ने अरनिको यातायात गोङगबु नयाँ बसपार्क जान नसक्ने उनको भनाई छ । ‘हामीलाई पुरानो बसपार्क क्षेत्र अथवा जडिवुटी क्षेत्रबाटै गाडी चलाउन दिनुपर्छ । हाल जडिबुटीमा बनेको बसपार्कमा यात्रु मैत्री सेवा,अनलाइन मार्फत टिकट,सुरक्षा व्यवस्थाका लागि सिसी क्यामेरा लगाइने छ’ अध्यक्ष क्षेत्रीले भने ।

चाडपर्व आइरहेको अवस्थामा महानगरले जडिवुटीमा बनेको बसपार्क चलाउन नदिने बिषय गम्भीर रहेको प्रालिको भनाई छ । पूर्व अरनिको बसहरु सिन्धुपाल्चोक,दोलखा,रामेछाप, काभ्रे,ओखल्ढुङ्गा, सिन्धुलीका जिल्लामा चल्दै आएका छन ।

 अध्यक्ष केदार क्षेत्रीले भने, ‘भत्काउन खोजे अदालत जान्छौं, त्यसपछि प्रदेश सरकार र संघीय सरकारसँग जान्छौं, त्यतिमा पनि केही नभएर डोजर अगाडि आए यात्रुसहित सडकमा आउँछौं, प्रतिकार गर्छौं ।’

केहि समय अघि काठमाडौं महानगरले देशभर चल्ने लामो दुरीका बसको टिकट नयाँ बसपार्कबाटै काट्नु पर्ने र यात्रु पनि नयाँ बसपार्क नै जानुपर्ने निर्णय गरेको थियो । तर, पूर्व अरनियको यातायात प्रालि भने महानगरपालिकाको निर्णयको विरोध गर्दै नयाँ बसपार्कबाट सेवा दिन नसक्ने भन्दै बिरोध जनाउदै आएको थियो ।

हाल अरनिको यातायात प्रालिले आफ्नो लगानीमा जडिबुटिमा १४ रोपनी जग्गा भाडामा लिएर बसपार्क बनाएको छ । सो बसपार्क सञ्चालनका लागि महानगरपालिकाका मेयर बालेन्द्र शाहले अनुमित दिएका छैनन् ।