गत साउन ७ गते कम्पनीको १३ हजार तीन सय ९२ कित्ता शेयर ओभर द काउन्टर(ओटिसि)मा कारोबार भए। त्यस यता भने कम्पनीको शेयर कारोबार भएको छैन।
अहिलेसम्म ओटिसमा सबैभन्दा धेरै मूल्यमा एनसेलको शेयर कारोबार भएको रेकर्ड छ। उसको प्रति कित्ता एक लाख २४ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। त्यसपछि वल्ड लिङ्क कम्युनिकेसनको मूल्य सबैभन्दा बढी हो।
चालु आर्थिक वर्ष लागे यता ओटिसिमा २२ वटा कारोबार भएका छन्। २२ कम्पनीको कुल एक करोड २३ लाख ४८ हजार कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ।
नेप्सेका अनुसार पछिल्लो समय केबलकार कम्पनीको समेत कारोबार हुन थालेका छन्। सञ्चालनमा रहेको अन्नपूर्ण केबलकारको प्रति शेयर एक सय ४० रुपैयाँमा खरिद बिक्री भएको छ। त्यसैगरि बन्दीपुर केबल कारको समेत प्रति कित्ता एक सय रुपैयाँमा नै कारोबार भएको बताइएको छ। दुवै केबलकार पब्लिकमा रूपान्तरण भएपनि ती कम्पनीहरुले प्राथमिक शेयर भने निष्कासन गरिसकेका छैनन्। उनीहरूले प्राथमिक शेयर निष्कासन गर्नु पूर्व नै ती कम्पनीको मूल्य एक सय ४० रुपैयाँ पुगिसकेको छ। निश्चित समय होल्ड गर्न चाहने लगानीकर्ताले अहिले नै ती कम्पनीको मूल्य एक सय ४० पुर्याएका हुन्।
सूचीकृत धेरै जसो कम्पनीको शेयर भने प्रति शेयर एक सय रुपैयाँकै दरमा कारोबार भएका छन्।
पब्लिकमा रूपान्तरण भएका तर शेयर निष्कासन नगरेका तथा शेयर निष्कासन गरेर सूचीकरण खारेज भएका कम्पनीका शेयर ओटिसि मार्केटमा कारोबार हुने गरेका छन्। ओटिसिमा सूचीकरण भएका कम्पनीले प्राथमिक शेयर निष्कासन गरेपछि भने उनीहरूको सूचीकरण खारेज हुने गरेको छ। कम्पनीहरूले ओटिसिमा सूचीकरण हुन कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था छ।