यातायात मन्त्रीहरुको स्टन्ट बाजीले भद्रगोल इम्बोष्ड नम्बर प्लेट, जडानको समय थप गर्ने तयारी

Sep 26, 2023 02:27 PM Merolagani



यातायात व्यवस्था विभागले इम्बोष्ड नम्बर प्लेट जडानको समय पुनः थप गर्ने भएको छ । २५ लाख सवारीसाधनमा पाँच बर्षभित्र इम्बोष्ड नम्बर प्लेट जडान गर्ने गरी २०७३ बैशाखमा डेकाटुर टाइगर कम्पनी  र यातायात विभागबीच सम्झौता भएको थियो । 

तर, अहिले करोडौं खर्चेर उत्पादन, जडानको जिम्मा पाएको उक्त कम्पनीले काम नगरेपछि इम्बोष्डको सबै प्रक्रिया भद्रगोल बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात विभागको लापरवाहीको कारण काम नगर्ने कम्पनीकाे पटक पटक समय थप हुँदै आएको छ ।

गत २०७८ मंसिरमा ३० हजार पनि इम्बोष्ड जडान गर्न नसकेपछि डेकाटुर टाइगर र विभागबीच भएको सम्झौता दुई बर्षका लागि थपिएको थियो । थप भएको समय सकिन अब करिब तीन महिना बाँकी छ ।

खासगरी इम्बोष्ड नम्बर प्लेटको स्वामित्व लिएको यातायात व्यवस्था विभागमा महानिर्देशक लामो समय टिक्ने गरेका छैनन् । भद्रगोल यातायात प्रणाली, झन्झटयुक्त प्रक्रिया र आम सर्वसाधारणसँग सिधा ठोकिने विभागमा महानिर्देशक बन्न कुनै पनि सरकारी निकायका सहसचिव तयार हुँदैनन् । त्यसैकारण पनि यातायात व्यवस्था विभागले स्वामित्व लिएर अघि बढाएका काम सफल हुन सकेका छैनन् ।

विभागले दिएको तथ्याङक अनुसार इम्बोष्ड नम्बर प्लेट जडानको ठेक्का लागेको साढे सात बर्ष बढी समय वितिसक्दा पनि एकलाख सवारीसाधानमा पनि सो प्लेट जडान हुन सकेको छैन् ।

यातायात विभागका नवनियुक्त महानिर्देशक उद्धव रिजालले लाइसेन्स र इम्बोष्ड नम्बर प्लेटको बिषयमा जानकारी लिइरहेको बताए ।

‘इम्बोष्ड नम्बर प्लेट जडान निकै ढिलो भएको भन्ने सुनेको छु’ उनले भने ‘दुई बर्ष अघि ठेक्का पाएको कम्पनीसँग दुई बर्षका लागि थप भएको समय सकिन लागेकोले के गर्ने भन्ने छलफल भइरहेको छ।’ 

उनका अनुसार ठेक्का पाएको कम्पनीले समय थप गर्न माग गरेको छ । उनले थपे ‘गरेको काम र हालको अवस्थालाई हेरर समय थप गर्ने अथवा के गर्ने निर्णय हुन्छ।’ 

इम्बोष्ड नम्बर प्लेटको काम सरकारकै कारण पनि ढिलाई भएको विभागकै अधिकारीहरु पनि बताउँदै आएका छन् । पटक पटक नियुक्त भएको तत्कालिन भौतिक पूर्वाधार मन्त्रीहरु मोहम्मद ईस्तियाक राई, हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली भाषामै इम्बोष्ड नम्बर प्लेट राख्ने भन्दै यातायात व्यवस्था नियमावली नै संशोधन गरेका थिए ।

मन्त्रीपिच्छे इम्बोष्ड नम्बर प्लेटमा स्टन्टबाजी भएका कारण पनि पटक पटक छपाई र वितरण रोकिएको थियो । हाल संशोधन भएको नियमावली अनुसार नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा र नम्बर भने अंग्रेजी भाषामा छापिँदै आएको छ ।

सो नियमावली संशोधन भन्दा अघि ४० हजार सवारीसाधनमा जडान गरिएको इम्बोष्ड नम्बर प्लेट भने अंग्रेजी भाषामै रहेको छ । ठेक्का पाएको कम्पनीले २५ लाख सवारीसाधनमा २०७८ बैशाख भित्र इम्बोष्ड नम्बर जडान गर्नुपर्ने भएपनि हालसम्म ७० हजार हाराहारी मात्रै सो नम्बर प्लेट जडान भएको छ ।

इम्बोष्ड नम्बर नेपाली भाषामा हुनुपर्ने भन्दै झन्डै तीन बर्ष सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएको थियो । पछि अदालतले सम्झौता भएकै आधारमा अंग्रजी भाषामा इम्बोष्ड नम्बरको प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएको थियो । हाल सरकारकै असक्षमताका कारण अपेक्षा अनुसारको छपाई र वितरण हुन सकेको छैन् ।