दशैंतिहारका लागि देशभर ६०० नयाँ गाडी थप्दै यातायात व्यवसायी

Sep 27, 2023 02:42 PM Merolagani



नेपालीहरुको महान चाड दशैं तिहार र छठका लागि देशभरका यातायात व्यवसायीले ६०० नयाँ गाडी थप्ने भएका छन् । बिशेषगरी राजधानी काठमाडौंबाट ७७ ओटै जिल्लामा दशैं मनाउन लाखौंको सङ्ख्यामा मानिसहरु आफ्नो गाउँ फर्किने गरेका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार गत बर्ष १७ लाख हाराहारी मानिसले दशैंमा काठमाडौं छोडेका थिए । यस बर्ष यात्रुको सङ्ख्या बढ्ने आँकलनपछि यातायात व्यवसायीले ६०० सय नयाँ गाडी थप्ने बताएका हुन् ।

दशैं आउँन करिब २० दिन बाँकी छ । चाडपर्वलाई लक्षित गर्दै भौतिक पूर्वाधार मन्त्रालय तथा यातायात विभागका कर्मचारीले सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलाउन छलफल गरिरहेका छन् ।

गत शुक्रबार यातायात मन्त्रीले यातायात व्यवसायी तथा ट्राफिक प्रहरीसँग चाडपर्वमा यात्रुलाई सहज सेवाका लागि छलफल गरेका थिए । सो छलफलमा यातायात व्यवसायीले देशभरका सडकको अवस्था र यातायात व्यवसायीको भाडा समायोजनको बिषयलाई उठाएका थिए ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष बिजय स्वारले देशभरका यातायात व्यवसायीले दशैं तिहारमा ६ सय गाडी थप्ने बताए ।

‘चाडपर्वले सबै क्षेत्रमा उत्साह ल्याउदा सार्वजनिक यातायात पनि स्वभाविक रुपमा उत्साहित छौं’ स्वारले भने ‘पुराना गाडीलाई मर्मत गर्दै थप गाडी पनि चलाउछौं । मैले पाएको जानकारी अनुसार यो दशैंमा ६ सय हारहारी ठूला साना सार्वजनिक यातायात थपिन्छन।’ 

उनले अग्रिम टिकट बुकिङ भन्दा पनि सडकको अवस्थालाई सरकारले स्तरउन्नती गर्नुपर्ने बताए । बर्खाले देशभरका अधिकांश सडक ध्वास्त भएको र सबैभन्दा बढी गाडी चल्ने नारायणगढ-मुग्लिन सडक खण्डमा अहिलेको सबैभन्दा समस्या रहेको भन्दै मन्त्रालयलाई जानकारी गराएको अध्यक्ष स्वारको भनाइ छ । दशैंमा नयाँ बसपार्क क्षेत्र, पूर्व अरनिको यातायामा अत्याधिक भिडभाड हुने गरेको छ ।

यातायात विभागका महानिर्देशक उद्धव रिजालले असोज तेस्रो साता भित्र अग्रिम टिकट बुकिङ खोल्ने प्रारम्भिक प्रस्ताव भएको तर, निर्णय नभइसकेको बताए ।

‘समान्यतया दशैंको १५ दिन अघिदेखि टिकट बुकिङ खुल्ने गरेको छ, यसपाली पनि सोहि समयमा खुल्छ,’ उनले भने ‘ रुटपर्मिट पनि खुलाउने तयारी छ।’ 

उनले दशैं तथा चाडपर्वमा धेरै दुर्घटना हुने गरेकाले यसपाली पुराना सार्वजनिक सवारीको अनुगमनलाई पनि प्राथमिकतामा राखिएको बताए ।

अनलाइन टिकट बुकिङको के छ व्यवस्था ?

विगतका बर्षहरुमा अनलाइन टिकट बुकिङको व्यवस्था भएपनि खासै प्रभावकारी हुन सकेको थिएन । धरै यात्रुलाई अनलाइन टिकेटिङ बारे जानकारी नै थिएन । पछिल्लो समय अनलाइन टिकट कम्पनीहरुले पनि यस्तो व्यवस्था गर्दै आएका छन् ।

नेपालमा अहिले सबैभन्दा ठूलो सञ्जाल बनाइसकेको अनलाइन माध्यम ‘बस सेवा’ ले ६० भन्दा बढी जिल्लामा जाने गरी अनलाइन टिकट काट्ने सुविधा उपलब्ध गराएको जनाएको छ ।

देशभरका ३ सय भन्दा बढी बस व्यवसायी कम्पनीसँग बस सेवाले सहकार्यको सम्झौता गरिसकेको बताएको छ । सोही अनुसार निर्धारित रुटमा अनलाइनबाटै टिकट बुकिङ गर्न सकिन्छ ।