४६५ किलोमिटरसम्म रेन्ज दिने स्टाइलिस टाटा नेक्सन फेसलिफ्ट, नेपालमा कहिले आउला ?

Sep 30, 2023 10:51 AM Merolagani



टाटा मोटर्स भारतले केहि समय अघि नेक्सनको नयाँ मोडल बजारमा ल्यायो । जीपट्रोन प्रविधिको दोस्रो जेनेरेशनमा आधारित भएर बजारमा सार्वजनिक गरेको नेक्सन ईभी फेसलिफ्ट भारतीय बजारमा लोकप्रिय बन्दै गएको छ ।

भारतमा यो गाडीको बुकिङ राम्रो भइरहको कम्पनीले जनाएको छ । नेपालमा पनि लोकप्रिय बनेको भेरियन्ट हो टाटा नेक्सन इलेक्ट्रीक एसयूभी ।

उच्च ग्राउन्ड क्लियरेन्स र ट्रेन्डी डिजाइनले नेपालमा पनि यो गाडीलाई सफल बनाएको थियो । टाटाले नेक्सन ईभीको भेरियन्टको नाम पनि परिवर्तन गरेर क्रियटिभ, फियरलेस, इम्पावर्ड राखेको छ । साथै, यसअघि प्राइम र म्याक्समा आउने नेक्सन अब मिड रेन्ज र लङ रेन्ज नामबाट आउने छ ।

नेपाल पनि टाटाको ठूलो बजार रहेको कारण नेक्सन फेसलिफ्ट सबैको चासोको बिषय बनेको छ । नेपालका लागि टाटा गाडीको आधिकारीक वितरक सिप्रदी ट्रेडिङ लिमिटेडले नेक्सन फेसलिफ्ट ल्याउन केहि समय लाग्ने जनाएको छ ।

हाल भारतमै बुकिङ गर्नेले पाउन नसकेको यो गाडी तत्काल आउने सम्भावना नदेखिएको कम्पनीले जनाएको छ । भारतमा सहज रुपमा उपलब्ध हुन थालेपछि नेपाल आउने कम्पनीको दाबी छ । सिप्रदीले २०२४ पछि नै ल्याउने तयारी गरेको छ ।

 

कस्तो छ नयाँ फेसलिफ्ट ?

फेसलिफ्ट मोडल सार्वजनिक गरेसँगै कम्पनीले नाम पनि परिवर्तन गरेको छ । टाटा नेक्सन पुरानो भेरियन्टको तुलनामा यो गाडीलाई कम्पनीले नयाँ बनाएको छ । लुक्स , डिजाइन तथा इन्टेरियर पनि परिवर्तन भएर आएको यो गाडी बोल्ड देखिन्छ । अगाडीको भार आक्रमक देखाइएको यो गाडी हेडलाइट र डिजाइन निकै फरक छ ।

फ्यूचरिस्टीक डिजाइन सहित आएको फेसलिफ्ट यूनिक देखिन्छ । फेसलिफ्टको इन्टेरियर पनि पूर्ण नयाँ बनाइएको छ । कार्वन फाइबर जस्तो टेक्सचर, सफ्ट टच ड्यासबोर्ड, १२.३ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, कस्टुमाइज १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, इनुमीनेटेड लोगो सहित नेक्सनमा ब्यापक परिमार्जन गरिएको छ ।

फेसलिफ्ट मिड रेन्ज मोडलमा ३० किलोवाट आवर र लङ रेन्ज मोडलमा ४०.५ किलोवाट आवरको ब्याट्री दिइएको दिएको कम्पनीले जनाएको छ । जसले क्रमश मिड रेन्ज मोडलले ३२५ र लङ ४६५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार १२९ एचपीदेखि २१५ एनएम टर्क पावर जेनेरेट छ ।

नेपालमा पनि सर्वाधिक सफल नेक्सन ईभीको भारतमा सुरुवाती मूल्य १४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसअघि सुरुवाती भेरियन्टको मूल्य १४ लाख ४९ हजार भारतीय रुपैयाँ रहेको थियो । फेसलिफ्ट ५० हजारदेखि ८५ हजार भारतीय रुपैयाँसम्मले महंगो भएर आएको छ ।