दशैंमा दक्षिणा दिने बैंक ५ वटा मात्रै भए, अन्यले लाभांश घोषणा गरे पनि दशैं अगाडि नपाइने

Oct 01, 2023 06:24 PM MeroLagani

नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकहरुमध्ये ५ वटा बैंकले मात्रै दशैं अगाडि दक्षिणा दिने भएका छन् । यसपटक मलमासका कारण दशैं कात्तिकमा परेकाले अधिकांश बैंकहरुले दशैं अगाडि नै लाभांश पाउने अपेक्षा लगानीकर्ताले गरेका थिए तर पाँच वटा बैंकले मात्रै दशैं अगाडि साधारण सभा आह्वान गरेकाले ती बैकहरुले मात्रै दक्षिणा दिने भएका हुन् ।

एफपीओ र मर्जरको पर्चेज गेनमा सरकारले कर तिर्नुपर्ने नीति ल्याएपछि त्यसको विरुद्ध मुद्दामा मामिलामा लागेका कारण अन्य बैंकहरुको लाभांश घोषणामा ढिलाई भएको बताइएको छ । अन्य बैंकहरुको रिपोर्ट राष्ट्र बैंकमा रहेको र त्यहाँबाट स्वीकृत हुनासाथ लाभांश धमाधम घोषणा गर्ने तयारीमा छन् ।

अब अन्य बैकहरुले लाभांश घोषणा गरेर साधारण सभा आह्वान गरे पनि दशैं पछि मात्रै लाभांश लगानीकर्ताको हातमा पर्नेछ । कम्पनी ऐन अनुसार साधारण सभा हुने दिन भन्दा २१ दिन अगाडि नै राष्ट्रियस्तरका समाचारपत्रमा सूचना प्रकाशन गरेर सूचना दिनुपर्छ । असोज १२ गतेसम्म ५ वटा मात्रै वाणिज्य बैकले साधारण सभा आह्वानको सूचना प्रकाशन गरेकाले तिनीहरुले मात्रै दशैं अगाडि लगानीकर्ताको खातामा लाभांश डिपोजिट गर्न सक्ने स्थिति बनेको छ ।

गत वर्ष लगानीकर्ताको हात खाली बनाएको माछापुच्छ्रे बैंकले यसपटक लगानीकर्तालाई सबैभन्दा अगाडि लाभांश घोषणा गरेर साधारण सभाको लागि बुक क्लोज समेत गरिसकेको छ । बैंकले १३.३ प्रतिशत बोनस शेयर र शुन्य दशमलब ७ प्रतिशत नगद लाभांश गरेर कुल १४ प्रतिशत लाभांश प्राप्त गरेका थिए । कर प्रयोजनको लागि बैंकले थोरै मात्र नगद लाभांश घोषणा गरेको हुँदा शेयरधनीको बैंक खातामा नगद लाभांश भने हात पर्ने छैन् । साधारण सभाले बैंकले प्रस्ताव गरेको लाभांश पारित भएमा लगानीकर्ताको शेयर कित्ता भने १३.३ प्रतिशतले बढ्नेछ ।

माछापुच्छ्रे बैंकपछि छिटो साधारण सभा आह्वान गर्ने अर्को बैंकमा यस वर्ष सिटिजन्स बैक इन्टरनेसनल परेको छ । बैंकले असोज २६ गते साधारण सभा आह्वान गरेको छ भने लाभांशको लागि बुक क्लोज भने असोज १५ गते रहेको छ । बैंकले करसहित गरेर ५.६९ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । १५ गतेभन्दा अगाडि बैंकको शेयर किन्ने लगानीकर्ताको खातामा बैंकले घोषणा गरेको कर काटेर ५.६९ प्रतिशत नगद लाभांश दशैं अगाडि नै डिपोजिट गरिदिनेछ ।

विगत दुई वर्षदेखि लगानीकर्ताको हात खाली पारेको एनआईसी एसिया बैंकले लगानीकर्तालाई २९ प्रतिशत बोनस र १.५२ प्रतिशत नगद लाभांश गरेर कुल ३० दशमलब ५२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । बैंकले कर प्रयोजनको लागि थोरै मात्रै नगद लाभांश घोषणा गरेको हुँदा बैंक खातामा नगद डिपोजिट नभएपनि शेयर संख्या भने २९ प्रतिशतले बढ्ने भएको छ ।

कुनै समय ब्लु चिप शेयरको रुपमा रहेको एभरेष्ट बैंकले लगानीकर्ताले बोनस र नगद लाभांशको अनुपात मिलाएर दिएको छ । अहिलेको मन्दीमा लगानीकर्ताको नगद आवश्यकतालाई महसुस गरेर कम्पनीले १० प्रतिशत बोनस र करसहित १० दशमलब ५३ प्रतिशत नगद लाभांश समेत घोषणा गरेको हो । कम्पनीले असोज ३० गते साधारण सभा आह्वान गरेर असोज १६ गते बुक क्लोजको सूचना प्रकाशित गरेका छन् । कम्पनीको लाभांश खान चाहने लगानीकर्ताले असोज १६ गते अगावै बैंकको शेयर खरिद गर्नुपर्नेछ ।

लाभांश घोषणा गरेका पाँच वटा बैंकमध्ये सबैभन्दा ढिला साधारण सभा भने सानिमा बैंकले घोषणा गरेको छ । बैंकले कात्तिक २ गते साधारण सभाको आह्वान गरेको हो । बैंकले ९ प्रतिशत बोनस र ५.७ प्रतिशत नगद लाभांश गरी कुल १४.७ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकको लाभांश प्राप्त गर्न भने असोज २९ गत अगावै कम्पनीको शेयर खरिद गर्नुपर्नेछ ।

गत आर्थिक वर्षको नाफाबाट अहिलेसम्म ५ वटा वाणिज्य बैकसँगै एक लघुवित्त, एक होटल र १५ वटा म्युचुएल फन्ड गरी २२ वटा सूचीकृत संस्थाले लाभांश घोषणा गरेका छन् ।

 

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।