सामान्यतया अक्टोबर २ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । आज मौसम बाहिरिने अनुमान गरिएकाे भएतापनि यसपाली मनसुन केही दिन लम्बिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । यसका साथै अझै मनसुन बाहिरिन करिब हप्ता दिन लाग्ने अनुमान पनि उनले गरेका छन् ।
यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले माैसमी बदली रहेकाे छ ।
पौडेलका अनुसार अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षा समेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने हुन्छ । उनले भने,‘अहिले धानबाली भित्र्याउने बेला हो, काटेको धान छ भने भित्राइहालौं र काट्ने बेलाको धान छ भने नकाटौं । दुईरतीन दिन रहने यो प्रणालीले धान बिगार्छ, खुलेपछि मात्रै काटौं'।
नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । अहिले नेपालको कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेकाे छ । भारतको उडिसा, छत्तिसगढ, विहारलगायत क्षेत्रमा पनि मौसम बदली छ । आज देशभर जसो नै बादल लाग्ने र धुम्म हुने र घाम लाग्ने सम्भावना कम रहेकाे पनि उनले बताएका छन् । साँझपख कतिपय ठाउँमा वर्षा पनि हुने पाैडेलले बताए ।
जल तथा मौसम विज्ञान विभागले दुई वर्ष अघि मनसुन भित्रिने समय जुन १३ र बाहिरिने समय आज २ अक्टोबरलाई अनुमान गरेको थियो । त्यसअघि भित्रिने समय जुन १० र बाहिरिने समय सेप्टेम्बर २३ थियो । हरेक १० वर्षको विष्लेषण गरेर यसरी मिति अनुमान गर्ने गरिन्छ । पछिल्लो समयमा तोकेको मितिभन्दा ढिला गरी मनसुन बाहिरिरहेको छ । मनसुन भित्रिन पनि ढिला गरिरहेको छ । यही साल पनि मनसुन एक दिन ढिला गरी भित्रिएको थियो भने बाहिरिन पनि समय लाग्ने देखिएको छ ।
यो वर्ष नेपालमा ३१ जेठमा मनसुन भित्रिएको थियो । तर त्यसको नौ दिनपछि मात्रै ८ असारमा मनसुन देशैभरी फैलिएको थियो । सुरुमा कोसी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भू–भागमा मनसुन आगमन भएको थियो । यसपाली मनसुनको सुरूवाती समयमै पूर्वी नेपालमा भारी भारी वर्षापछिको बाढी र पहिरोले वितण्डा मच्चाउँदा ठूलो धनजनको क्षति भएको छ ।
यसपाली १२ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान थियो । मनसुनका समयमा औसतभन्दा कम पानी पर्ने आँकलनसमेत गरिएको थियो । औसतभन्दा कम पानी पर्ने अनुमानका बीच केही स्थान केन्द्रित भएर मनसुनी वर्षा हुँदा भने पूर्वी र पश्चिम नेपालललगायत केही स्थानमा भने ठूलो जनधनको क्षति गराएको छ । जल तथा मौसम विज्ञान विभागले विगत १० वर्षको मनसुनी प्रणाली विष्लेषण गरेर केही वर्षअघि निकालेको निष्कर्षका आधारमा सामान्यतः मौसम बाहिरिने दिन आजलाई अनुमान गरेको थियो ।