मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट, ६ जनाले पाए ११ कित्ताका दरले शेयर

Nov 02, 2023 09:18 AM Merolagani



कात्तिक १६ गते, बिहीबार, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ। सोमध्ये १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएका छन् भने १ हजार २७६ आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिक अनुसार गोलाप्रथा प्रक्रिया मार्फत लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १२ हजार ३८१ जनाले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा ६.४५ कित्ता शेयर रहेकोले सो शेयर पनि १२ हजार ३८१ जनामा नै बाँडफाँट गरिएको छ। अर्थात ६ जनाले लघुवित्तको थप एक कित्ता शेयर प्राप्त गरेका छ भने एक जना ०.४५ कित्ता शेयर प्राप्त गरेको छ।