लकिङ पिरियड सकिएपछि शेयरको आपूर्ति बढ्न जादा हाइड्रोपावरको शेयर मूल्य घट्न पुग्याे, माग बढाउने नीति ल्याउन माग

Dec 01, 2023 05:55 AM Merolagani



शेयर बजारमा शेयरको माग र आपूर्तिले शेयरको मूल्य निर्धारण हुन्छ । पछिल्लो समय हाइड्रोपावर समूहमा सूचीकृत कम्पनीहरुको लकिङ पिरियड धमाधम सकिदैँ जाँदा त्यस समूहकाे शेयरको आपूर्ति बढ्न गई शेयर मूल्य घट्न पुगेको छ ।

बिहीबार तीन वटा कम्पनीको शेयरमा नकारात्मक सर्किट लाग्यो । विजय लघुवित्त, माउन्टेन इनर्जी नेपाल र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर गरी तीन वटा कम्पनी नै नकारात्मक सर्किट लागेर घटे । विजय लघुवित्तको अघिल्लो दिन सर्किट लागेर बढेको कारण घटेको भए पनि युनाइटेड इदी मार्दी र माउन्टेन इनर्जीको भने लकिङ पिरियड सकिएपछि आपूर्ति बढेर मूल्य घटेको हो ।

लगानीकर्ताले हकप्रद र आईपीओ धेरै स्वीकृत गरेर बजारमा शेयर आपूर्ति बढाउने तर बजारमा शेयरको माग बढाउने कुनै नीति नबनाएको आरोप लगाएपछि धितोपत्र बोर्डले पछिल्लो समय हकप्रद र आईपीओ निष्काशन स्वीकृतिमा नियन्त्रण गरेको छ । पछिल्लो पटक हिमालयन रिइन्स्योन्सको प्रिमियम आईपीओ स्वीकृत भएपछि नयाँ कम्पनीलाई धितोपत्र बोर्डले नयाँ स्वीकृति दिएको छैन । हाइड्रोपावरको हकप्रद निष्काशनका साथै नयाँ निष्काशनमा पनि सरकारले कडाई गरेको छ । लगानीकर्ताको व्यापक गुनासोपछि सरकारले बजारको आपूर्ति पक्षलाई नियन्त्रण गर्न खोजेको जस्तो देखिए पनि ३ वर्षको लकिङ पिरियडपछि खुला हुने संस्थापक शेयरका कारण बजारमा आपूर्ति अझै नियन्त्रण हुन सकेको छैन । यही हप्ता यु्नाइटेड इर्दी मार्दी र माउन्टेन इनर्जीको संस्थापकहरुको लकिङ पिरियड सकिएको हो । लकिङ पिरियड सकिएपछि हाइड्रोपावर कम्पनीको सर्वसाधारण शेयर सरह नै संस्थापक शेयर समेत बिक्री वितरण गर्न पाइने व्यवस्था छ । २० देखि ३० प्रतिशत मात्रै सर्वसाधारणमा जारी गरिएको हुन्छ । ७० प्रतिशतभन्दा बढी हिस्सा संस्थापककै हुने र ती सबै शेयर बिक्रीको लागि योग्य हुने हुँदा पछिल्लो समय लकडाउन पिरियड सकेका कम्पनीहरुको शेयर मूल्य बढ्न नसकेको एक हाइड्रोपावरका सञ्चालकले बताए ।

गत ३० अगस्ट २०२३ मा लिबर्टी इनर्जी कम्पनी लिमिटेडको लकिङ पिरियड सकियो । लकिङ पिरियड सकेको भोलिपल्टबाट लिबर्टीको शेयरमा भारी आपूर्तिका कारण तीन दिन नकारात्मक सर्किट लागेर कम्पनीको शेयर मूल्य झर्यो । २ सय २० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको लिबर्टीको शेयर अहिले १ सय ५० रुपैयाँ भन्दा मुनी कारोबार भइरहेको छ ।

प्रिमियममा शेयर निष्काशन गरेको शिवम सिमेन्टको शेयर मूल्य झन्डै २ हजारसम्मको मूल्यमा कारोबार भयो । संस्थापक शेयरको लकिङ पिरियड खुलेपछि उक्त कम्पनीको शेयर मूल्य झन्डै ४ सय रुपैयाँकै हाराहारीमा आयो । अहिले पनि ५ सयको हाराहारीमा मात्रै कम्पनीको शेयर कारोबार भइहरेको छ । प्रति कित्ता ७ हजारभन्दा बढी रुपैयाँमा काराेबार भएकाे हिमालयन डिष्टिलरीकाे शेयर पनि अत्यधिक बाेनससँगै आपूर्ति बढ्दा कम्पनीकाे शेयर मूल्य २ हजारभन्दा मुनी पुगेकाे छ ।

माग र आपूर्तिबीच समन्वय हुन नसक्दा पछिल्लो समय शेयर मूल्य घट्दै गएको हो । सेबोनले आपूर्ति पक्षलाई खुला गरे जस्तै एनआरएन र संस्थागत विदेशी लगानीकर्तालाई नेपाली शेयर बजारमा लगानी गर्न दिएर माग पक्ष समेत बढाउनुपर्ने माग लगानीकर्ताहरुले गर्दै आएका छन् ।

नेप्सेको कारोबार प्रणाली पूर्ण अनलाइनमा कारोबार भएपछि विदेश गएका नेपालीहरुले समेत अनलाइनबाट कारोबार गर्न सकिने व्यवस्था अहिले भइसकेको छ । अब नेपाली नागरिकता त्यागिसकेका एनआरएनहरुलाई पनि भित्र्याउन आवश्यक पहल गर्नुपर्ने लगानीकर्ता बाबुराम अर्यालले बताए ।