अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको कारणले गर्दा समग्र अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ। वैदेशिक रोजगारीमा जानेहरुले विप्रेषणबाट ठूलो रकम पठाउने गरेका छन्। अहिलेकै अवस्थामा पनि प्रत्येक महिना १ खर्बको हाराहारीमा विदेशी मुद्रा भित्रिएको छ। नेपाल जस्तो सानो आकारको आर्थिक संरचना भएको देशमा यो भनेको ठूलो रकम हो। त्यसैले भनिन्छ-देशको अर्थतन्त्र विप्रेषणले धानिएको छ।
अहिले अर्थतन्त्र निश्चय नै सुधारोन्मुख छ। देशको सोधनान्तर स्थिति बचतमा रहेको छ। त्यस्तै विदेशी मुद्राको सञ्चिति सन्तोषजनक छ। करिब ११ महिनाको आयात धान्न सक्ने वैदेशिक मुद्रा छ। पर्यटन क्षेत्र पनि राम्रो हुँदै गएको छ। पर्यटकहरुको आगमनले गर्दा सेवा क्षेत्र फस्टाउँदै गएको छ। रोजगारी आशा लाग्दो छ। टाउकोमा हात राखेर बसिरहेको अवस्थामा सुधार हुँदै गएको छ।
अर्को कुरा सरकारले आर्थिक वर्षको प्रारम्भदेखि नै आन्तरिक ऋण उठाएको हुनाले सरकारी खर्च प्रभावकारी हुने सम्भावना बढ्दै गएको छ र परिणाम स्वरुप विकास निर्माण कार्यले गति लिन सक्ने देखिन्छन्। यस अवस्थामा रोजगारीमा हुने वृद्धिबाट आयमा समेत वृद्धि हुनेछ। आयमा वृद्धि भए पछि लगानीमा पनि स्वतः वृद्धि हुनेछ।
अहिले सरकारको ढुकुटी पनि बलियो हुँदै गएको छ। वैदेशिक ऋण आई नै रहेको छ। अनुदान पनि थोर बहुत आएकै छ। प्रत्यक्ष वैदेशिक लगानी पनि सुधारोन्मुख हुँदै गएको छ। औद्योगिक उत्पादनको वातावरण बन्दै गएकोले सरकारले प्राप्त गर्ने राजस्वमा पनि सुधारका संकेत देखिन थालेका छन्। यसरी अहिले नेपालको अर्थतन्त्र सुधारोन्मुख हुँदै गएकोले शेयर बजारले पनि निश्चय नै गतीलिन सक्ने देखिन्छ। किनभने अर्थतन्त्र र शेयर बजार एक अर्कामा आवद्ध भएका हुन्छन्।
केही समय अघि अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक थिए र शेयर बजार पनि खस्कदै गएको थियो। शेयर बजार यसरी खस्कियो कि नेप्से १८५२ को हाराहारीमा झरेको थियो। अहिले अर्थतन्त्रका सूचकहरु सकारात्मक दिशातर्फ बढ्दै गएका हुँदा शेयर बजारमा पनि स्वतः सुधार आउछ नै।
शेयर बजारको अवस्था कमजोर हुँदै गएपनि यसभन्दा तल जाने अब अवस्था नै छैन। ३२ सयसम्म पुगेको नेप्से अहिले १८ सय ५२ मा आउनु भनेको निकै कमजोर स्थिति हो। अर्थात् यो भनेको सिमान्त अवस्था हो। यो भन्दा पनि तल झर्ने अवस्था नै देखिदैन। किनभने अर्थतन्त्र सिथिल अवस्थाबाट सुधारोन्मुख हुँदै गएको छ। यसले शेयर बजारलाई सहयोग गरेकै हुन्छ।
सरकारी क्षेत्र सुधारोन्मुख हुँदै गएकोमा यसलाई पछ्याउँदै बैंक तथा वित्तीय क्षेत्रमा पनि सुधार आएको अहिलेको अवस्था हो। अहिले तरलताको अभाव छैन। बैंकहरुमा तरलता थुप्रिएको छ। चर्को ब्याज भएको कारणले गर्दा कर्जाको माग बढ्न सकेको थिएन। अहिले बैंकहरुले निक्षेपमा ब्याजदर घटाएका हुनाले कर्जा लगानीमा पनि स्वतः ब्याजदर घट्ने नै हुन्छ। ब्याजदर घटेको अवस्थामा उद्योगी व्यवसायीहरुको मागमा वृद्धि हुन्छ र आन्तरिक उत्पादनमा समेत वृद्धि हुने अवस्था छ।
ब्याजदर घटेको अवस्थामा कर्जा प्रवाह बढी हुने गर्दछ। यस्तो अवस्थामा निर्धारित क्षेत्रको अतिरिक्त अन्य क्षेत्रमा पनि लगानी जान सक्ने सम्भावना भने हुन्छ। किनभने उद्योगी व्यवसायीहरुले तुरुन्त नै प्रतिफल दिने क्षेत्रमा लगानी गर्न चाहेका हुन्छन्। यसलाई सम्बन्धित नियमन निकायले अनुगमन गर्नु पर्दछ। तरलताको अभाव नहुनु, ब्याजदर घट्दै जानु, अन्तर्राष्ट्रिय बजारमा समेत सुधारका संकेत देखिनु, अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आउनु, उत्पादनमूलक क्षेत्रमा लगानी प्रवाह हुने वातावरण बन्दै जानुजस्ता कुराहरुले निश्चय नै शेयरबजारलाई उकास्न सहयोग गरेका हुन्छन्।
शेयर बजारलाई सुक्ष्म रुपले अध्ययन गर्ने हो भने शेयर खरिद गर्ने अहिले उपयुक्त समय हो। किनभने शेयरको मूल्य यसरी तल गएको छ कि यस भन्दा तल जाने अब ठाउँ नै छैन। ठाउँ नै नभए पछि जाने कुरै भएन। अहिले कतिपय कम्पनिहरुको शेयर आईपीओकै मूल्यमा पाउन सकिन्छन्। ती कम्पनीहरुको अवस्था कमजोर भएको कारणले गर्दा नै यसरी मूल्य घटेको हो। यस्ता कम्पनीहरुको शेयरले तत्कालै फाइदा दिन सक्ने हुँदैनन्। केही समय प्रतीक्षा गर्नै पर्दछ। अहिले शेयरको मूल्य निकै घटेको हुँदा औसत कम्पनीहरुको शेयर खरिद गर्नु राम्रो हुन्छ किनभने यस्ता कम्पनीहरुको शेयर अहिले केही कमजोर भएपनि पछि उकासिने सम्भावना बढी भएको हुन्छ। तत्कालको अवस्था भन्दा पनि भविष्यमा दिन सक्ने प्रतिफललाई ध्यान दिनु पर्दछ।
दशैँ तिहारजस्ता ठूला चाडवाड सकिएका हुँदा तत्कालै यस्ता कार्यमा खर्च गर्नु पर्ने अवस्था छैन। साधारण मानिसले पनि थोरै थोरै रकम बचत गर्न सक्ने अवस्था बन्न सक्ने हुन्छ। बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै गएकोले तरलताको अभाव देखिदैन। अर्को कुरा बैंकहरु आफैले ब्याजदर निर्धारण गर्न सक्ने भएकोले पनि ब्याज घटाउने सन्दर्भमा एक प्रकारको प्रतिस्पर्धा नै देखिएको छ। ब्याजदर घट्दै जानु भनेको शेयर बजारको अनकुलता हो। समग्र अर्थतन्त्र चलायमान हुँदै गएकोले पनि उद्योग तथा व्यवसायीहरुबाट कर्जामा माग बढ्दै गएको छ। अहिले बजारमा सबैका हात हातमा पैसा पुगेको कारणले गर्दा पनि तरलताको अभाव देखिएको छैन र अर्थतन्त्र सकारात्मक दिशातिर अघि बढ्दै गएको छ।
शेयर बजार खस्कनु भनेको देशको अर्थतन्त्र कमजोर हुनु हो। त्यसकारण शेयर बजारलाई प्रभावकारी बनाउन अहिले देशको केन्द्रीय आर्थिक संगठनको रुपमा रहेको अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र अन्य सम्बन्धित निकायहरु क्रियाशील भएका छन्। देशको अर्थतन्त्र बिग्रियो भने यी संगठनहरु बढी जिम्मेवार हुन्छन्। अहिले सबै क्षेत्रबाट देशको आर्थिक अवस्था सुधार्न लागि परेका हुनाले पनि अबको बाटो उज्याले तर्फ नै गएको देखिन्छ।
आर्थिक वर्ष ०८०/०८१ को मौद्रिक नीतिमा पनि शेयर धितो कर्जामा ४ करोडको सीमा हटाइएको र १२ करोडको सीमालाई पनि बढाएको कारणले गर्दा पनि शेयर बजारमा सुधार आउन सक्ने हुन्छ। कर्जाको सीमा पनि व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोड कायम गरेको छ। जोखिमभार पनि १५० प्रतिशतबाट बाट १०० मा झारेको छ। यी प्रावधानहरुले निश्चय नै शेयर बजारलाई सहयोग पुर्याउने काम गरेकै हुन्छन्।
शेयर बजारलाई उकास्ने विषयमा अहिले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले लचिलो नीति अवलम्बन गर्ने सम्भावना बढेको देखिन्छ। अर्को कुरा अहिले मौद्रिक नीतिको समीक्षा हुन गइरहेको छ। सबैको चासो यसैतर्फ केन्द्रित भएको छ। अर्थतन्त्र खस्कदै गएको हुनाले निश्चय नै मौद्रिक नीतिले शेयर बजार बारे सम्बोधन गर्ने नै छ।
त्यस्तै गरी बैंकहरुले पनि ब्याजदर घटाउँदै गएका र तरलताको अभाव नभएको हुँदा उद्योगी व्यवसायीहरुले पनि सहज रुपमा आवश्यकता अनुसार कर्जा लिन सक्ने अवस्था छ। यसरी शेयर बजारको लागि अनकुलता बन्दै गएकोले शेयर खरिद गर्ने अहिलेको उपयुक्त समय हो। न्यून विन्दुमा शेयरको मूल्य पुगेकोले पनि यस्तो अनुकुलताको अवसर नगुमाउनु नै राम्रो हुनेछ। तर, बढी प्रतिफल प्राप्त गर्नको लागि भने केही समय पर्खनै पर्दछ।
(लेखक नेपाल सरकारका पूर्व उपसचिव हुन्।)