जीवन बीमाको दायरा बागमतीमा सर्वाधिक, अन्यमा किन हुन सकेन विस्तार ?

Dec 01, 2023 12:31 PM Merolagani



मुलुकको जीवन बीमाको दायरा बागमती प्रदेशमा सबै भन्दा धेरै देखिएको छ । सातै प्रदेश मध्ये बागमती प्रदेशमा सर्वाधिक ४६ प्रतिशत भन्दा धेरैले विस्तार भएको हो ।

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको कात्तिक महिनामा जीवन बीमाको दायरा बागमती प्रदेशको तुलनामा अन्य प्रदेशको दायरा अपेक्षित रूपमा विस्तार हुन नसकेको तथ्यांकले देखाउछ । बीमा प्राधिकरणले बीमाको दायरा बढाउन प्रदेश प्रदेशमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेतापनि राम्राे नतिजा आउन सकेको छैन् ।

हाल सञ्चालनमा आएका जीवन बीमा कम्पनीहरुले एक करोड ३७ लाख १९ हजार ७२५ बीमालेख जारी गरी ५० अर्ब ३९ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको बीमा शुल्क आर्जनको आधारमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशले मात्रै उत्साहजनक प्रगति भएको छ । चालु आर्थिक वर्षको कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क मध्ये ४६.४१ प्रतिशत रहेको छ । बागमतीमा ९८ लाख २७ हजार ९२७ बीमालेख बिक्री गरी २२ अर्ब ९४ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा १४.६५ प्रतिशत अर्थात ७ अर्ब २४ करोड रुपैयाँ, कोशी प्रदेशमा ११.७४ प्रतिशत अर्थात ५ अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन ।

साथै, गण्डकी प्रदेश प्रतिशतमा ९.९९ प्रतिशत अर्थात चार अर्ब ९३ करोड रुपैयाँ, मधेशमा चार अर्ब २८ करोड रुपैयाँ र सुदरपश्चिम प्रदेशमा दुई अर्ब ८४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिमा कर्णाली प्रदेशमा सबै भन्दा कम बीमा शुल्क आर्जन भएको छ । यस प्रदेशमा एक लाख ८१ हजार ९७८ बीमा लेखबाट एक अर्ब ३७ करोड रुपैयाँ मात्रै आर्जन भएको हो । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको २.७९ प्रतिशत मात्रै हुन आउँछ । 

सावधिक जीवन बीमामा आकर्षण

जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आएका योजनाहरु मध्ये सावधिक जीवन बीमा योजना बीमितहरुको आकर्षण देखिएको छ । चालु आार्थिक वर्षको कात्तिक महिनामा नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरणमा त्यस्तो देखिएको हो ।

कात्तिकमा सावधिक बीमा अन्तर्गत जीवन बीमा कम्पनीहरुले २१ लाख १२ हजार ३४८ वटा बीमालेख जारी गरी २० अर्ब ९० करोड दुई लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्कको ४१.४७ प्रतिशत रहेको छ ।

प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा एकल बीमा शुल्क जीवन योजनामा सबै भन्दा थोरै अर्थात ०.५८ प्रतिशत आकषर्ण रहेको पाइन्छ । यस अवधिमा एकल बीमा शुल्क जीवन बीमा योजना मार्फत ३५ हजार २४० बटा बीमा लेखबाट २९ अर्ब २८ करोड रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनाबाट २१.९५ प्रतिशत अर्थात ११ अर्ब ६ करोड रुपैयाँ, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा १४.६९ प्रतिशत अर्थात ७ अर्ब ४० करोड रुपैयाँ, रुपान्तरित जीवन बीमा १२.६२ प्रतिशत अर्थात ६ अर्ब ३६ लाख रुपैयाँ योगदान रहेको छ ।

साथै आजीवन जीवन बीमाको २.८१ प्रतिशत, लघु जीवन बीमा तथा बैदेशिक रोजगार म्यादी जीवन बीमा १.३० प्रतिशत र म्यादी जीवन बीमाको २.८१ प्रतिशत योगदान रहेको छ ।