बेलायतको स्पेक्ट्रलाइट युकेले किन्यो आजियाटाले बिक्री गरेको एनसेलको ८० प्रतिशत शेयर

Dec 01, 2023 06:16 PM Merolagani



आजियाटा समूहले बिक्री गरेको एनसेलको ८० प्रतिशत शेयर बेलायतको स्पेक्ट्रलाइट युकेले किनेको छ ।

स्पेक्ट्रलाइटका संचालक सतिशलाल आचार्य हुन । उक्त कम्पनीले आजियाटाको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेको एनसेलले जनाएको छ ।

बुधबार व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो।

एनसेलमा मलेसियन आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत शेयर स्वामित्व थियो। बाँकी २० प्रतिशत सेयर सतिशलाल आचार्यको कम्पनी सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्व छ। आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको उल्लेख गरेको छ ।

स्पेक्ट्रलाइटको वेवसाइटका अनुसार यो कम्पनी २०२३ सेप्टेम्बरमा मात्रै खुलेको हो । जसमा सतिशलाल आचार्य र डेन्टन्स् सेक्रेटरिज लिमिटेडको संयुक्त लगानी रहेको खुलेको छ । यता आजियाता समुहले बिक्री गरेकाे एनसेलको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूकेले खरिद गरेकै दिन  आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

 

न्यायाधीश दीपेन्द्र अधिकारीको एकल इजलासले मंसिर २५ गते दुबै पक्षलाई छलफलमा बोलाउने गरी शुक्रबार आदेश दिएको हो । त्यसविरुद्ध गोकुल बहादुर रोकायाले उच्च अदालतमा रिट निवेदन दिएका थिए । दुबै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ ।