अधिक तरलता भएपछि एक प्रतिशतभन्दा कम ब्याजदरमा नै बैंकहरुले राखे राष्ट्र बैंकमा निक्षेप, सरकारी ऋणपत्रको ब्याजदर पनि घट्दै

Dec 05, 2023 01:36 PM Merolagani



बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि बैंकहरु १ प्रतिशतभन्दा कम ब्याजदरमा नै राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार मंसिर १४ गते राष्ट्र बैंकले आह्वान गरेको बोलकबोलमा बैंकहरुले १ प्रतिशतभन्दा कम ब्याज राखेर बोलकबोल पेश गरेका छन्।

केन्द्रीय बैंकले बजारमा अधिक तरलता रहेको कारण बजारबाट तरलता खिच्न १० अर्ब रुपैयाँको निक्षेप संकलनको बोलकबोल खुल्ला गरेको थियो। जसमा ९ वटा बैंकले निक्षेप राख्नको लागि बोलकबोल पेश गरेका थिए। १० अर्बको निक्षेपको लागि आवेदन माग्दा बैंकहरुले २५ अर्बको लागि आवेदन दिएका थिए। जसमा बैंकहरुले न्युनतम ०.८७१७ प्रतिशतदेखि अधिकतम १.०४९९ प्रतिशतसम्म ब्याजदर पेश गरेका थिए। जसमा ०.९८८६ प्रतिशत ब्याजदर कायम भएको बैंकले जनाएको छ।

राष्ट्र बैंकले यसअघि माग गरेको आवेदनमा १.०४९८ प्रतिशत ब्याजदर कायम भएको थियो। पछिल्लो समय यस्तो ब्याजदर निरन्तर घट्दै गएको छ।

यसैगरी सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने सरकारी ऋणपत्रको ब्याजदर पनि घट्दै गएको छ। राष्ट्र बैंकले मंसिर १८ गते जारी गरेको ९१ दिन अवधिको ट्रेजरी विल्सको ब्याजदर २.६२०३ प्रतिशत कायम भएको छ। यसअघि ९१ दिन अवधिको ट्रेजरी विल्सको दर ३.९११५ प्रतिशत कायम भएको थियो।

यसैगरी १८२ दिन अवधिको ट्रेजरी विल्सको दर ३.२९८७ कायम भएको छ। यसअघि १८२ दिन अवधिको ट्रेजरी विल्सको दर ३.८७७१ प्रतिशत थियो। चालु आर्थिक वर्षको सुरुवातदेखि नै ट्रेजरी विल्सको दर घट्दै आएको छ। बैंकहरुले तरलता बढ्दै जाँदा बैंकहरुल सस्तो ब्याजदरमा नै सरकारलाई ऋण दिन तयार भएका छन्।

यसबाहेक विकास ऋणपत्र, नागरिक बचतपत्र लगायतको पनि ब्याजदर घट्दै गएको छ। सस्तो ब्याजदरमा ऋण पाउदा सरकारलाई भने ब्याजको भार केहि कम हुने देखिन्छ।