अहिलेको शेयर बजार, नयाँ ब्रोकर कम्पनीहरुको उपस्थितीलगायतका विषयमा आधारित भएर 'शेयर गफ' मा ब्रोकर एशोसियशनका महासचिव तथा सन सेक्यूरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीसँग सुधा देवकोटाले गरेको कुराकानीको केहि अंशः
पूँजी बजारमा तपाईको लामो समयको अनुभव तथा पछिल्लो समय ब्रोकरको रुपमा तपाईको उपस्थिती रहेको छ । अहिले नयाँ ब्रोकर कम्पनीहरुको बजारमा भएकाे उपस्थितीलाई कसरी हेरिरहनु भएकाे छ ?
अहिलेको अवस्थामा नयाँ ब्रोकर कम्पनीको रुपमा बजारमा काम गर्दै आएका छौं । लामो समयको सघर्ष गरिसकेपछि मात्र नयाँ ब्रोकरहरुले बजारमा कारोबार गर्न पाउने बाटो खुला भएको छ । नयाँ थप भएका ब्रोकर कम्पनीहरु धेरै व्यवसायीक भएर आएका छन् । उनीहरुको प्राथमिकतामा लगानीकर्ताहरुलाई दिइने सेवा सुविधा रहेका छन् । प्रविधिको विकासको लागि सुरुवाती दिनदेखि नै तयारी गरिएको छ ।
नयाँ ब्रोकर कम्पनीहरुले काम सुरुवात गर्दै गर्दा पहिलेको उत्साहित बजार भन्दा अत्यान्त तल रहेको छ । यो अवस्थामा दैनिक कारोबार रकम मात्र होइन, ग्राहकहरुको बजार प्रति हेर्ने दृष्टिकोण र विश्वासमा कमी आएको देखिएको छ । त्यसको प्रभाव नयाँ ब्रोकर कम्पनीहरु सहित पुराना ब्रोकरहरुमा समेत परेकाे देखिएको छ ।
लगानीकर्ताले नयाँ ब्रोकर कम्पनी मार्फत गुणस्तरिय र प्रविधि मैत्री सेवा चाहेका छन् । पुराना ब्रोकर कम्पनीहरुले पनि प्रतिस्प्रर्धा बढेको महसुस गर्न थालेको देखिएको छ । त्यसले गर्दा बजारमा थाप उत्साह बढाउने काम भएको छ ।
नयाँ ब्रोकरहरु बजारमा प्रवेश गर्दा बजारमा थप उत्साह बढ्ने विश्वास गरिएको थियो । तर अहिले नयाँले कारोबार सुर गरेको आधा वर्ष भइसक्दा पनि त्यसकाे छनक बजारमा देख्न पाइएको छैन किन होला ?
ब्रोकर कम्पनी दिने भनेकाे शेयर कारोबार सम्बन्धी सेवा सुविधा मात्र हाे । नयाँ ब्राेकरकाे सेवा सुविधा देखेर लगानीकर्ताहरुमा उत्साह र आकर्षण देखिएको छ । तर बजारमा उत्साह आउनको लागि लगानीकर्ताहरुले नीतिगत परिवर्तन र स्थायित्व चाहेका छन् । त्यो पाउन सकेको अवस्था छैन । नेपाल राष्ट्र बैंकले कर्जामा कडाई गरेको छ । थोरै खुकुलो बनाउन खोजिएको भएतापनि लगानीकर्ताले चाहे जस्तो बैंकले सहजीकरण नगर्दा मार्केटमा दबाव देखिएको छ । जसकारण लगानीकर्ताहरु विश्वस्त हुन सकिरहेका छैनन ।
लगानीकर्ताले ठूलो पुँजी ल्याएर लगानी गराैं भन्ने वातावरण बन्न नसक्दा बजार कमजोर बनेको छ । सरकारले पनि बजारलाई सहि दिशा निर्देश गर्ने काम गर्न सकिरहेको छैन । त्यसैले बजारमा लगानीकर्ताको जुन किसिमको प्रवेश चाहेका छौं, त्यो हुन सकिरहेको छैन । यस्तो अवस्थामा पनि नयाँ लगानीकर्ताहरुलाई बजारमा प्रवेश गराउन पहल गरेका छन् । नयाँ ब्रोकर कम्पनीहरुले कारोबार गराउन सुरु गरेको धेरै नभएता पनि पुरानाहरु सरह नै बजारमा आफ्नो उपस्थिती दर्शाउँदै आएका छन् ।
अहिले अर्ब बढीको कारोबार नभइ रहेको बजारमा पुराना ब्रोकरलाई समेत समस्या परेको सुनिन्छ । नयाँ ब्रोकरहरु कसरी सञ्चालन भएका छन ? त्यसमाथि काराेबार लिमिटका कुराहरु आउने गरेको छ । त्यसलाई कसरी ब्यवस्थापन गर्नु भएको छ ?
बाहिरबाट हेर्दा जति सजिलो देखिएको छ, व्यवसायमा आएपछि त्यति नै चुनौतीहरु रहेका हुन्छन् । त्यसमाथि कुनै निकायको नियमनमा बसेर काम गर्न झनै धेरै चुनौतीहरु रहेका हुन्छन । केही ब्रोकर कम्पनीहरु नोक्सानीमा नै सञ्चालन भएका छन् । विस्तारै हामीले के आशा गरेका छौं भने नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई प्रडक्टकाे क्षेत्रमा लगानी विस्तार गर्न दिने छ भन्ने विश्वास गरेका छौं । मार्जिन कारोबार, पोर्टफोलियो व्यवस्थापन, कमोडिटको कारोबार खुला गरायो भने ब्रोकर कम्पनीको व्यवसायीक दायरा विस्तार हुने थियो । जसले गर्दा आम्दानीका स्रोतहरु बढ्ने आशा गरिएको छ ।
शेयर कारोबार भइसके पछिका भुक्तानी व्यवस्थापनमा लगानीकर्ता र ब्रोकर बीचमा सधै गुनासो रहेको हुन्छ । यस्तो समस्या सहजीकरण गर्नको लागि के गर्नु पर्छ ?
यसमा दुई वटा कुरा गर्नुपर्ने देख्छु । अहिले शेयर कारोबार प्रणाली उधारोमा आधारित छ । ग्राहकहरुले २५ प्रतिशत धितो राखेर ७५ प्रतिशत शेयर किनिसकेपछि मात्र दिने भन्ने व्यवस्था छ । भुक्तानीमा हुने समस्या विस्तारै कम भएको छ । यसमा सुधार गर्दै जानुपर्ने पक्ष भनेको २५ प्रतिशत मार्जिन लिने व्यवस्था गरिएको छ । यस व्यवस्थाले अहिलेको बजार क्यास मार्केट हो कि मार्जिन हो भन्ने कुरामा दुबिधा बनाएको छ । केही ग्राहकले पैसा तिर्न ढिला गर्ने हो भने त्यो शेयरलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा स्पष्ट व्यवस्था नहुदा भुक्तानीमा समस्या भएको अवस्था छ ।
भुक्तानीलाई नियमित बनाउनको लागि सेटलमेन्ट ग्यारेन्टी फण्डलाई परिचालित बनाउनु पर्ने हो । सरकारी निकायमा रहेको विभिन्न कोषहरुमा रहेको पैसा ल्याउन नेपाल धितोपत्र बोर्डलाई अनुरोध गरेका छौं । उक्त फण्डमा रहेको पैसा उचित रुपमा परिचालन गर्न सकियो भने भुक्तानीमा देखिएको यो सामस्या कम हुन सक्छ ।
अर्को तर्फ ग्राहकको सेटलमेट बैंक खाता खोल्ने व्यवस्था गर्ने र त्यसमा आएको पैसा ग्राहकले टिएमएसबाट नै ब्रोकरलाई भुक्तानीको अनुमति दिने हो भने पनि यो समस्या कम हुन सक्ने छ ।
बजारप्रति लगानीकर्ताको विश्वासमा कमी छ । लगानीकर्ताको आत्मविश्वास बढाउन के गर्नुपर्छ होला ?
यहा लगानीकर्ताको विश्वास बलियो बनाउको लागि सरकारको ठूलो भुमिका हुन्छ । सरकारले बजारसँग सम्बन्धित नीतिहरु बनाउँदा स्थिर र ठोस नीतिहरु अवलम्बन गर्नुपर्ने हुन्छ । अहिले नीतिगत रुपमा दिशानिर्देश राम्रोसँग नभएको अवस्था हो ।
अहिले आर्थिक गतिविधिहरु कम भएका छन् । महँगी बढेको छ । लगानीकर्ताहरुले त्यसलाई पनि ध्यान दिएर हेर्नु भएको छ । अहिले बैकमा प्रशस्त मात्रमा तरलता छ । तर ऋण लिन बैंकको लागत धैरे भएकै कारणले गर्दा लगानीकर्ताहरु ऋण लिएर लगानी गर्न आँट गर्न सकिरहेका छैनन् । बजारमा कारोबार कसरी बढाउन सकिन्छ, कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा सरकारले नीतिगत रुपमा नै व्यवस्था गरेर लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्ने हुन्छ ।