यातायात व्यवस्था कार्यालय कोशीका पूर्व प्रमुखसहित पाँच जना कारागार चलान

Dec 05, 2023 05:41 PM MEROLAGANI



यातायात व्यवस्था कार्यालय कोशीका पूर्व प्रमुखसहित पाँच जना कारागार चलान भएका छन् ।

विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् । उनीहरूमाथि राजस्व हिनामिनाकाे अभियाेग थियाे ।

 जेल जानेमा तत्कालिन कार्यालय प्रमुख नेपाल, लेखापाल मणिराज दाहाल, कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कोशीका कर्मचारीहरुविरुद्ध भ्रष्टाचार र राजस्व हिनामिना गरी दुई वटा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले ८ चैत २०७९ मा विशेष अदालत काठमाडौँले उनीहरुलाई दोषी ठहर गरेको थियो ।

यातायात व्यवस्था कार्यालय सवारी, कोशी इटहरीको आर्थिक वर्ष २०६९–०७० र २०७०–०७१ मा ८ करोड ९६ लाख १७ हजार ६२ रुपैयाँ राजस्व हिनामिना भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७१–०७२, २०७२–०७३ र २०७३–०७४ फागुन मसान्तसम्म ६१ करोड २१ लाख २८ हजार ५५५ रुपैयाँ राजस्व हिनामिना भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।