आठ बर्ष अघि एक खर्ब ४३ अर्बमा खरिद भएको शेयर आचार्यको कम्पनी स्पेक्ट्रलाइटले ५ करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँमा खरिद गरेपछि अबौं घोटालाको आशंकामा नेताहरुले आक्रोश पोख्न थालेका हुन ।
एनसेलको शेयर खरिदबिक्री प्रकरणले सुस्त रहेको संसदीय समितिहरु पनि छलफलमा जुटका छन् । भोलि नै अर्थसमिति, लेखा समितिले एनसेलको शेयर बिक्रीको बिषयमा छलफल गर्दैछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि संयुक्त अरब इमिरेट्सको (दुबई)मा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भएर सोमबार फर्किने क्रममा एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न निर्देशन दिइसकेका छन् ।
‘नेपाल सरकारको सहमतिबिना एनसेल किनबेच हुँदैन,’ उनले भने, ‘टिम बनाएर सरकारले त्यसबारे अध्ययन गदैछ।’ उनले सो किनबेचको प्रक्रिया अघि नबढ्ने पनि बताए।
त्यस्तै मंगलबार नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि एनसेल खरिद प्रकरणमा सहजै अबौं घोटाला भएको अनुमान गर्न सकिने बताए । उनले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् ।
मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौ रुपैयाँ घोटाला भयो भन्ने कुराको अनुमान लगाउन सकिने बताएका हुन ।
त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् । ‘६ बर्षपछि सरकारी स्वामित्वमा आउनुपर्ने एनसेल चलखेलका कारण यो अवस्था आएको हो,’ उनले भने ‘राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन।’
खासगरी ८ बर्ष अघि १ अर्ब ३१ करोड ५० लाख अमेरिकी डलर अर्थात १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको सम्पत्ति कसरी आजियाटाले ५ करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँमा बिक्री भयो भन्ने प्रश्न उठेको छ । कम्पनीमा रहेको मलेसियाली आजियाटा समूहको शेयर किनबेचमा पूर्वप्रधानमन्त्रीदेखि सांसदहरुसम्मले अपारदर्शी भन्दै प्रश्न उठाएका हुन्। रास्वपाका अधिकांश सांसदले यो शेयर खरिदबिक्री अस्वभाविक रहेको टिप्पणी गरेका छन् ।
हालसम्म प्रमुख प्रतिपक्षी दलका नेता भने एनसेल प्रकारणमा बोलेका छैनन् । एनसेलको शेयर ५ करोड डलरमै बिक्री गरी बाहिरिएको बताएपछि यसले राजनीतिज्ञहरुको ध्यान खिचेको छ ।