सजिलै चुक्ता पुँजी पुर्याउन सक्ने अवस्थामा प्रिमियममा आईपीओ निष्काशन गरेका लाइफ इन्स्योरेन्सहरु

Dec 06, 2023 06:36 AM MeroLagani



नेपाल बिमा प्राधिकरणले पछिल्लो समय चार वटा जीवन बिमा कम्पनीलाई प्रिमियममा आईपीओ निष्काशन गर्न स्वीकृति दियो । प्रिमियममा आईपीओ निष्काशन गरेका कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउन प्रिमियम रकम उपयोग गर्न दिने भएको छ ।

नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले जीवन बिमा कम्पनीहरुलाई चुक्ता पुँजी पुर्याउने प्रयोजनको लागि प्रिमियम रकम प्रयोग गर्न दिइने बताए । बिमा प्राधिकरणको स्वीकृतिमा धितोपत्र बोर्डले सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, आईएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सलाई प्रिमियममा शेयर निष्काशन गर्न अनुमति दिएको थियो । यी नयाँ बिमा कम्पनीहरुले प्रिमियमको रकम नगद लाभांश नदिएर बोनस नै दिएर चुक्ता पुँजी बढाउनुपर्ने प्रवक्ता पौडेलले बताए ।

बिमा प्राधिकरणले गत आर्थिक वर्षको असार मसान्तसम्म जीवन बिमा कम्पनीहरुलाई चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने समयसीमा दिए पनि धेरै कम्पनीहरुले पुर्याएका छैनन । नेपाल लाइफ, नेसनल लाइफ र हिमालयन लाइफबाहेक अन्य कम्पनीहरुले चुक्ता पुँजी पुर्याउन सकेका छैनन । बिमा प्राधिकरणका प्रवक्ता पौडेल भने धेरै कम्पनीहरुले पुँजी योजना अनुसार गत वर्षको नाफालाई पुँजीकृत गरेर बाँकी रकम हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको बताए । एक्चुरी भ्यालुएसनका कामहरु प्रायः नेपालमा नहुने हुँदा जीवन बिमा कम्पनीहरुले गत वर्षको नाफाबाट कतिसम्म लाभांश दिन सक्ने भन्ने विषय नै निक्याैल नभएका कारण तोकिएको पुँजी पुर्याउन ढिलाई भइरहेको हो ।

बिमा प्राधिकरणका प्रवक्ता पौडेलका अनुसार प्रिमियममा आइपीओ निष्काशन गरेका बिमा कम्पनीलाई प्रिमियम बराबरको रकम बोनस शेयर दिएर पुँजीकृत गर्न लगाई बाँकी रकम भने हकप्रदबाट पुर्ति गरिने छ । बिमा प्राधिकरणको पछिल्लो नीतिले प्रिमियममा आइपीओ जारी गरेका कम्पनीलाई राहत पुग्नेछ । केही समय अगाडि प्राधिकरणका अध्यक्ष सुर्य सिलवालले प्रिमियम रकम पुँजीकृत गर्न नदिने बताएपछि प्रिमियममा आइपीओ जारी गरेका कम्पनीको शेयर मूल्य हरेक दिन घट्दै गइरहेको थियो । पछिल्लो केही दिनदेखि भने लाइफ इन्स्योरेन्सको शेयर मूल्य पुनः बढ्न थालेको छ ।

सिटिजन, रिलायबल नेपाल, आइएमई लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले चुक्ता पुँजी बढाउन प्रिमियम रकमबाट बोनस सेयर नै जारी गर्नेछ । बाँकी रकम मात्रै हकप्रद निष्काशन गर्नुपर्ने हुन्छ । आइपीओमा संकलन गरेको प्रिमियम रकमबाट बोनस दिन पाएमा रिलायल नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्सले सजिलै चुक्ता पुँजी ५ अर्ब पुर्याउन सकिने अवस्था छ । दुवै कम्पनीले डेढ अर्ब रुपैयाँभन्दा बढी रकम प्रिमियमबाट संकलन गरेका छन् । दुवै कम्पनीले अब १ अर्ब रुपैयाँ मात्रै पुँजी बढाए पुग्छ । सिटिजन लाइफले आइपीओबाट थोरै रकम संकलन गरेको भए पनि प्रिमियम रकम यथेष्ट हुँदा १ अर्ब २५ करोड चुक्ता पुँजी पुर्याउन हकप्रद शेयर जारी गर्नुपर्दैन ।

सन नेपाल लाइफ इन्स्योरेन्सले भने ९६ लाख कित्ता मात्रै आइपीओ निष्काशन गरेकका कारण प्रिमियम रकमबाट मात्रै पुँजी बढाउन सकिने अवस्था छैन । गत वर्षको सञ्चालन मुनाफाबाट पनि केही बोनस शेयर दिन सकिने अवस्था बन्न सक्छ । लाइफ इन्स्योरेन्सको एक्चुअरी भ्यालुएसनपछि मात्रै यथार्थ जानकारी बाहिर आउने हुँदा कति नाफा वितरण गर्न सकिन्छ भन्ने जानकारी अहिले छैन । चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार पनि सिटिजन्स लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी ७ रुपैयाँ ६३ पैसा र सन नेपाल लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी २० रुपैयाँ ६७ पैसा रहेको छ । आईएमई लाइफको १३ रुपैयाँ र रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको प्रति शेयर आम्दानी भने ११ रुपैयाँ ९४ पैसा रहेको छ ।

रिलायबल नेपाल र आईएमई लाइफले १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको थियो भने सिटिजन्स लाइफले १ करोड १२ लाख ५० हजार कित्ता र सन नेपाल लाइफ इन्स्याेरेन्सले ९६ लाख कित्ता मात्रै शेयर निष्काशन गरेको थियो । कम शेयर मात्रै सर्वसाधारणमा निष्काशन गरेका कारण तोकिएको चुक्ता पुँजी पुर्याउन सन नेपाल लाइफलाई केही रकम हकप्रद दिनुपर्ने अवस्था आउन सक्ने देखिएको हो । एक्च्युरी भ्यालुएसन राम्रो निस्केमा गत वर्षको नाफाबाट बोनस शेयर दिएर चुक्ता पुँजी बढाउने विकल्प भने अझै छ ।

नाफाबाट लाभांश दिन सक्ने क्षमता नभएमा सन नेपाल लाइफलाई चुक्ता पुँजी पुर्याउन केही मात्रामा हकप्रद शेयर निष्काशन गर्नुपर्ने हुन सक्छ । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने कम्पनीसँग आइपीओ निष्काशन गर्दा १ अर्ब २६ करोड ७६ लाख ८० हजार रुपैयाँ प्रिमियम रकम छ । कम्पनीले ५३ करोड ३० लाख रुपैयाँ बराबरको रकम नाफाबाट निकाल्न नसकिएमा भने हकप्रद निष्काशन गर्नुपर्ने हुन्छ ।