बुधबार समितिले बोलाएको बैठकमा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र र राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ उपस्थित भएका थिए।
अर्थतन्त्र र मौद्रिक नीतिमा पछिल्लो समय अर्थमन्त्रालयले पनि निकै चासो दिइरहेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहालले समेत गभर्नर अधिकारी लगायतलाई बोलाएर छलफल राखेका थिए। अहिले अर्थ समितिले समेत गभर्नरलाई छलफलमा बोलाएको हो।
राष्ट्र बैंक अहिले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारी गरिरहेको छ। सोहि बेला अर्थसमितिले समेत गभर्नर अधिकारीलाई बोलाएर छलफल गरेको हो।
राष्ट्र बैंकले अर्थ समितिमा प्रस्तुत गरेको तथ्याँकमा चालु आर्थिक वर्षमा निक्षेप र कर्जाको बृद्धिदर गत वर्षको तुलनामा बढेको उल्लेख छ। गत आर्थिक वर्षको मंसिर १५ सम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५० अर्ब र कर्जा लगानी ६० अर्बले बढेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा निक्षेप संकलन २ खर्ब ९ अर्ब र कर्जा लगानी १ खर्ब २५ अर्ब रुपैयाँले बढेको उल्लेख छ।
यसैगरी गत वर्षको तुलनामा यस वर्ष बैंकहरुमा अधिक तरलता रहेको र सिडि रेशियो ८०.३७ प्रतिशतमा झरिसकेको केन्द्रीय बैंकले जनाएको छ।

समितिमा राष्ट्र बैंकले देशको बर्तामान अवस्थाको जानकारी गराउँदा भने गत असोजकै तथ्याँक प्रस्तुत गरेको छ। जुन तथ्याँक राष्ट्र बैंकले करिब ३ साता अघि नै सार्वजनिक गरिसकेको थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा त्रैमास सकिएको एक महिनाभित्रै गर्नुपर्ने भएपनि हालसम्म गर्न सकेको छैन। मौद्रिक नीतिको समीक्षामा ढिलाई हुँदै जाँदा सरकारी संयन्त्रहरुको चासो झनै बढ्दै गएको छ।
राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनको समग्र अवस्थाको बारेमा समेत समितिलाई जानकारी गराएको छ।