'एनसेलको कारोबारलाई रोक्का गरि छानबिन अघि बढाउनुपर्छ'

Dec 06, 2023 04:25 PM Merolagani



एनसेलको शेयर खरिदबिक्री प्रकरणमा सांसदहरूले एनसेलको कारोबार नै रोक्का गरेर छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार लेखासमितिको बैठकमा कारोबार रोक्का गर्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

एमाले सांसद गोकुल बास्कोटाले ६ बर्षपछि सरकारी स्वामित्वमा आउन नदिन चलखेल भएको र एनसेलले पूँजीगत लाभकर छल्न खोजेको बताए ।

एमाले सांसद अच्युत मैनालिले एनसेलको शेयर कारोबारलाई रोक्का गरि छानबिन अघि बढाउनु पर्ने बताए ।

जसपाका सांसद प्रदीप यादवले कम भ्यालुयसन गरि एनसेलको शेयर कारोबार हुनु शंकास्पद रहेको बताए । चारैतिर जालझेल गरि आजियाटाले शेयर खरिदबिक्री भएको उनको दाबी छ ।

स्वतन्त्र सांसद अमरेसकुमार सिंहले स्मार्ट टेलिकमसँगपनि सतिशलाल आचार्यको सम्बन्ध रहेको भन्दै सरकारले छानबिन गर्नुपर्ने बताए । पाँच जना माफियाले नेपालको टेलिकम क्षेत्र चलाएको उनले बताए ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले ६ बर्षपछिपनि आफ्नै हातमा एनसेलको शेयर राख्न खोजेको कारण छानबिन आयोग बनाएर अघि बढ्नु पर्ने बताए । "यो काम रोक्नको लागि समितिले निदेशन जारी गर्नुपर्छ" लिङ्देनले भने ।

नेकपा समाजवादीका सांसद प्रेम आलेले भने "१४३ अर्बमा खरिद भएको कम्पनी ६ अर्बमा कसरी बिक्री हुन सक्छ, यो गम्भीर बिषय हो।" 

सांसद श्याम धिमिरेले लेखासमितिले छानबिन समिति बनाएर निष्कर्षमा पुग्नुपर्ने दाबी गरे ।

माओवादी सांसद लेखनाथ दहालले नेपालमा लगानीको बाताबरण नभएको देखाएर लगानीको बाताबरण बिगार्न खोजेको बताए ।

सांसद राजन केसीले कर छली गर्न एनसेलको शेयर कारोबारमा ठूलो धाधँली हुन लागेको बताए ।

रास्वपाका सांसद हरि ढकालले लेखा समित बलियो बनेर यो प्रकरणको निष्कर्षमा पुग्नु पर्ने बताए ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको उपस्थितमा एनसेलको खरिदबिक्रीको बिषयमा छलफल गर्नुपर्ने बताए ।

उच्च स्तरीय न्यायीक समितिले एनसेलको शेयर खरिदबिक्रीको बिषयलाई हेर्नुपर्ने काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बताए ।