३२०० को विन्दुमा शेयर खरिद गर्ने लगानीकर्ताले नेप्से ४२ प्रतिशतले घट्दा पनि यी कम्पनीबाट कमाए झण्डै शतप्रतिशतसम्म नाफा

Dec 07, 2023 07:28 AM Merolagani



नेप्सेको हालसम्मकै उच्च विन्दु ३१९८ को सूचकमा शेयर खरिद गर्ने शेयर लगानीकर्ताले पनि ५ वटा कम्पनीबाट नाफा कमाएका छन्। पछिल्लो साढे दुई वर्षमा यी कम्पनीहरुको शेयर झण्डै शतप्रतिशतसम्म बढेका छन्।

विगत साढे २ वर्षमा नेप्से सूचक ४२.४४ प्रतिशतले घटेको छ। यस अवधिमा पनि केहि कम्पनीको शेयरमूल्य भने बढेको छ।

वियरिस बजारमा पनि लगानीकर्ताले युनिलिभर नेपाल, तारागाँउ रिजेन्सी होटल, सोल्टी होटल, ओरियन्टल होटल र बोटलर्स नेपालबाट नाफा कमाएका हुन्। घट्दो बजारमा पनि होटल र उत्पादनमूलक क्षेत्रका केहि कम्पनीहरुको शेयरमूल्यमा राम्रो बृद्धि देखिएको छ।

नेप्से सूचक ३१९८ पुग्दा युनिलिभर नेपालको शेयरमूल्य प्रतिकित्ता २० हजार रुपैयाँ थियो। अहिले उक्त कम्पनीको शेयरमूल्य ३९ हजार रुपैयाँ पुगेको छ। केहि दिनअघि युनिलिभर नेपालको शेयरमूल्य ४४ हजार रुपैयाँसम्म पुगेको थियो। वियरिस बजारमा पनि यस कम्पनीबाट लगानीकर्ताले शतप्रतिशत नाफा कमाएका छन्।

यसैगरी तारागाँउ रिजेन्सी होटलबाट पनि लगानीकर्ताले शतप्रतिशतसम्म फाइदा लिएका छन्। नेप्से सूचक ३१९८ विन्दुमा हुँदा प्रतिकित्ता ४२३ रुपैयाँ रहेको कम्पनीको शेयरमूल्य हाल प्रतिकित्ता ७५५ रुपैयाँ रहेको छ। कम्पनीको शेयरमूल्य केहि समय अघि साढे ८०० रुपैयाँसम्म पुगेको थियो। केहि लगानीकर्ताले तारागाँउ रिजेन्सी होटलबाट पनि शतप्रतिशतसम्म नाफा कमाउने मौका पाएका थिए।

सोल्टी होटको शेयरमूल्य पनि वियरिस समयमा नै शतप्रतिशतभन्दा धेरै बढेको थियो। साढे २ वर्ष अघि प्रतिकित्ता २६४ रुपैयाँमा कारोबार भएको कम्पनीको शेयरमूल्य हाल प्रतिकित्ता ४२० रुपैयाँ छ। केहि समयअघि सोल्टी होटलको शेयरमूल्य पनि साढे ५०० रुपैयाँसम्म पुगेको थियो। यस कम्पनीकाे शेयरमूल्य पनि करिब शतप्रतिशत बढेको थियो।

ओरियन्टल होटलबाट पनि लगानीकर्ताले वियरिस बजारमा राम्रो नाफा कमाएका छन्। साढे २ वर्ष अघि प्रतिकित्ता ६४० रुपैयाँ रहेको कम्पनीको शेयरमूल्य हाल ७४३ रुपैयाँ छ।

यसैगरी उत्पादनमूलक क्षेत्रको अर्को कम्पनी बोटलर्स नेपालबाट पनि लगानीकर्ताले वियरिस समयमा नै राम्रो नाफा कमाएका छन्। साढे २ वर्ष अघि प्रतिकित्ता १० हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको कम्पनी नेप्से घट्दा पनि अहिले प्रतिकित्ता ११ हजार ३८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यसबाहेक विगत साढे २ वर्ष यता आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएका केहि कम्पनीबाट पनि लगानीकर्ताले राम्रो नाफा कमाएका छन्। नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा हुँदा कारोबार भइरहेका कम्पनीहरुमा यी पाँच बाहेक अन्य कम्पनीमा लगानी गर्ने लगानीकर्ता भने घाटामा नै छन्।